ad ad

Draft


कसै-कसैले फेरि टाउको उठाउन खोज्दैछन्: प्रचण्ड

कसै-कसैले फेरि टाउको उठाउन खोज्दैछन्: प्रचण्ड

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १६:३९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश मामिला विभागले बिहिबार ललितपुरमा पदस्थापन कार्यक्रम आयोजना गरेको छ। तुलसीलाल स्मृति भवनमा आयोजना गरिएको कार्यक्रममा विभागका प्रमुख पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रमुखहरु राम कार्की र विष्णु रिजालाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा माधव नेपाल, पूर्व परराष्ट्रमन्त्री तथा तत्कालीन नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए।

सो कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेको धारणाको पूर्ण अंशः

माधवकुमार नेपाल, सुरेन्द्र कार्की अर्थात राम कार्की र विष्णु रिजाल, जसलाई पार्टीले विदेश विभागको प्रमुख र उप प्रमुखहरुको जिम्मेवारी तोकेको छ, म बधाई र शुभकामना दिन चाहन्छु। पार्टीले नेता नेपालप्रति विश्वास भएर नै यो जिम्मेवारी तोकेको हो, अहिलेको यो टिम अघि ल्याएको हो। माधवकुमार नेपाल नेपालको कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय मामिलाको पनि एउटा अत्यन्त वरिष्ठ, धेरै अनुभव हासिल गरिसक्नु भएको व्यक्ति हुनुहुन्छ। अन्य दुई जना पनि यो विषयको ज्ञाता मध्यकै हुनुहुन्छ। त्यसकारण उहाँहरुको कार्यकालमा पार्टी र देशले अन्तर्राष्ट्रिय सम्बन्धहरु विस्तार र समृद्ध गर्न, नेपालको राष्ट्रिय हितको पक्षमा महत्वपूर्ण योगदान हुन्छ भन्ने विश्वास गर्न सकिन्छ। पार्टीले त्यो विश्वास गरेको पनि छ।

केही ढिलो भएपनि पार्टी एकता प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ। अब बस्ने पार्टीको बैठकले यसलाई करिब करिब समापन गर्ने र अभियान लिएर जाने छ। देशभर तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको नीति, योजना, कार्यक्रम, विचार सबै विषयमा प्रशिक्षणात्मक अभियान चलाउने सोच नेतृत्वको छ।

अहिले कम्युनिष्ट आन्दोलनको दृष्टिले पनि निकै ठूलो अवसर र चुनौतिको दोसाँधमा रहेका छौं। देशको राजनीतिक परिस्थितिको दृष्टिकोणले संविधान बनिसकेपछि र निर्वाचनमार्फत बलियो सरकार गठन गरिसकेपछि यसलाई एउटा अवसर र चुनौति मानेका छौं। कम्युनिष्ट आन्दोलनमा यति धेरै विस्तारित र लोकप्रिय निर्वाचनमार्फत जित हासिल भएको विश्व इतिहासको पहिलो परिघटना र प्रयोग हो। यस अर्थमा यो निकै मौलिक, विशिष्ट र राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वको छ।

यस बारेमा राम्रोसँग संश्लेषण गर्ने र यसका पक्षहरु अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नु पर्ने आवश्यकता छ। जति राम्रोसँग यसलाई स्थापित गर्न सकियो त्यति कम्युनिष्ट आन्दोलन समृद्ध हुन्छ र यसबाट अन्तर्राष्ट्रिय श्रमजिवी आन्दोलन, कम्युनिष्ट आन्दोलनले शिक्षा लिने, उत्प्रेरणा लिने वातावरण बन्छ। अहिले हामी जुन परिस्थितिमा छौं, यस्तो अवसर सजिलै र सहजै प्राप्त भएको होइन भन्ने सबैलाई थाहा छ। निकै लामो संघर्ष, त्याग, बलिदानका धेरै श्रृङखला पार गरेर मात्रै हामी यस स्थानमा आइपुगेका हौं।

आन्दोलन र सघर्षको बीचबाट खरिएका नेताहरुको विशाल पङ्ती नभएको भए, जनताका मुद्दाहरु लिएर वर्ग संघर्ष र अन्य विविध सामाजिक न्यायसँग सम्बन्धित मुद्दाहरु नउठाएको भए, विभिन्न खालका निरंकुशतन्त्र र सामान्तवादविरुद्ध नलागेको भए, लडाइँमा विजय हासिल नगरेको भए, यो परिस्थिति बन्ने थिएन।

