ad ad

Draft


सी भ्रमणअघि तिब्बती शरणार्थी धमाधम पक्राउ

सी भ्रमणअघि तिब्बती शरणार्थी धमाधम पक्राउ

नेपालखबर
असोज २२, २०७६ बुधबार १२:५१,

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि काठमाडौंमा तिब्बती शरणार्थी धमाधम पक्राउ पर्न थालेका छन्।

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने आँकलन गर्दै नेपाल प्रहरीले ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेको टिसर्ट, झोला र ब्यानर प्रयोग गर्नेहरुलाई पक्राउ गर्दै अनुसन्धान थालेको हो।

चीनका राष्ट्रपति सी शनिबार दुई दिने नेपाल भ्रमणमा आउने कार्यतालिका परराष्ट्रमन्त्रालयले बुधबार सार्वजनिक गरिसकेको छ। सी असोज २५ गते भारतको चेन्नईबाट सोझै काठमाडौं आउने कार्यसूची छ। असोज २६ गते आइतबार उनी बेइजिङ फर्कने छन्।

केही दिनभित्र काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछपछि छाडिएको छ।

‘स्वतन्त्र तिब्बत लेखेको लोगो भएको ज्याकेट, टिम टीवेट–०८ लेखेको टिर्सट, ज्याकेट र झोला लगाएको र बोकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि छाडिएको हो’, एक जना उच्च प्रहरी अधिकारीले भने।

नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए।

‘हामीले स्वतन्त्र तिब्बत लेखेको टीसर्ट, ज्याकेट र झोला बोकेका तिब्बतीहरुलाई पक्राउ गरी अनुसन्धानपछि रिहा गरेका हौं’, सिंहले पक्राउ परेको खबरको पुष्टी गर्दै भने, ‘झुक्किएर पूराना टीसर्ट र झोला बोकेका रहेछन्।’

असोज १७ गते ३६ वर्षीय फुर्वा शेर्पा गोकर्णमा ‘स्वतन्त्र तिब्बत’ को लोगो भएको कालो ज्याकेट लगाएको अवस्थामा पक्राउ परेका थिए। दुई घण्टाको अनुसन्धानपछि सोही दिन उनी रिहा भए। प्रहरीले उनको कोठासमेत खानतलासी गरेपछि मात्र निर्दोष भएको ठहर गरेको हो।

‘मैले ज्याकेट लगाएको थिएँ, त्यसमा टाँसेको लोगोको बारेमा मलाई थाहा पनि थिएन’, सोलुखुम्बु घर भएका शेर्पाले भने, ‘प्रहरीले त्यस विषयमा सोधपुछ गरेपछि मलाई छाड्यो, नेपाली भएकाले मलाई केही समस्या छैन।’

असोज १९ गते दुई तिब्बती शरणार्थी ‘स्वतन्त्र तिब्बत’ र ‘टीम टीवेट–०८’ लेखेको टीसर्ट लगाएको अवस्थामा जावलाखेलबाट पक्राउ भएका थिए। २२ वर्षीय तेन्जिङ धुन्डुप र २४ वर्पीय तेन्जिङ थुदर पक्राउ परेकै दिन बौद्धबाट पनि अरु दुई जना तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो।

बौद्धबाट २८ वर्षीय निमा छम्जि र ३९ वर्षीय मिङमा डोमा पनि ‘स्वतन्त्र तिब्बत’ र ‘टीम टीवेट–०८’ लेखेको टिसर्ट लगाएको आरोपमा नै पक्राउ परेका हुन्। बौद्धबाटै असोज २१ गते ‘टीम टीवेट–०८’ लेखेको टीसर्ट लगाएका टासी छोर्टेन पनि पक्राउ परे।

विभिन्न मिति र ठाउँमा पक्राउ परेका तिब्बतीहरुले उस्तै नारा र लोगो भएका टिसर्ट, झोला र ज्याकेट प्रयोग गरेका थिए।

सन् २००८ मा काठमाडौंमा तिब्बती शरणार्थीले चीनविरुद्ध प्रदर्शन गर्दा ‘टीम टीवेट–०८’ लेखिएका टिसर्ट प्रयोग गरेका थिए। अहिले फेरि त्यही नारा लेखिएका टिसर्टधारी भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

सीको भ्रमणको समय नजिक हुँदै गर्दा तिब्बती शरणार्थीहरुमाथि नेपाल प्रहरीले थप निगरानी बढाउन थालेको छ ।

दलाई लामाका नेपाल प्रतिनिधि सुल्ठिम ग्यात्सोसहित तिब्बती शरणार्थीका ३३ जना प्रतिनिधि भने यतिबेला भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा छन्। धर्मशालास्थित निर्वासित तिब्बत सरकारले आयोजना गरेको विशेष बैठकमा भाग लिन गएका उनीहरु राष्ट्रपति सीको भ्रमणपछि मात्र नेपाल फर्कने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .