ad ad

ब्लग


‘मरे पनि आफ्नै देशमा मर्छौैँ, नेपाल पुर्‍याइयोस्’

‘मरे पनि आफ्नै देशमा मर्छौैँ, नेपाल पुर्‍याइयोस्’

बिमल धामी
चैत २८, २०७६ शुक्रबार ९:१६,

चार महिना अगाडि मजदुरीका लागि मसँगै गाउँका धेरै मानिस भारतको डिडिहाट पुगेका थियौँ। हरेक वर्ष खेतीपातीको काम सकेर परिवार पाल्नका लागि खर्च जोहो गर्न भारतमा काम गर्न जाने गथ्यौँ।

हामी काम खोज्दै त्यहाँ जाने बेलामा कतै पनि कोरोनाको संक्रमण देखिएको थिएन। काम थालेको केही समयपछि चीनमा कोरोना संक्रमण देखिएको भन्ने खबर पाएका थियौँ। चीनमा देखिएपछि त छिमेकी मुलुक भारत र नेपालमा पनि देखिन्छ भनेर हामी त्रासमा थियौँ तर परिवार पाल्नका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता थियो।

कोरोना भाइरसले महामारीको रुप लिँदै गर्दा हामीले भने ‘बिसु’ पर्व (नयाँ वर्ष) मा घर जाने सोचेका थियौँ। समय बित्दै जाँदा कोरोना भाइरसले महामारीको रुप लिइरहेको थियो। भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो र केही मानिसको मृत्युसमेत भइसकेको थियो।

भारतको धार्चुलास्थित इन्टर कलेजको क्वारेन्टिनमा रहेका नेपालीहरु।

उता नेपालमा पनि संक्रमण देखापरी सकेको समाचार भने सुनिन थालेको थियो। त्यसपछि कोरोनाकोसंक्रमण फैलिन नदिन दुवैतर्फ लकडाउन गरियो। नाका भएर आवागमन बन्द थियो। इस्तै अवस्थामा पनि मरे आफ्नै देशमा मरिन्छ भनेर ‘बिसु’ मनाउन खर्च जोहो गरेर, कोरोनाको त्रासैत्रासमा हामी चैत १४ गते घरका लागि हिड्यौँ।

१५ गते धार्चुला पुग्यौँ। कोरोनाको त्रासका कारण गाउँ फर्किन लागेका हामीलाई त्यहाँबाट आफ्नो नेपाली गाउँ देखियो। हामी खुसी थियौँ, किनकि आफ्नो ठाउँ पुग्यौँ, अब मरिहाले पनि आफ्नो ठाउँमा मरिन्छ, छोराछोरीको मुख त हेर्न पाइन्छ भनेर। तर, हाम्रो खुसीलाई सरकारले चकनाचुर पारिदियो। घरपुग्ने सपना बोकी आएका हामीलाई आफ्नै सरकारले नै नाका प्रवेशको अनुमति दिएन।

हामीजस्तै भारतको विभिन्न ठाउँबाट फर्किनेको क्रम रोकिएको थिएन। हामी एक–एक/दुई–दुई गर्दै हजारौँ पुग्यौँ। नाका प्रवेशको अनुमति सरकारले नदिँदा हामीले आफ्नै महाकालीले बिरानो बनायो जस्तो महसुस हामीले गर्‍यौँ। नाका प्रवेशको अनुमति नपाउपछि केही साथीहरु ज्यानको बाजी थापेर महाकाली नदीमा पौडिएर गए।

हामीलाई स्वदेश भित्राउन मागगर्दै कही दिन त नाराबाजीसमेत गर्‍यौँ। तर पनि हाम्रो कुरा सरकारले सुनेन। पछि हामीलाई भारतमै क्वारेन्टिनमा राखिने भयो। हामी भारतस्थित क्वारेन्टिनमा नै बस्यौँ।

भारतको धार्चुलास्थित इन्टर कलेजको क्वारेन्टिनमा रहेका नेपालीहरु।

म अहिले धार्चुलाको बलुवाकोटस्थित इन्टर कलेजमा रहेको क्वारेन्टिनमा छुँ। यहाँको क्वारेन्टिनमा साढे तीन सयभन्दा बढी नेपाली छौँ। हाम्रो यहाँ बिजोग छ। राम्ररी सुत्न पनि पाएका छैनौँ। पर्याप्त मात्रामा ठाउँ नहुँदा ग्यालरी र बरण्डा (पाली) मा सबै एकै ठाउँमा भेंडा–च्यांग्राजस्तै कोचिएर बस्नु परेको छ। ८०/९० जना बरण्डामा रात बिताउने हामी अहिलेसम्म कोठा कस्ता छन् देख्न पाएका छैनौँ।

