चालू आर्थिक वर्ष सुरु भएको साढे तीन महिना पुगेको छ। अब राष्ट्र बैंक त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ।
त्रैमासिक समीक्षा मार्फत नीति संशोधन गर्न मिल्छ। यसै सन्दर्भ पारेर व्यवसायीहरूले ब्याजदर नियन्त्रण गर्नुपर्ने नीति लिन दबाब दिएका छन्।
सोही दबावस्वरुप शुक्रबार माइतीघरमा विरोध प्रदर्शनसमेत भएको छ। सयौंको संख्यामा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरु माइतीघरमा उपस्थित भएर ऋणको ब्याजदर नियन्त्रण गर्न माग गरे।
उद्योग वाणिज्य महासंघका अनुसार व्यवसायीहरू यति सक्रिय भएर आन्दोलित भएको विरलै घटना मध्येको यो एक हो।
काठमाडौं उपत्यकाका ३ जिल्लासहित काभ्रे र सिन्धुपाल्चोकका उद्योग वाणिज्य संघले संयुक्त रुपमा आन्दोलनको आह्वान गरेका हुन्।
आधारदरमा जोडिने प्रिमियम दर घटउनुपर्ने तर्क व्यवसायीहरुले राखेका छन्।
माइतीघरमा ब्याजदरको विरोध कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अहिले व्यवसायीलाई ठूलो मर्का परेको बताए। त्यही भएर व्यवसायीहरू ठूलो संख्यामा उपस्थिति भएको उनले तर्क गरे।
प्रिमियम दर ८ प्रतिशतसम्म जोडिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने मुख्य माग रहेको उनको भनाई छ।
श्रेष्ठ भन्छन्, ‘ब्याजदरमा उद्योगका लागि १ प्रतिशत र व्यापारमा १ दशमलव २ प्रतिशत मात्र प्रिमियम थप गरी लिन पाउने गरी लगानीयोग्य पूँजीको सीघ्र व्यवस्थापन गर्नुपर्छ। नत्र व्यवसायीहरु व्यवसाय सञ्चालन गर्न सक्दैनन्।’
भदौ मसान्तदेखि बैंकको निक्षेप दर बढेको छ। सोही कारण सबै बैंकको आधार दर बढेको छ। त्यसमा उच्च प्रिमियम दर जोडिँदा मारमा परेको र त्यसको विरोध स्वरुपमा आन्दोलमा आउनुपरेको श्रेष्ठको भनाइ छ।
समस्याबारे राष्ट्र बैंक गम्भीर हुनुपर्ने श्रेष्ठकाे तर्क छ। भन्छन्, ‘यसको सुनुवाई राष्ट्र बैंकले गर्नुपर्छ।’
के हुन् बैंकप्रति व्यवसायीका आरोप?
शुक्रबार माइतीघरमा जम्मा भएका उद्योगीहरुले बैंकहरूले जबरजस्ती आधारदर वृद्धि गरेको आरोप लगाएका छन्। बैंकका कारण उद्योगहरूले ४० देखि ५० प्रतिशतसम्म पनि उत्पादन क्षमता पुर्याउन कठिन भएको व्यवसायीहरुको भनाई छ।
कोभिड महामारीका कारण नराम्ररी प्रभावित निजी क्षेत्रलाई चलायमान बनाउन उदारतासाथ दिएका सुविधा कटौती गरिएको र अहिले बैंक तथा वित्तीय संस्थाबाट सर्वत्र आतंक सिर्जना गरिएको व्यवसायीकाे आरोप छ।
यस्तै, आर्थिक वर्षको सुरुवातसँगै लगानीयोग्य पूँजीको अभाव भन्दै एउटा बैंकको निक्षेप अर्कोले लुट्ने होडबाजी चलेको पनि व्यवसायीले आरोप लगाएका छन्।
ब्याजदर वृद्धि भएपनि कूल निक्षेप बढ्न नसकेको उनीहरुले उल्लेख गरेका छन्।
माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने भन्दै कर्जामा जबर्जस्ती १०० प्रतिशतसम्म ब्याज वृद्धि गरिएको व्यवसायीको गुनासो छ।
बैंकहरुको खर्च न्यून गरी स्पेडदर ३ प्रतिशत भित्र रही जोखिमका आधारदरमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियल लिन पाइने र सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी नेगोसिएसन शुल्कमा बैंकले गरेको दोब्बर वृद्धिलाई अन्त गरी गतवर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्न उनीहरुले माग गरेका छन्।
बैंकहरु के भन्छन्?
वाणिज्य बैंकका सीईओहरू भने अहिलेको ब्याजदर स्वभाविक रहेको बताउँछन्।
एक वाणिज्य बैंकका सीईओ भन्छन्, ‘ब्याजदर विगतको भन्दा बढेको छ। तर अहिलेको परिस्थिति अनुसारको स्वाभाविकै हो।’
उद्योगीहरुको आन्दोलको विषयबारे उनले थपे, ‘राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने समय भएकोले व्यवसायीहरु तातेका हुन्। उनीहरुलाई केही मर्का परेको स्वभाविक हो। तर परिस्थिती पनि सोह अनुसारको छ।’
बैंकहरुकै पक्षमा राष्ट्र बैंक
ब्याजदरको विषयलाई नेपाल राष्ट्र बैंकले पनि स्वभाविक रुपमा लिएको जनाएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ अहिले बढेको ब्याजदर स्वभाविक रहेको तर्क गर्छन्।
श्रेष्ठ भन्छन्, ‘विदेशी विनिमय सञ्चिती नबढे तरलता सहज नहुने अवस्था छ। आयात नियन्त्रण त हुनु पर्छ नै। तर पनि अहिले ब्याज १२ प्रतिशत औसतमा रहेको छ। २०७४ मा १२ दशमलव ४७ प्रतिशत पुगेको थियो।’
Shares
प्रतिक्रिया