संविधान घोषणा भएर निर्वाचनमार्फत सरकार गठन गर्ने प्रक्रियामा नेपालका दुई प्रमुख कम्युनिष्ट घटक एकता गरेर, त्यो एकताको सन्देशलाई आम नेता तथा कार्यकर्तादेखि आमजनताले हृदयदेखि स्वीकार गरेको अवस्था हो। त्यसबाट झण्डै झण्डै असंभव हुन्छ कि भन्ने ठानिएको अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बन्न संभव भयो। त्यसमा सबैको त्याग, बलिदान, संघर्ष, कुल योगफलको रुपमा आजको पार्टी, कम्युनिष्ट आन्दोलन र देशको स्थिति रहेको छ। यो आफैंमा एउटा चुनौति पनि छ। अब जनताको अपेक्षा, आशा, देशको आवश्यकताअनुसार डेलिभरी गर्ने, परिणाम दिने, राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गर्न, जनभावनाअनुसार विकास निर्माण र समृद्धिको यात्रा अघि बढाउने चुनौति छ। संविधानले नेपाल समाजवाद उन्मुख भनेको छ र हामी समाजवादी चरित्र अनुसार जाँदै छौ। सामाजिक न्यायका पक्षमा रहेको विश्वास जनतालाई दिलाउन सकेनौं भने यो आफैंमा ठूलो चुनौति बनेर आउने स्थिति पनि छ।

अहिले कम्युनिष्ट पार्टीको बहुमत कुनै न कुनै रुपमा देख्न नचाहने, नरुचाउने, भित्र र बाहिरका शक्तिहरु खुशी छैनन्। सानोतिनो कमजोरी मात्रै भेटियो भने पनि तिललाई ताड बनाएर प्रचार गर्ने गर्छन्। कम्युनिष्ट आन्दोलन, पार्टी र नेताहरुलाई बदनाम गर्ने प्रयास शुरुदेखि नै भएको छ। तर कसैले दया गरेर हामी यस स्थानमा आएको होइन। यस्ता थुप्रै चुनौतिलाई पार गरेर यस स्थानमा आएका हौं। आउँदा चुनौतिहरुलाई पनि पार गर्नेछौं। त्यो विश्वास छ।

तर पार्टी एकता भएपछि तदरुकताका साथ त्यसलाई अन्तिम चरणमा पु¥याउने, तुरुन्तै जनताको बीचमा जाने, स्थानीय कमिटीहरु बनाउने, प्रदेशिकदेखि संघीय सरकारसम्मलाई निर्देशित गर्ने, प्रभावकारी बनाउन सहयोग गर्ने, गल्ती हुँदा त्यसलाई खबरदारी गर्ने काम जसरी पार्टीले गर्नुपर्दथ्यो त्यस्तो गर्न सकेनौं। हाम्रो थोरै कमीलाई प्रतिक्रियावादीहरुले अतिरञ्जित रुपमा प्रचार गर्दै टाउको उठाउने जमर्को गरेको देख्छौं, सुन्छौं, हेर्छौं। लामो संघर्ष र ठूलो बदिलानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुश्साहास पनि केही मानिसले गरेको यदाकता देख्ने गरेका छौं।

यस्तो समयमा पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने, तल्लो तहसम्ममा अभियान लिएर जाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय काम कारवाहीलाई एक रुपमा अघि बढाउने आवश्यकता कयौं गुणा बढ्न गएको छ। ठिक त्यही परिस्थितिमा पार्टीको विदेश विभागको पदस्थापन भएको छ। आशा र विश्वास छ, उहाँहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीति, राजनीति, पार्टीको नीति, योजना, विचारलाई स्थापित गर्ने सन्दर्भमा उहाँहरुले अभियानान्ताका रुपमा काम गर्नु हुनेछ।

एकतावद्ध भएर दृढताका साथ हिजोका सबै संघर्ष, बलिदान र शहिदका सपनालाई सम्झिँदै अभियानमा गयौं जटिल र अफ्ठ्यारा परिस्थितिहरुलाई चिर्न सक्नेछौं। एकता भएर अघि बढ्दा अबको परिस्थिति सामान्य नै हुन्छ। एकपछि अर्को गर्दै विजय हासिल गर्न संभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .