बाजुरामा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए।
‘राति प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो, अस्पताललले मृत घोषणा गरेको छ,’ डिएसपी थापाले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’
ऐडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृत्यु भएका ऐडी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको खुलेका छ।
दिउँसो कांग्रेस कार्यकर्तासंग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको आशंका गरिएको छ।
यसअघि आइतबार मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो।
दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
गोली लागेर २३ वर्षीय युवक सञ्जिव ऐडीको ज्यान गएको थियो भने अन्य तीन जना घाइते भएका थिए। ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य र सुदुरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत हुन्।
Shares
प्रतिक्रिया