गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को समूहका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले गणेशबहादुर बोगटीलाई पक्राउ गरेको हो।
सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०/१२ जना युवक देखिन्छन्। तीमध्ये बोगटीले हतियार बोकेका हुन्।
सो भिडिओका आधारमा बोगटीलाई बाँकेको चिसापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उक्त भिडिओ नेपालगन्जस्थित एक होटलको हो।
बोगटीले बोकेको हतियार लाइसेन्स प्राप्त भए पनि सार्वजनिक रूपमा प्रदर्शन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपालगन्जमा अहिले नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको महाधिवेशन भइरहेको छ। त्यसैमा सहभागी हुन चक्र मिलन त्यहाँ गएको बताइएको छ।
Shares
प्रतिक्रिया