के क्वारेन्टिन भन्नु सबै एक ठाउँमा कोचाकोच गरी बस्नुपरेको छ, क्वारेन्टिन बस्नु र नबस्नु उस्तै छ। धेरै जना एकै ठाउँमा सुत्ने भएकाले गर्मीले सताउँछ। बसाईंको समस्या एकातिर छ भने खानाको समस्या पनि उस्तै छ। दिनमा दुई पटक मात्रै खाना पाउँछौँ, त्यो पनि बासी खाना। १० घण्टाको अन्तरमा खाना दिइन्छ। कहिलेकाँही त त्यो पनि केही टुंगो हुँदैन, कति बेला पाइन्छ, कति बेला।

सामान्यतया दिउँसो १ बज र राति १० बजेतिर खाना पाइन्छ। त्यसको पनि टुंगो हुँदैन। म बिहान ७ बजे नै बिउझिन्छुँ। बिहानै खाना–नास्ता गर्ने बानी तर बिहानै केही पाइँदैन। सिधैँ दिउँसो १ बजेतिर खाना पाइन्छ। त्यती बेलासम्म भोक सहेर बस्नुपर्ने हुन्छ। कतै बाहिर गएर किनेर खाऊ भनेनि प्रहरीले जान दिदैनन्। दिउँसो र राति दुवै पटक भात मात्र दिने गर्छन्।भारतको धार्चुलास्थित इन्टर कलेजको क्वारेन्टिनमा सुतिरहेका नेपालीहरु।

भारतको धार्चुलास्थित इन्टर कलेजको क्वारेन्टिनमा रहेका नेपालीहरु।

सुरुको एक दिन भने सेलरोटी खुवाएका थिए। क्वारेन्टिनमा राम्रो व्यवस्था नहुँदा दिन कटाउँनै गाह्रो हुन्छ। कहिलेकाहीँ फेसबुक चलाउँछु,मोबाइलमा गेम खेल्छु यस्तैमा दिन जान्छ। घर फर्किने दिनको गन्तीमा हुन्छौँ। घरमा फोन गर्नका लागि पनि अब त मोबाइलमा पैसा पनि सकियो, रिचार्ज पाइँदैन, बजार बन्द छ। कहिले सामान्य रुपमा बजार खुले पनि बाहिर निस्किन नै दिँदैनन्।

क्वारेन्टिनमा समय कटाउनका लागि पुस्तक, खेलसामग्री हुनुपर्ने हो, त्यस्तो केही छैन। भेंडा–च्यांग्रा जसरी एकै ठाउँमा हुलिएकाले रोग नभएकोलाई पनि रोग सर्ने खतरा बढेको छ। एक पटक स्वास्थ्य परीक्षणका लागि मानिस आएका थिए। अहिलेसम्म कोही बिरामी फेला परेका छैनन्।

हजारौँ नेपाली भारतीय क्वारेन्टिनका नाममा नरकीय जीवन काट्न बाध्य भए पनि नेपाली पक्षले अहिलेसम्म सम्पर्कसम्म पनि गरेका छैनन्। भारतीय क्वारेन्टिनमा रहेकाहरुलाई नाका प्रवेश अनुमति लिएर स्वदेश ल्याउने भन्ने समाचारहरु पनि सुनिन्छन्। त्यस्तो सुन्दा निकै खुसी लाग्छ तर त्यो दिन कहिले आउँछ? त्यस दिनको पर्खाइमा छौँ।

लकडाउन कति लम्बिन्छ थाहा छैन् तर हाम्रो व्यवस्थापन भने सरकारले गर्नु पर्‍थ्यो। आफ्नै नागरिकप्रति सरकार जवाफदेही छैन्। बासी भात खाएर बाँच्नु परेको छ। भारतीय क्वारेन्टिनमा रहेका हामीहरुको भन्नु यति छ– सरकारले नेपाली नागरिकलाई स्वदेशका कहिले भित्राउँछ? 

(धामी भारतकाे धार्चुलास्थित इन्टर कलेजको क्वारेन्टिनमा छन्। उनले नेपालखबरका सुदूरपश्चिम प्रदेश संवाददाता गोकुल जोशीसँग गरेको कुराकानीमा आधारित भएर यो ब्लग तयार पारिएको हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .