मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद फैसला भई फरार रहेका रुपन्देहीका एक व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको कञ्चन गाउँपालिका ५ का आरने माइला भन्ने मीनबहादुर विक कामीलाई प्रहरीले सैनामैना नगरपालिका ५ बुद्धनगरबाट पक्राउ गरेको हो।
कपिलवस्तुका दुईजना महिलालाई भारत लगेर बिक्री गरेको कसुरमा उनलाई २०७४ असारमा कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैदको फैसला गरेको थियो।
घटना विवरणअनुसार २०७० कात्तिकमा आर्थिक अवस्था कमजोर भई ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका २ जना महिलालाई सालिग्राम विकले राम्रो काम र राम्रो पैसा कमाइन्छ भन्दै कपिलवस्तुको चन्द्रौटाबाट लिएर हिँडेका थिए। सोही दिन राति दाङको भालुवाङस्थित होटेलमा राखेर सालिकरामले आरने माइला भन्ने मीनबहादुर विक कामीलाई बोलाएका थिए। उनले मीनबहादुरलाई यो मेरो भतिजो हो, तिमीहरू यसैसँग जानु राम्रो खाना, पैसा र काम लगाइदिन्छ भनेर २ जना महिला जिम्मा लगाएका थिए।
त्यसपछि मीनबहादुरले जागिर, खाना र लवाइखवाइको प्रलोभनका कुरा सुनाउँदै त्यहाँबाट बस चढाई नेपालगन्ज हुँदै रुपैडिया नाकाबाट भारतको पन्जाब पुर्याएका थिए। पन्जाबस्थित जालन्धर सहरको फिरोजपुरमा लगी बग्गी नाम गरेको मानिसलाई देखाई तिमीहरूको मालिक यही हो, कामकाज गर्न तयार हुनू भन्दै जबर्जस्ती सादा कागजमा ल्याप्चे लगाइएको थियो। त्यसपछि काम पक्का भयो भनी मीनबहादुरले गोप्य रूपमा बग्गीलाई भेटी पीडित महिलालाई छाडी आफू बेपत्ता भएका थिए।
फिरोजपुरका बग्गीले अर्धनग्न महिलाहरू नाच्ने होटलमा लगेर तिमीहरू पनि भोलिदेखि यसैगरी नाच्नुपर्छ भने। त्यहाँ अन्य मानिसले पीडित महिलाहरूको शरीर सुमसम्याउन लाग्दा किन यसो गरेको भन्दा तिमिहरूलाई मैले पैसा दिएर किनेको हो, तिम्रो मानिसले मसँगबाट रुपैयाँ लगेको हो भनेपछि मात्रै महिलाहरूले आफूहरू बेचिएको थाहा पाएका थिए।
त्यसको १५/२० दिनपछि कोही नभएको मौका छोपी दुई महिला भागेर कपिलवस्तुको कृष्णनगर नाकामा रहेको पुनःस्थापना गृहको संरक्षणमा आएका थिए।
२०७० पुसमा इलाका प्रहरी कार्यालय कृष्णनगरमार्फत मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान भएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा सुरुमा सालिकराम विकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढायो। सालिकरामले आरने माइला भन्ने मीनबहादुर कामीले नै पीडित महिलाहरूलाई आफैँ भारतको जालन्धरमा लगी उतै फरार रहेको बताएका थिए।
फरार मीनबहादुरलाई मुख्य कसुरदार मानी कपिलवस्तु जिल्ला अदालतले २०७४ असार १९ गते मानव बेचबिखन कसुरमा ३० वर्ष कैद र दुई लाख ५० हजार जरिवाना र एक लाख २५ हजार रुपैयाँ पीडित महिलाहरूलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको थियो। मीनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहितको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि मंगलबार कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएको थियो। मंगलबारै कैद भुक्तानका लागि कारागार कार्यालय कपिलवस्तुमा चलान गरिएको छ।
Shares
प्रतिक्रिया