नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन्। उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड नेपालीमाझ परिचित छ।
हो, यिनै नामले भन्दा ब्राण्डले चिनिएकाहरु बिहीबार बागलुङमा एउटै मञ्चमा देखा परे। बागलुङ उद्योग वाणिज्य संघले बागलुङ महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको ‘उज्यालो बागलुङ : समृृद्ध बागलुङ’ शीर्षकको लगानी सम्मेलनमा उनीहरु वक्ता बनेर मञ्चमा देखिएका हुन्। उनीहरुसँगै विशिष्ठ वक्ताको रुपमा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ पनि सामेल भए।
प्रभु बैंकका कार्यकारी निर्देशक अशोक सेरचनले उनीहरुसँग संवाद गरे। अशोकले ब्राण्डले चिनिएका तीन जनासँगै पालैपालो सोधे,‘ बागलुङमा तपाईंको तर्फबाट कस्तो लगानी होला ?’ सबैले लगानीबाट प्रतिफल चाहिने र प्रतिफल दिने देखिए बागलुङमा पनि लगानी गर्न सकिने बताए। बागलुङमै जन्मेका चन्द्रले पर्यटनमा लगानी गर्नेबारे कुरा भइरहेको बताए। मीनबहादुरले जग्गा पाए १० महिनाभित्र बागलुङमा भाटभटेनी खोल्ने घोषणा गरे। शेखरले चाहिँ अर्गानिक कृषिसँग जोडिन सके लगानी गर्न सकिने धारणा राखे।
लगानी सम्मेलन भनिए पनि कार्यक्रम करिब अन्तरसंवादजस्तो देखियो। बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद देवेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालालगायतले सुझाव राखेका थिए।
नेपालमा उत्पादन लागत नै बढी: शेखर गोल्छा
‘लगानी गर्नेलाई प्रतिफल दिए मात्र लगानी भित्रन्छ, ठाउँको माया गरेर गरिने लगानीले रोजगारी सृजना हुँदैन। नेपाल सरकारपछि सबैभन्दा धेरै रोजगारी हामीले नै दिएका छौँ। तर, यतिले मात्र हुँदैन, हामी थप रोजगारी सृजना गर्न चाहन्छौँ। नेपालमा उत्पादन गर्नुभन्दा आयात गर्दा सस्तो हुन्छ, अहिले आफ्ना उत्पादनबाट पाउने पैसाले किसान कहिल्यै धनी हुँदैन। किसानलाई समृद्ध बनाउन नीति आउनुपर्छ।’
उनले सहज तरिकाले कर्जा नपाउनु, जग्गा महंगो हुनु तथा श्रम कानुन कडा हुँदा साना र मझौला उद्योगहरु फस्टाउन नसकेको बताए।
लगानीको वातावरण बनेको छ तर उत्साहजनक छैन: चन्द्र ढकाल
‘लगानीको वातावरण बनेको छ तर उत्साहजनक छैन। नेतामा विकास गर्ने हतारो छ तर पुरानो संरचनाले असर गरेको छ। व्यवसाय गर्दा नाफा हुनुपर्छ, राज्यलाई कर तिर्नुपर्छ वा राज्यको नीतिलाई सघाउनु पर्यो अनि व्यवसायले जनताको सेवा पनि गर्नुपर्छ। बागलुङमा केही न केही गर्ने रहर छ, यहाँका व्यवसायीहरुसँग मिलेर पनि पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ।’
उनले मलेसियाको विकास मोडलको चर्चा गर्दै काम गर्न खोज्नेलाई सरकारले सहजीकरण गरि राजश्व बढाउनु पर्नेमा जोड दिए। ‘भुकम्प र नाकाबन्दीका बीचमा पनि हामीले २ वर्षमा चन्दागिरीमा केवलकार बनायौँ तर स्वीकृति लिन ५ वर्ष लाग्यो। हामी सबै प्रदेशमा केवलकार बनाउन चाहन्छौँ’ उनले भने।
भाटभटेनीमा दायाँबायाँको पैसा छ भन्नु झुट हो: मीनबहादुर गुरुङ
‘मैले १०/१२ को भाडाको कोठाबाट २०४१ सालमा ३५ हजारको लगानीमा व्यवसाय सुरु गरेको हो। थोरै लगानीमा पनि व्यवसाय सुरु गर्न सकिन्छ। व्यवसाय गर्न ठाउँ र मन सफा चाहिन्छ, उपभोक्ताप्रति जिम्मेवार हुनुपर्यो, कडा परिश्रम गर्नुपर्यो अनि पारदर्शी हुनुपर्यो। भाटभटेनीको पैसा दायाँबायाँबाट हैन कडा मेहनतले आएको हो। पत्रकारहरु भाटभटेनीको पैसा दायाँबायाँको कि भन्ने प्रश्न गर्छन,यो झुट हो। भाटभटेनी पारदर्शिताले चलेको हो। नेपालका सबै बैंक हामीसँग काम गर्न चाहन्छ्न।
जग्गा दिए १० महिनामा बागलुङमा भाटभटेनी खोल्छु। संसारभर भाटभटेनी खुलाउने मेरो लक्ष्य छ, संसारभर खुद्रा पसल खोल्ने पनि हामीजस्तै नाक, कान, घाँटी भएको मान्छे हो। अझ नेपालीमा त विशेष क्षमता छ। यहाँ व्यवसाय गर्न साह्रै गाह्रो छ। फलामको च्यूरा चपाएजस्तो छ, हामीलाई त फलामको च्यूरा चपाउने बानी पर्यो। तपाईँ (मन्त्रीहरु) ले गाँठो फुकाइदिनुहोस्, गाँठो ठूलो छ। तपाईँले हामीलाई एउटा कागज (व्यवसाय दर्ता प्रमाणपत्र) दिएवापत २०/२५ प्रतिशत राजश्व पाउनुहुन्छ। ट्याक्स चोर्ने काम नगरौँ।’
अनुदानको भरमा व्यवसाय चल्दैन: अर्थमन्त्री किरण गुरुङ
‘अनुदानको भरमा अब कुनै व्यवसाय चल्दैन। सरकारले सुविधा दिने हो, अनुदान हैन। मागेर गरिएका कुराहरु लामो समयसम्म टिक्दैन। राज्यले सुरक्षा दिन्छौँ, नीति बनाइदिन्छौँ। निजी क्षेत्रले नै व्यवसाय गर्ने हो।’ मन्त्री गुरुङले नेपालमा व्यवसाय गर्दा झन्झट धेरै भएको स्वीकार्दै पुराना कानुन फेरेपछि ती समस्या समाधान हुने दावी गरे।
उनले तीन तहका सरकार बने पनि पुरानै कानुनले काम गर्नु परेको बताउँदै नयाँ कानुन निर्माणको आवश्यकता रहेको उल्लेख गरे। ‘संघले सबै अधिकार प्रदेशलाई दिएको पनि छैन, स्थानीय निकायलाई दिन सकिएको छैन’, उनले भने, ‘अधिकारहरु बाँडफाँड हुनुपर्छ।’
प्रतिक्रिया