लुम्बिनी विकास कोष परिसरको जग्गा अपारदर्शी रुपमा रिसोर्ट बनाउन दिन लागिएको भन्दै स्थानीय तथा सरोकारवालाले विरोध गरेका छन्।
कोषले ‘सम्सारा वेलनेस रिसोर्ट’ का लागि जग्गा लिजमा दिन लागेको भन्दै विरोध भइरहेको छ। सम्सारा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी छोरी सभाना वैद्य बस्न्यातको कम्पनी हो।
लुम्बिनी विकास कोषका अध्यक्ष तथा पर्यटनमन्त्री प्रेम आलेले रिसोर्टको लागि अपारदर्शी तरिकाले जग्गा दिन लागेको भन्दै आलोचना भइरहेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले स्थानीय सरोकारवालाहरुसँग कुनै छलफल र समन्वय नगरी मनलाग्दी तरिकाले रिसोर्ट चलाउन दिन लागिएको आरोप लगाए।
‘यहाँ स्थानीयबासी, बुद्धिजीवि, कुनै सरोकारवालासँग छलफल भएको छैन। पहिले सबैलाई राखेर एकखालको छलफल त हुनुपथ्र्यो’ उनले भने, ‘गुरुयोजनामा पनि छैन। खाली ठाउँ देख्यो कि दिइहाल्ने गर्न हुन्न।’
होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले लुम्बिनी विकास कोषले गुरुयोजना अनुसारका काम गर्न छाडेर अरु काममा ध्यान दिइरहेको बताए। उनले लुम्बिनीको परिसर भित्र अनावश्यक पूर्वाधार बनाउन रोक्नु पर्ने उल्लेख गरे।
‘लुम्बिनी भित्र जति पूर्वाधार बने अब पुग्यो, यो भन्दा धेरै अब बन्न हुन्न’ ज्ञवालीले भने, ‘खाली कंक्रिट बिल्डिङ बनाएर कुरुप बनाउन पनि भएन नि। भोलि वनको एरिया, चराचुरुङ्गी हरेक कुरालाई बासस्थान हुनुपर्यो।’
लुम्बिनी विकास कोषको कार्यालय नजिकै क्याम्पिङ ग्राउण्ड रहेको छ। यहाँ रहेको ४ बिघा खाली जग्गा लिजमा दिन लागिएको हो। मंसिर ११ गते मन्त्री आलेको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको बैठकले रिसोर्ट चलाउन दिन विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको थियो। जुन बैठकमा कोषका उपाध्यक्ष अवधेषकुमार त्रिपाठी उपस्थित थिएनन्।
होटल संघ लुम्बिनीका अध्यक्ष ज्ञवालीले बिना प्रतिस्पर्धा लुम्बिनी गुरुयोजनाको जग्गामा होटल बनाउन दिँदा बाहिरका व्यवसायीहरु मर्कामा पर्ने बताए।
‘सय वर्षको लिजमा लिएर भित्रको जग्गा सस्तोमा पायो भने बाहिरको व्यवसायीले त्यहाँ प्रतिस्पर्धा नै गर्न सक्दैन’ उनले भने, ‘लगानी गर्ने मान्छेले लुम्बिनी परिसर बाहिर आएर लगानी गर्दा हुन्छ नी। बाहिर यतीका ठाउँ छ। लगानीकर्तालाई हामी स्वागत नै गर्छौं।’
लुम्बिनी गुरुयोजनामा न्यू लुम्बिनी ग्रामभित्र उच्च मध्यम र सामान्य प्रकारका होटल रहने उल्लेख छ। उच्च स्तरको होटलमा ५ तारे होक्के रहेको छ। मध्यम स्तरको कसाई होटल छ। श्रीलंकाको पिलग्रिमेज सामान्य स्तरको होटल रहेको छ।
यस बाहेक क्याम्पियन प्लाजा पनि लुम्बिनी गुरुयोजना भित्रै रहेको र त्यो जग्गाको लागि निवेदन परेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए। उनले यो ४ बिघा जग्गा नीजि क्षेत्रको लागि नै छुट्याइएको बताए।
‘अहिलेसम्म त्यो जग्गा कसैले माग नगरेको अवस्था हो। पछिल्लो पटक हामीकहाँ निवेदन प्राप्त भयो। बोर्डले त्यसलाई अघि बढाएको हो’ योजना प्रमुख भट्टराईले भने, ‘गुरुयोजनालाई मिचेर, बिगारेर कोषले दिँदैन। गुरुयोजनाले भने अनुसार कसैले कार्यविधि अनुसार पेश गरे भने कोषले त्यसलाई अध्ययन गरेर सम्झौता गर्छ।’
Shares
प्रतिक्रिया