ad ad

कारोबार


पुस १५ मा रंगशालाबाट भ्रमण वर्षकाे भव्य उद्घाटन

पुस १५ मा रंगशालाबाट भ्रमण वर्षकाे भव्य उद्घाटन

बसन्त अर्याल
मंसिर १९, २०७६ बिहिबार १२:४,

सबै राजनीतिक दलले भम्रण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सबै राजनीतिक दल तथा भ्रातृ संगठनबीच भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले भम्रण वर्ष कुनै मन्त्री वा सरकारको विशेष कार्यक्रम मात्रै नभएको बताए। उनले भम्रण वर्ष २०२० सबैको साझा कार्यक्रम भएकाले सफल पार्न पनि सबैले सहयोग गर्नुपर्ने बताए।

‘नेपाल एकपटक घुम्ने मात्रै होइन बारम्बार घुम्ने ठाउँ हो भन्ने सन्देश दिनुपर्छ’, उनले भने, ‘प्रकृतिले दिएका स्थलहरुजस्तो सगरमाथा, लुम्बिनीलगायतका ठाउँ अरु कसैले बनाउन सक्दैन। नेपालसँग भएका वरदानको हामीले अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्नुपर्छ।’

उनले भ्रमण वर्ष सफल बनाउन नेकपाले गर्नुपर्ने सबै सहयोगका लागि तयार रहेको बताउँदै पार्टी सदस्यले अवैतनिक सदस्यको रुपमा काम गर्ने जानकारी दिए।

पूर्वमन्त्री तथा नेकपा कांग्रेस नेता मोहन बस्नेतले भ्रमण वर्ष २०२० सफल बनाउन सबै राजनीतिक दल एकठाउँमा हुनुपर्ने बताए। उनले प्रतिपक्षी दल भन्दैमा झगडा गर्ने बेला नभएकोले भ्रमण वर्ष सफल बनाउन कांग्रेसले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘गन्तव्यमा पुग्नको लागि पूर्वाधारको विकासमा सरकारले बढी ध्यान दिनुपर्छ’, उनले भने, ‘हाल नेपालमा हवाइ ट्राफिक अथवा आकाशमा जहाज होल्ड हुने समस्या धेरै छ, यसलाई कसरी समाधान गर्ने भन्ने पनि छ।’

त्यस्तै छलफल कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारले गाउँ–गाउँसम्म पनि भ्रमण वर्षको प्रचार गरेकोले मधेशमा उत्साह थपेको बताए। उनले भ्रमण वर्षका सम्पूर्ण कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘नेपालमा दैनिक दुर्घटना हुँदा नेपाल असुरक्षित छ भन्ने सन्देश जान सक्छ। सरकारले सडक मर्मतका काम गरी सडक सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ’, उनले भने ।

समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपाका नेताहरुले भ्रमण वर्ष सफल पार्न आफूहरुको सहयोग रहने भन्दै पर्यटकको शान्तिसुरक्षाका लागि सरकारले प्रत्याभूति दिलाउनुपर्ने बताए। उनीहरुले पूर्वाधारलाई स्थायी रुपमा विकास गर्न आवश्यक रहेको बताए।

छलफल कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भम्रण वर्ष नेपालको उत्सव भएकाले सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए। उनले सबै राजनीतिक दल तथा भ्रातृ संगठनलाई भ्रमण वर्षको विषयमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आग्रह गरे।

‘अन्तर्राष्ट्रिय फोरममा जाँदा प्रचार सामग्री लैजानुहोस् र हरेक राजनीतिक दल तथा भ्रातृ संगठनले नेपालमा अन्तर्राष्ट्रिय पाहुना आमन्त्रण गरी नेपालमै कार्यक्रम गर्नुपर्छ’, उनले भने, ‘हामीले भ्रमण वर्ष एक वर्षको लागि सीमित गर्दैनौँ। यसलाई २०३० सम्म जोडी भम्रण दशकको रुपमा मनाउने योजना बनाएका छौं।’

उनले १५औं पञ्चवर्षीय योजनामा पनि वार्षिक ३५ लाख पर्यटक पुर्याउने लक्ष्य राखिएको जनाउँदै २०३० सम्म नेपाल भ्रमणको लागि प्रवर्द्धन गर्नुपर्ने बताए। ‘सन् २०३० सम्म अन्तर्राष्ट्रिय विमानस्थल, क्षेत्रीय विमानस्थल, सडकलगायतका पर्यटकीय पूर्वाधार र शैक्षिक जनशक्ति पनि तयार पारिसक्छौं’, मन्त्री भट्टराईले भने।

भ्रमण वर्षको भव्य उद्घाटन गरिने
यसैबीच, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार प्रसाद दाहालले जनवरी १ (पुस १५)मा काठमाडौंको दशरथ रंगशालामा भव्य उद्घाटन हुने बताएका छन्।

उनले ४० भन्दा बढी देशका पर्यटनमन्त्रीको सहभागितामा भव्य उद्घाटनको तयारी गरिएको जानकारी दिए। उद्घाटन समारोहमा सबै राजनीतिक दलको सहभागिता हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .