शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा (लहरु) मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ। लहरुमा रमाइलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उनले बताए।
“पारिवारिक भेटघाट, विवाह, भोजभतेरलगायतका अन्य कार्यमा घर देखिटाढा जाँदा लहरुको प्रयोग ल्याइने गरिनथ्यो”, उनले भने, “विगतका ती रमाइला क्षणको वर्णन जति गरे पनि कम हुन्छ, एक जनाले लहरु हाक्थ्यौँ, अरुले गन्तव्यमा जाँदा कथा, कहानी, चुट्किलासँगै रमाइला कुराकानी गरेर बाटो काटेको थाहै हुँदैनथ्यो।”
सवारीको साधनका रुपमा ६ दशकअघि गोरुले तान्ने लहरुको चलन निकै हुने गर्दथ्यो। विशेष गरी गाउँका ठूला बडाहरु (जमिदार) ले सवारी साधनका रुपमा बैलगाडा भन्दा सानो लहरुको प्रयोग निकै गर्दथे।
“काठबाट बनाइएको लहरु आकर्षक रुपमा बनाइएको हुन्थ्यो”, उनले भने, “लहरु बनाउन राखिएको काठमा निकै आकर्षक रुपमा बुट्टा बनाएका हुन्थे, आरामले चारदेखि पाँच जनासम्म बस्न सक्ने गरी बनाइएको हुन्थ्यो, गन्तव्यमा छिटो पुग्नका लागि फुर्तिला दौडिन सक्ने गोरुहरु लहरुमा तान्नका लागि प्रयोग गरिन्थ्यो, सवारीका साधनका रुपमा त्यस बेला ग्रामीण क्षेत्रमा एक मात्रै साधन लहरु थियो।”
“तराईमा लहरुको सट्टा जमिदारले साइकल चढ्न थाले, लहरुभन्दा छिटो पुग्ने पुगिन्थ्यो”, लहानु चौधरीले भने, “त्यसपछि मोटरसाइल हुँदै हाल कार, जिप चढ्ने चलन चलेपछि लहरु हराए।”
गोरुले तान्ने ६ दशकअघिको निकै लोकप्रिय साधन लहरु खोज्दा पनि हाल नपाइने अवस्थामा पुगेको उनले बताए। लहरु पूरै काठले बनाइएको हुन्थ्यो।
स्थानीयस्तरमै पाइने काठ, डोरी, किला, चक्का राख्ने फलामको धुराको प्रयोग गरी स्थानीय सीप सिकेका व्यक्तिले सहजरुपमा लहरु बनाउने गर्दथे। काठको अभाव र लहरुको ठाउँ अन्य आधुनिक साधनले लिएपछि हराएको स्थानीय बूढापाकाको भनाइ छ। लहरुभन्दा ठूलो आकारमा बनाइनेसँगै कृषिजन्य सामग्री र काठ ओसार्नका लागि प्रयोग हुने बैलगाडाको प्रचलन परम्परागत रुपमा तराई क्षेत्रमा चल्ने गरेको छ। मालवाहक साधनका रुपमा बैलगाडालाई लिइने गरिन्छ।
“परम्परागत रुपमा बनाइएको बैलगाडा पूरै काठबाट बनाइएको हुन्थ्यो”, नरेन्द्रप्रसाद चौधरीले भने, बदलिँदो परिवेशअनुसार हाल छिटो गुडाउन र गोरुले तान्न सजिलो हुने भएकाले बैलगाडामा रवरका टायर राख्ने गरिएको छ।” उनका अनुसार बैलगाडा तान्नका लागि गोरु र राँगाको प्रयोग हुने गरेको छ।
“पहिला थारु समुदायका प्रत्येक घरमा बैलगाडा (लह्रया) हुन्थ्यो”, उनले भने, “त्यसको ठाउँ हाल पावरटिलर र ट्र्याक्टरले लिइसकेको छ, बैलगाडा हुनेले अनिवार्य रुपमा गोरु र राँगा पाल्नुपर्ने भएकाले घाँसको अभाव, चरन क्षेत्रको कमीले गर्दा किसान आधुनिक ढुवानीका साधनप्रति आकर्षित भएका छन्।”
केही किसानले अझै पनि कृषिजन्य सामग्री ओसार पसार गर्नका लागि पहिलाझै बैलगाडाको प्रयोग गरिरहेका छन्। बैलगाडाको प्रयोग गर्नेको सङ्ख्या भने नगन्य मात्रामा छ। कृषिका लागि खेत जोत्नेदेखि समान ओसार्नेसम्मको कार्य आधुनिक कृषि यन्त्र र उपकरणले गर्न थालेपछि बैलगाडा ओझेलमा परेका हुन्।
बैलगाडा बनाउने सीप पुस्तौँदेखि हस्तन्तरण भइरहेको थियो। हाल बैलगाडा नै हराउन थालेपछि बनाउने सीप सिकेका व्यक्तिले अन्य व्यवसाय र पेसा रोज्न बाध्य भएका छन्।
पछिल्लो पुस्तालाई लहरु र लह्रया कस्तो थियो भनेर चित्र बनाएर देखाएर बताउनुपर्ने अवस्था सिर्जना भएको परदेशी चौधरीले बताए।
“परम्परागतकालदेखि लहरु र लह्रयाको चलन चल्दै आएको थियो, उनले भने, “आधुनिक सवारीसाधनले त्यसको प्रचलन हटायो, थारु समुदायको पहिचानका रुपमा रहेका यस्ता साधनको लोप हुनबाट जोगाउनका लागि स्थानीयस्तरबाट प्रयास हुन जरुरी छ ।”
बैलगाडाका प्रयोगमा आएको कमीका कारण गोरु र राँगा पाल्ने क्रम कम भएको छ। रासस
Shares
प्रतिक्रिया