बुटवलको एक होटलमा मृत फेला परेकी युवती एक महिनादेखि घरमा सम्पर्कमा नभएको खुलेको छ।
नेपालगञ्ज उपमहानगरपालिका ५ घर भएकी पुष्पा बुढाथोकी साउने सक्रान्ति मनाउन माइत जान्छु भनेर हिँडेकी थिइन्। उनको माइत दाङको सतबरिया हो।
पुष्पाका श्रीमान वैदेशिक रोजगारीका लागि युएई गएका छन्। ४ महिनाअघि उनी युएई गएका हुन्। श्रीमानले आफ्नो श्रीमती हराएको भनेर महिला सञ्जाललाई भनेका थिए।
सोमबार बुटवलको तिनाउ पुल नजिकको स्याङ्जा कारीकोटे होटलको कोठामा उनी मृत फेला परेकी हुन्। उनीसँगै धादिङका सीताराम भुजेल पनि मृत फेला परेका छन्।
पुष्पा विस्तारमा उत्तानो परेको अवस्थामा थिइन् भने भुजेल झुण्डिएको अवस्थामा थिए।
भुजेलले पुष्पाको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ति पुरुष कारागार बसेर केही समय अघि छुटेको सुन्नमा आएको इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक सन्तोष घिमिरेले बताए।
‘मानव बेचविखन मुद्दामा कारागार बसेर एक डेढ महिनाअघि छुटेको सुन्नमा आएको छ। उनको श्रीमतीको मृत्यु भइसकेको रहेछ’ उनले भने ‘दुई जनाबीच कसरी सम्पर्क भयो भन्ने अझै खुलेको छैन। महिलाको साथमा फोन छैन।’
मृत फेला परेका दुवै जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
Shares
प्रतिक्रिया