कोरोना महामारीका कारण नेपालमा मदिरा व्यापार ४० प्रतिशतले घटेको व्यवसायीले बताएका छन्।
कोभिडका कारण होटल तथा रेष्टुरेन्ट बन्द हुँदा मदिराको व्यापार घटेको हो।
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्धनिर्देशक राज बहादुर शाह कोभिडको लकडाउन जेलजस्तै भएको बताउँदै भन्छन्, ‘अहिले बल्ल मानिसहरु बाहिर निस्किन थालेका छन्।’
शाहका अनुसार कुल मदिरा व्यवसायमा ४० प्रतिशत कमी आएको छ।
‘बियरको बजार हिस्सा त्योभन्दा बढी छ’, शाह भन्छन्, ‘महंगो प्रोडक्टलाई झन् गाह्रो भयो। महंगो मदिरा रेष्टुरेन्ट, पार्टीमा बढी खान्छन्। कोभिडको समयमा यी सबै बन्द भए।’
शाहका अनुसार बियर बढी प्रयोग रेष्टुरेन्टमा हुन्छ। बियर विदेशी पर्यटकको समेत बढी रुचिको पेय हो। सरकारले यही बेला धेरै कर बढाइदिँदा सबैले खरिद गरेर खानै नसक्ने भएको उनी बताउँछन्।
लकडाउनको समयमा पनि मध्यमवर्गले खाने मदिराको व्यापार भने राम्रै रहेको उनको अनुभव छ।
‘मदिराको व्यापार मात्रै होइन कोभिडको असर सबै क्षेत्रमा परेको छ। लकडाउनले होटल तथा रेष्टुरेन्ट बन्द भए। मानिस घुम्न निस्कन पाएनन्’, शाहले भने, ‘कोभिडको समयको लकडाउन जेलजस्तै हो। अहिले बल्ल केही युवा ठमेललगायतका क्षेत्रमा जान थालेका छन्।’
मदिरा उद्योगलाई लकडाउनको कारण उत्पादनमा समेत समस्या भयो। कोभिडको समयमा जाउलाखेल ग्रुपको मदिरा उत्पादन करिब २० प्रतिशतमा झरेको उनले बताए।
नेपालका मदिरा उद्योगमा खपत हुने मदिराको कच्चा पदार्थ भारतबाटै आउँछ।
‘त्यो बेला पूरा उद्योग सञ्चालन हुन पाएन’, उनले भने, ‘लकडाउनको समयमा उद्योग सञ्चालनको लागि पास नै नपाउने अवस्था रह्यो। त्यो बेलामा धेरै कठिन भयो।’
शाहले धेरै काम अनलाइन, फोनको माध्यमबाट गरेको बताए। उनका अनुसार अहिले कम्पनीमा काम गर्ने सबैलाई कोभिड खोप लगाइएको छ। कोभिडको कारण आर्थिकभन्दा मानसिक प्रभाव बढी रहेको उनको अनुभव छ।
‘आर्थिक असर त पर्यो तर हाम्रो कम्पनीमा एक जनाले पनि ज्यान गुमाउनुपरेन, त्यसमा खुसी छु’, शाह भन्छन्, ‘१० प्रतिशत कर्मचारी कोभिड संक्रमित भए। अहिले सबै ठीक भए।’
लकडाउनकै बेलामा सरकारले कर बढाएकोमा शाह असन्तुष्ट छन्। उनले उद्योग र अर्थतन्त्र हेरेर कर बढाउनुपर्ने बताए।
‘कर नीतिमा अन–फेयर भयो। नेपालमा गाडीको ट्याक्स बढी छ भन्ने छ’, उनले भने, ‘त्योभन्दा धेरै रक्सीमा रहेको छ।’
भिडिओ :
अमेरिका, बेलायतमा व्यापार बुम, नेपालमा छैन
सीएनआईका उपाध्यक्ष समेत रहेका शाहले कोभिडको प्रभाव घट्दै गएसँगै विदेशमा मदिराको व्यापार बढे पनि नेपालमा अझै नबढेको बताए। उनले खोप लगाएका देशमा ढुक्कका साथ बाहिर निस्किँदा व्यापार बढेको बताए।
‘अमेरिका, बेलायतमा अहिले एकै पटक व्यापार बुम भएको छ’, उनले भने, ‘तर त्यहाँ करिब शतप्रतिशत कोभिड खोप लगाएका छन्।’
उनले अमेरिका बेलायतमा हस्पिटलको खासै चिन्ता गर्नु नपरे पनि नेपालमा कोभिड बढेर फेरि बेड नपाउला कि भन्ने चिन्ता रहेको बताए।
सामान्य रुपमा व्यापारमा फर्किन अझै २ वर्ष लाग्ने शाहको अनुमान छ।
‘हाम्रोमा मानसिक समस्या हुँदा समय लाग्ने देखिन्छ,’ उनले भने।
Shares
प्रतिक्रिया