ad ad

कारोबार


‘अब माइतीघरमा होइन, खुलामञ्चमा विरोध प्रदर्शन’

‘अब माइतीघरमा होइन, खुलामञ्चमा विरोध प्रदर्शन’

तस्बिर: विक्रम राई


वसन्त अर्याल
भदौ २, २०७८ बुधबार १३:२६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ‘ऐतिहासिक’ खुल्लामञ्चलाई खाली गराएको छ। 

महानगरले  सडकमा हुने विरोध सभालाई खुल्ला मञ्चमै गर्नसक्ने गरी खुल्लामञ्च खाली गराएको हो।  

काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा सारिएको बसपार्क पनि गत वैशाख १५ देखि खाली गराइसकेको छ। 

पुरानो बसपार्कबाट सञ्चालन हुने सवारी साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिएको छ। 

छोटो दूरीका सार्वजनिक यातायात पिक एन्ड ड्रप प्रणालीबाट सञ्चालनमा रहेका छन् भने काठमाडौं उपत्यकाबाहिर जाने मध्यमदूरीका सवारीसाधन नयाँ बसपार्कबाट छुट्ने व्यवस्था गरेको महानगरले जनाएको छ। 

महानगरका पूर्वाधार प्रमुख राम थापाले खुल्लामञ्चमा रहेका सबै पूर्वधार हटाइसकेको जानकारी दिए। 

थापाले महानगर खुल्लामञ्चको सबै सामग्री हटाए पनि त्यहाँ तत्काल त्यहाँ मानिसहरुलाई जम्मा हुन दिने कि नदिने भन्ने विषयमा महानगरले छलफल गरिरहेको बताए। 

‘खुल्लामञ्च खाली भए पनि अहिले नै त्यहाँ विरोधसभा गर्न दिने वा नदिने भन्ने विषयमा महानगर छलफलमै रहेको छ’, थापाले भने। 

खुल्लामञ्चलाई खाली बनाउन ‘अकुपाई टुँडिखेल’को नारा दिएर २०७६ मै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री भीमसेनदास प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी नै खुल्लामञ्च खाली गराउनुपर्ने माग गर्दै आएका थिए। 

‘अहिले खाली भइसकेको छ। म त खुल्लामञ्च खाली नै गराउनुपर्छ भनेरै लागेको हुँ’, महानगरकी उपमेयर खड्गीले भनिन्, ‘अब खुल्लामञ्चमै गएर पनि विरोध जनाउन सकिन्छ। त्यहाँ सफा गरिसकेका छौँ।’

काठमाडौं महानगरले माइतीघरमा होइन अब खुल्ला मञ्चमा आएर विरोध सभा गर्नुपर्ने बताएको छ।  

‘आन्दोलन, भाषणको लागि खुल्लामञ्च ऐतिहासिक ठाउँ पनि हो। राज्यमा जति पनि परिवर्तन भएका छन् खुल्लामञ्चबाटै सुरुवात भएका थिए’, खड्गीले भनिन्।

खुल्लामञ्च निर्माण सामग्रीले भरिँदा आन्दोलन माइतीघर र रत्नपार्कको सडकमा विरोध सभा हुने गरेका थिए। जसले सहरी यातायातलाई अस्तव्यस्त पारिरहेको छ। यसबाट सर्वसाधारणले दुःख पाउने गरेका छन्। 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ६८औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै बसपार्क हटाएर पूर्णरुपमा खुल्ला गरिएको बताएका थिए। 

शाक्यले वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माणका क्रममा प्रयोग  भएका सामग्रीहरु हटेको उल्लेख गरे। 

खुलामञ्च व्यवस्थापनसँगै माइतीघर, बानेश्वर, दरबारमार्ग, रत्नपार्कलगायतका स्थानमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने  व्यवस्था गर्ने कार्यपालिकाको बैठकमा धारणा राखेका थिए। 

यसअघिको केपी ओली सरकारले आन्दोलन गर्नको लागि निश्चित ठाउँ तोकिदिएको थियो। नागरिक समाजलगायतले सरकारले लोकतन्त्रविरोधी काम गरेको समेत आरोप लगाए। सरकारले तोकेको ठाउँभन्दा पनि माइतीघरमै आन्दोलन गर्ने बढे। 

‘पहिला खुल्लामञ्चमा बसपार्क, निर्माण सामग्रीको कारणले ठाउँ तोकिए पनि आन्दोलन गर्नेलाई सहज थिएन’, खड्गीले भनिन्, ‘अब खुल्लामञ्च खाली भएको छ। स्वेच्छाले नै आन्दोलनकारी खुल्लामञ्चमै कार्यक्रम गर्नुपर्छ।’ 

सहरलाई व्यवस्थित गर्नको लागि सबै राजनीतिक दलले आफैँ बुझ्नुपर्ने उनको भनाइ छ। 

‘कुनै पनि राजनीतिक दल, नागरिक समाज, अभियन्ता समाज परिवर्तनको लागि आन्दोलन गर्ने भएकाले आफैँ सोचेर माइतीघरबाट खुल्लामञ्च फर्किनुपर्छ’, खड्गीले भनिन्। 

महानगरको खुलामञ्चलाई सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारी स्थलको रूपमा विकास गर्ने योजना रहेको जनाएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना समेत सार्वजनिक गरेको छ।

महानगरले उक्त कार्यायोजना कार्यान्वयनको लागि संघीय सरकारसँग समन्वय गर्ने उल्लेख गरेको छ। 

३ वर्षमा सक्ने भनिएको भ्यु टावर अझै बनेन
यता पुरानो बसपार्क रहेको ठाउँमा काठमाडौं भ्यु टावर निर्माणको लागि निजी कम्पनीलाई दिएपछि पुरानो बसपार्कलाई खुल्लामञ्चमा अस्थायी रुपमा सारिएको थियो। 

बसपार्कले खुल्लामञ्चको करिब आधा भाग ओगटेको गियो। 

काठमाडौं महानगरपालिकाले ३ वर्षभित्र भ्यु टावर निर्माण गर्नको लागि जलेश्वर स्वच्छन्द बी कोई कम्पनीसँग पीपीई मोडलमा सम्झौता गरेको थियो। भ्यु टावरका ३ वटा तल्ला बसपार्ककै रुपमा प्रयोग गर्ने सम्झौतामा उल्लेख रहेको छ। 

लामो समय विवाद तथा लगानी जुटाउन नसक्दा गति लिन नसकेको भ्यू टावर अहिले धमाधम निर्माण भइरहेको छ। 

‘टावर धमाधम निर्माण भए पनि पूरा काम नभई त्यहाँ बसपार्क राख्न सकिँदैन’, थापाले भने, ‘टावरको निर्माण सम्पन्न भए पनि बसपार्कलाई टावरमै सार्ने योजना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .