ad ad

कारोबार


रुपन्देहीका कृषि फार्मले तान्नथाले पर्यटक

रुपन्देहीका कृषि फार्मले तान्नथाले पर्यटक

प्रकाश न्यौपाने
मंसिर २९, २०७६ आइतबार ८:३३,

जति धार्मिक पर्यटनमा पूर्ण छ, त्यति नै कृषि पर्यटनमा पनि अब्बल छ, रुपन्देही। कृषिको यहाँ अधिक सम्भावना छ र त लगानी थपिँदो छ।

गाई–भैँसी, बाख्रा, कुखुरा पालन जिल्लामा अधिक छ। मत्स्य पालनमा जिल्लाको छपिया मुलुककै नमूना मध्यको एक हो। दूध र मासुमा रुपन्देही आत्मनिर्भर छ। अन्न उब्जाउमा पनि आत्मनिर्भरउन्मुख छ।

‘केही वर्ष पहिले यहाँको उत्पादन भारत निकासी हुन्थ्यो, त्यो अहिले रोकिएको ३–४ दशक भइसक्यो। सरकारले यसलाई बढवा दिनुपर्छ। उत्पादन बढाउनुपर्छ’, भैरहवाका पूराना व्यवसायी नारायणप्रसाद अग्रवालले भने।

अष्ट्रिच पालनले जिल्लालाई नेपालमै चिनाएको छ। त्यसैले कृषि पर्यटन फस्टाउँदो छ।

यहाँ गरिएको उत्पादनले जनजीविका धानिएको मात्रै छैन। बाहिरी जिल्ला निकासी भएको छ। माछा, कुखुरा, खसीबोका, अष्ट्रिचको मासु छिमेकी जिल्लासहित काठमाडौंसम्म पुग्छ। रुपन्देहीको कृषिले एउटा अर्को आकर्षण थपेको छ– कृषि पर्यटन। जिल्लाका कृषि फार्महरुले पर्यटकलाई तान्ने गरेका छन्, बसाइँ अवधि थमाउँदै गएका छन्। जिल्लाको तिलोत्तमा नगरपालिका मधवलियामा अवस्थित अष्ट्रिच फार्म आन्तरिक पर्यटकको सबैभन्दा आकर्षण हो।

Agricultrel turism 2

‘यहाँ तेस्रो मुलुकका पर्यटक पनि अधिक आउँछन्’, अष्ट्रिच नेपाल प्रालिका अध्यक्ष सीपी शर्माले भने, ‘दैनिक पाँच सयको हाराहारीमा यहाँ स्वदेशी तथा विदेशी अवलोकनमा आउँछन्।’

व्यवसायिक कृषि गर्नेहरुका लागि यो अध्ययन केन्द्र समेत हो। अनुसन्धान गर्नेहरुलाई लक्षित गरेर दाना बनाउनेदेखि अष्ट्रिच पालनपोषण तालिम फार्मले दिने गरेको छ। यहाँबाट सिकेर अन्य विधिव कृषि पेसा अँगाल्ने धेरै भएको शर्माले बताए।

अधिक पर्यटक आउन थालेपछि फार्म परिसरमै बास बस्नका लागि २० कोठे लज निर्माण गर्ने तयारी संचालकको छ। अष्ट्रिच स्वाद लिन परिसरमा रेष्टुरेन्ट संचालन गरिएको छ। नेपाल, भारतसहित म्यनमार, श्रीलंका, थाइल्याण्ड, चीन, ताइवान, सिंगापुरलगातय मुलुकका पर्यटक पनि यहाँ बढी मात्रामा आउने गर्छन्।

‘कृषकले सञ्चालन गर्ने फार्महरु व्यवस्थित भयो भने पर्यटकबाटै धेरै आम्दानी गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण समेत हो। यसले पनि जिल्लामा धार्मिकसँगै कृषि पर्यटनको धेरै सम्भावना रहेको प्रष्ट्याउँछ’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने।

छपियामा दैनिक सयौंको संख्यामा माछापोखरी अवलोकन गर्न पर्यटक पुग्छन्। छपियालाई माछैमाछाको क्षेत्र भनेर पनि चिनिन्छ। यो जिल्लाको मात्रै नभएर मुलुककै नमूना मत्स्य पालन केन्द्र हो। यहाँ मत्स्यपालनमा रुचि भएकादेखि घुमन्ते र माछाका स्वाद लिने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित छन्।

माछाको स्वाद चखाउन यस क्षेत्रमा रेष्टुरेन्टहरु खुलेका छन्। यहाँ रहेको छपिया फिस भिलेजमा आन्तरिक पर्यटक थेगिनसक्नु हुन्छन्। भारत तथा तेस्रो मुलुकका पर्यटक थोरै मात्रामा भए पनि यहाँ पुग्ने गरेका छन्। भिलेज सञ्चालकले माछापालन पनि गरेका छन्। कृषकले पर्यटकलाई लक्षित गरेर पोखरीमा बोटिङ संचालन गरेका छन्। संचालक गौरव गौतमका अनुसार उनको भिलेजमा मात्रै दैनिक डेढसयको हाराहारीमा पर्यटक आउने गरेका छन्।

