स्थानीय तहको निर्वाचनका दिन (वैशाख ३० गते) देखि बेपत्ता इटहरीकी एक बालिका भारत हरियाणामा फेला परेकी छन्।
प्रहरीका अनुसार उनलाई हरियाणा र पन्जाब राज्यको सीमा क्षेत्रबाट भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उद्धार गरिएको हो।
चौधरी थरकी १५ वर्षीया किशोरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ। उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
उनलाई आइतबार नेपाल ल्याइने राष्ट्रिय बालअधिकार परिषद् एवं बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रका अधिकृत सुमन अधिकारीले जानकारी दिए।
मोरङको सिमा नाका हुँदै ती किशोरलाई आफ्नै काका लालु चौधरीको सहयोगमा विराटनगरका दिनेश मण्डलले भारत कटाएको अनुसन्धानबाट खुलेको थियो।
उनको खोजीमा सक्रिय इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक रवीन्द्र थापाले बताए।
किशोरीलाई ल्याउन तयारी भइरहेको बताए। उनले भने, ‘यसमा भारतीय प्रहरीको ठूलो सहयोग छ।’
बालिका सुरक्षित फेला पार्न सफल भए पनि उनलाई त्यहाँसम्म पुराउने विराटनगरका दिनेश मण्डल भने फरार छन्।
उनको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। काका लालु र अर्का एक सहयोगी भने प्रहरी हिरासतमा छन्।
बालिकालाई काका लालु चौधरीले एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोसी नदी जानुपर्छ भनेर घरबाट लिएर गएका थिए। तर उनलाई झुक्याएर दिनेश मण्डल र काकाले बाइकमा राखेर विराटनगरको शनि मन्दिर हुँदै भारत कटाएका हुन्।
यसरी बनाइयो बेपत्ता
वैशाख ३० गते स्थानीय तहको निर्वाचन थियो। आफ्नै काकाले झारफुक गर्ने भनी विराटनगर घिनाघाटका दिनेश मण्डललाई इटहरी उपमहानगरपालिका वडा नं.१६ स्थित बालिकाको घरमा बोलाइ झारफुक गराएका थिए।
झारफुक गरी फूलपाती सेलाउन कोसी जानुपर्छ भनेर बाइकमा राखी बेपत्ता बनाएको बालिकाका आफन्तको भनाइ छ।
आफ्नै काका लालु चौधरीले अस्मितालाई एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोसी नदी जानुपर्छ भनेर लिएर गए, तर उनी अहिलेसम्म घर फर्किएकी छैनन्। किशोरीका आफन्तहरू त्यसपछि खोजीमा जुटेका थिए।
किशोरीलाई काका लालु र विराटनगरका दिनेश मण्डलले बाइकमा राखेर कोसी लागेको परिवारका सदस्यलाई जानकारी छ। त्यो दिन अस्मितालाई कोसी नदी लगेपछि न घर ल्याएर नै छाडियो न त अहिलेसम्म अवस्था पत्ता लाग्यो।
कक्षा ६ मा अध्ययनरत किशोरी बेपत्ता भएपछि घर परिवारका सदस्य चिन्तित भएका थिए। काका लालु र झाँक्री दिनेशले कोसी नलगी बीचबाटै अस्मितालाई विराटनगरको शनि मन्दिर पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवैले शनि मन्दिर लगेर अस्मितालाई नजिकैको खोलामा पूजा गर्नुछ भनेर लगेको खुलेको छ।
Shares
प्रतिक्रिया