धेरै मुख्य कार ब्रान्डहरुले आफ्ना नयाँ कारहरु अनलाइनबाटै सार्वजनिक गरिरहेका छन्। कोरोना भाइरसका कारण जेनेभा मोटर शो रद्द भएसँगै कम्पनीहरुले आफ्ना नयाँ उत्पादन अनलाइनमार्फत सार्वजनिक गर्न थालेका हुन्।
यदि अनलाइन सार्वजनिकीकरण सफल हुने भए विश्वका चर्चित प्रदर्शनीहरु भविष्यमा यही बाटोमा जान सक्नेछन्। यसले चर्चित मोटर प्रदर्शनी अनलाइनमै हुनेछ।
औडी, बीएमडब्ल्यू र मर्सिडिज बेन्जजस्ता चर्चित सवारीसाधन निर्माताले आफ्ना नयाँ उत्पादन आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
कुनै निश्चित स्थानमा आयोजना हुने यस्ता प्रदर्शनी अब अनलाइनमा रुपान्तरण हुने आँकलन हुनथालेको छ। भाइरसका कारण विश्वका सवारीसाधन निर्माताको आपूर्ति प्रणाली नै तहसनहस भएको छ भने उपभोक्ता मागमा समेत कमी आएको छ।
बीएमडब्ल्यूले जेनेभा मोटर शोमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको थियो। जेनेभा मोटर शो पहिलो र दोस्रो विश्वयुद्धमा बाहेक निर्बाध सञ्चालन हुँदै आए पनि यो वर्ष कोरोनाकै कारण तेस्रो पटक रद्द भएको छ। यो अटो उद्योगकै एउटा विशाल उत्सवका रुपमा मानिन्छ। बीएमडब्ल्यूले नयाँ उत्पादन सार्वजनिक गर्न डिजिटल प्रेस कन्फरेन्स गरेको छ।
कम्पनीले आई४ विद्युतीय कार अवधारणा सार्वजनिक गरेको छ। त्यस्तै मर्सिडिज बेन्जले पनि आफ्नो इक्लासको उत्पादन अनलाइनबाटै सार्वजनिक गर्ने मंगलबार बताइसकेको छ।
गत शुक्रबार जेनेभा मोटर शो रद्द भएको थियो । स्विस सरकारले १ हजारभन्दा बढीको सम्मेलन, बैठक आदि भीडभाडजन्य कार्यक्रममा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्धसँगै दोस्रो विश्वयुद्धपछि पहिलोपटक शो रद्द भएको हो ।
‘पूरै अटो उद्योग परिवर्तनको प्रक्रियामा छ । यो डिजिटाइज हुने प्रक्रियामा छ । त्यसकारण, निश्चय पनि हामी हाम्रा उत्पादन नयाँ ढंगले सार्वजनिक गर्छौँ’, मर्सिडिज बेन्जकी प्रवक्ता कात्जा रेचस्टेनरले भनिन्, ‘हामी आफैँमाथि प्रश्न गर्छौँ, धेरै कुरामा हाम्रो राम्रो प्लेटफर्म के हो त? डिजिटल कि स्थलगत उपस्थितिमूलक ! भविष्यमा हामी डिजिटल नै रोज्नेछौँ।’
औडीले समेत आफ्नो नयाँ ए३ स्पोर्टब्याक इन्टरनेटबाटै सार्वजनिक गरेको छ । उसले पनि जेनेभा शो रद्द भएकै कारण इन्टरनेट रोज्न बाध्य भएको हो । ‘परम्परागत कार शोहरुबाट बाहिरिन भाइरसले मद्दत गरेकोमा कुनै शंका छैन’, अटो कन्सल्टेन्सी जोजो गोका प्रमुख कार्यकारी माइकल डुनेले भने, ‘इन्टरनेटबाटै उपभोक्ताले धेरै सूचना प्राप्त गर्न सक्छन् र गर्छन् पनि । खासगरी नयाँ पुस्ताले यसलाई रुचाएका छन् ।’
‘हैन, प्रदर्शनी रोकिनुहुँदैन’
यसैबीच, म्याकलारेनले आफ्नो नयाँ सुपर कार दि ७६५एलटी मंगलबार आफ्नै मुख्यालय बेलायतको वकिङमा सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी माइक फ्लेविटले जेनेभा शो रोकिएका कारण त्यहाँबाट लन्च गर्न सम्भव नभएको बताए । उनले शो रोकिएकोमा समर्थन गरे पनि यसप्रकारका शोहरु हुनुपर्नेमा जोड दिए । उपभोक्ता, आपूर्तिकर्ता र कर्मचारीका लागि पनि यस किसिमका शोहरु हुनैपर्ने उनको दाबी छ।
त्यस्तै जेनेभा मोटर शोका प्रबन्धनिर्देशक ओलिभर राइसले कम्पनीहरुले अनलाइनबाट उत्पादन सार्वजनिक गर्नु आफूहरुका लागि ठूलो चुनौती भएको बताए । यद्यपि धेरैभन्दा धेरै डिजिटाइज्ड हुनु अपरिहार्य रहेको उनको स्वीकारोक्ति छ।
मोटर शोकै अनलाइनमार्फत २० वटा नयाँ कार यही हप्ता सार्वजनिक भइसकेको छ। तर राइस अनलाइनबाट उत्पादन बजारमा सार्वजनिक हुँदैमा शो मरिसकेको भन्न नमिल्ने बताउँछन्।
‘मानिसहरु अझै पनि भावना जोडिएको हेर्न चाहन्छन्। कार हेर्न, छुन, प्रतिक्रियाहरु आदानप्रदान गर्न पनि यो आवश्यक छ। हामी उहाँहरुलाई अनुभव प्रदान गर्छौँ। यो त फ्यानविना नै फुटबल खेल हेरेजस्तो भएन र !’, उनले भने।
यसपटकको शोमा १ सय ५० प्रदर्शनीकर्ता र ९० बढी कारहरु प्रिमियर हुँदै थिए। गत वर्ष शोमा ६ लाखले अवलोकन गरेका थिए। बीबीसीबाट अनुवाद ।
Shares
प्रतिक्रिया