‘शान्त वातावरण, बोटिङ, बल्छी खेल्न पाइने, खानापिनको राम्रो प्रबन्ध, थरीथरीका स्वाद, अग्र्यानिक परिकार, सहज सडकमार्गले पनि यस क्षेत्रमा पर्यटक लोभिने गरेका छन्’, गौतमले भने, ‘यहाँ एकपटक आएका पाहुना पटक–पटक आउँछन्, विदाको दिन थेग्नै मुस्किल पर्छ।’ मत्स्य पर्यटनमा आकर्षण बढ्दै जाँदा अमुवामा सियारी फिस भिलेज पनि संचालनमा ल्याइएको छ। यसमा पनि दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

जिल्लाकै शुद्धोधन गाउँपालिका–३, बेताहानीका संदीप खनालले संचालन गरेको बाख्रापालन फार्म अर्को पर्यटकीय गन्तव्य बनेको छ। सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रा पालनमा होमिएका खनालको फार्म हेर्न दैनिक ५० बढीको हाराहारीमा आन्तरिक पर्यटक पुग्छन्। खनालले व्यवसायिक रुपमा ४ सय बढी खसीबोका र बाख्रा पालन गर्दै आएका छन्। यो फार्म साँच्चिकै हेर्न लायक छ। युवाको कडा मिहिनेत देखेर फार्म हेर्न पुग्ने जो कोही प्रशंसा गर्छन्।

यहाँ अध्ययन गरी व्यावसायिक बाख्रा पालन गर्ने धेरै छन्। अवलोकन गर्न पुग्नेको प्रशंसाबाट आफूहरुलाई थप उर्जा प्राप्त हुने गरेको संचालक खनाल बताउँछन्। राम्रो गर्न सके नेपालमा कृषि पर्यटनको पनि ठूलो सम्भावना छ भन्ने यो अर्को उदाहरण हो।

सियारी गाउँपालिका–३, लक्ष्मीपुरका किसान सुवास कुर्मीले शान्ति उन्नत पशुपालन तथा माछा फार्ममार्फत् व्यसायिक रुपमा लगानी गरी मनग्य आम्दानी गर्छन्। अहिले उनका ८ वटा माछा पोखरी र २८ बढी विभिन्न प्रजातिका गाई छन्। यो फार्म कृषि गर्नेका लागि अर्को पाठशाला हो। संचालकको परिश्रम देख्ने जो कोही दंग हुन्छन्। ‘यहाँ आउनेले अब हामी पनि कृषि पेसा नै गर्छौ भनेर फर्किन्छन्’, कुर्मीले भने। यो फार्म हेर्न दैनिक बीसतीस जनाको हाराहारीमा पर्यटक पुग्छन्।

यी उदाहरण मात्रै हुन्। पछिल्लो सयम रुपन्देहीमा व्यवसायिक कृषि खेती गर्ने बढेसँगै पर्यटक पनि आकर्षित भएका हुन्। विभिन्न विद्यालय, सहकारी, सरकारी कार्यालय, कृषक समूह, कृषि उद्यमी, युवादेखि पाकापुस्ता जिल्लाका कृषि फार्म अवलोकनमा आउँछन्। यसले कृषि अँगाल्नेलाई प्रोत्साहन मिलेको छ नै आन्तरिक पर्यटनको विकास हुँदै गएको छ। अवलोकनकर्ताले जिल्लामा रात बिताउने गरेका छन्, जसले यहाँ आन्तरिक पर्यटकको बसाई लम्बिएको छ। पर्यटक थमाउन कृषकका फार्म उद्धत छन्। यसले समग्र पर्यटन क्षेत्रमा टेवा पुगेको छ।

कृषिबाट मनग्य आम्दानी हुने भएपछि बुढापाकादेखि युवापुस्ता कृषिमा लागेका हुन्। केही कृषि फार्महरुले पर्यटकबाट समेत आम्दानी गर्दै आएका छन्। कृषिमा अर्बौं लगानी भइसकेको छ।

लगानीलाई व्यवस्थित गर्दै जाने, कृषिमा अनुदान बढाउने, तालिम, सडकमार्ग विस्तारमा विशेष ध्यान दिने, लगानीमैत्री वातावरण बनाउने हो भने कृषि उत्पादन मात्रै होइन, कृषि पर्यटनबाट पनि मनग्य आम्दानी गर्न सकिने अष्ट्रिच नेपालका अध्यक्ष शर्माले बताए। रुपन्देही सुगम जिल्ला भएकाले यहाँ अधिक कृषि पर्यटनको सम्भावना छ।

लुम्बिनीलाई मात्रै जोडेर कृषि पर्यटक भित्र्याउन सक्ने हो भने पनि धेरै फाइदा लिन सकिने जानकारहरु बताउँछन्।

प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष–२०७६ र संघ सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि कृषि पर्यटनसँग जोड्न सके यसले मुलुकको पर्यटन विकासमा गर्विलो टेवा पुने सम्बद्ध व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .