‘कहिल्यै कसैको कुरा नकाट्ने, मुस्कुराइरहने, कुनै महत्त्वाकांक्षा नबोकेको मृदुभाषी मान्छेलाई म अबदेखि अहो ! कस्तो प्रेमध्वजजस्तो भन्नेछु।’
वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनपछि साहित्यकार ‘विप्लव प्रतिक’ले कान्तिपुर दैनिकमा लेखेको संस्मरणमा उल्लेख माथिका पंक्तिले म पनि निकै बेर हराएँ, अतीतमा। यसो भनेर मैले नेपाली गीत/संगीत र साहित्यमा स्थापित कवि प्रतीकसँग आफूलाई तुलना गर्न खोजेको पटक्कै होइन। कवि प्रतीकसँग मेरो व्यक्तिगत चिनजान पनि छैन। बरु उनका पिता कृष्णप्रसाद ‘सर्वहारा’ र मेरा पिताजी ‘केवलपुरे किसान’ दौंतरी थिए।
***
करिब ८ वर्षअघि गायक प्रेमध्वज र उनकी पत्नी किरणलाई हङकङवासी प्रदीप थापा र रीता गुरुङले ‘नेपाल क्लब’ ९हङकङ० को पहिलो ‘सरगम साँझ’मा निम्त्याएका थिए। थापा र गुरुङले दीपक जंगम र दीप श्रेष्ठका दम्पतीलाई पनि सरगम साँझ दोस्रो र तेस्रोका लागि क्रमशः हङकङ उतारेका थिए। मिस नेपाल भएको २ हप्तामै यौटा कार्यक्रममा शृंखला खतिवडालाई हङकङ ल्याउने जोडी पनि यही थियो। कोरोना महामारीयता भने ‘सरगम साँझ’को निरन्तरता अवरुद्ध भएको छ।
हुन त हङकङ आउन र प्रस्तुति दिन क्षेत्र, जिल्ला, गाउँ, जातीय वा राजनीतिक साइनो हुनेलाई सजिलो पर्छ। चाहे गुम्बाका लामा गुरु वा मन्दिरका पुजारी नै किन नहुन्। जहाँ वैरागी काइँला, श्रवण मुकारुङ, राजन मुकारुङ, व्याकुल माइलाहरू आउँदा सम्मान, भेटघाटमा समय मिलाउनुपर्थ्यो भने ‘केवलपुरे किसान’ आउँदा जति पनि समय हुन्थ्यो। धन्न ! हङकङबाट प्रकाशित तत्कालीन ‘नेपाल पोस्ट’ पाक्षिकका लागि अन्तर्वार्ता लिएका थिए, कूलप्रसाद गुरुङले। यो आलोचना हैन, यथार्थता हो। आफ्नालाई आफ्नाले नै तान्ने र अझै ठूलो बनाउने मानव स्वभावप्रति मेरो गुनासो छैन। कार्यक्रमको उचाइ र सफलताका कारण वा फाइदाका लागि साइनो र सामीप्यताको परिभाषामा नपरेका विविध क्षेत्रका ख्यातिप्राप्त चर्चित हस्ती पनि प्रशस्तै नआएका भने होइनन्, हङकङमा। पहिलो रोजाइमा परेका अम्बर गुरुङ हङकङ ल्याउन नेपाली आयोजकबीच प्रावधिक समस्या भएपछि संयोगले त्यस्तै उचाइ भएका अर्को को त भन्दा प्रेमध्वज प्रधान परेका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। अहिलेलाई विषय बदलौं।
अक्सर हङकङे नेपालीका सभा/समारोह आयोजना भइरहने याउमातेइको हेनरी जी ल्योङ सभागृहमा २०१३ डिसेम्बर २५ बुधबार साँझ विशेष बनेको थियो– गीत-संगीतका पारखीका लागि।
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरीझैं ज्योति बाली अन्धकारमा चम्किन्छ...
सभाहलका ठूल्ठूला लाउडस्पिकरमा यो गीत बजिरहँदा सबै दर्शक/स्रोता आतुर थिए, उनलाई हेर्न/सुन्न। यसैबीच सभाहल आइपुगे– गायक प्रधान दम्पती। नेपाली गीत/संगीतको यौटा साक्षात् धरोहरलाई सबै दर्शक/स्रोताले तालीको गडगडाहटले स्वागत गरे। गायक प्रधान असाध्यै खुसी देखिन्थे। सानो औपचारिक कार्यक्रमपछि हार्मोनियम समात्दै उनले भने, ‘मलाई प्रस्तुतिका लागि भन्दा सम्मानका लागि बोलाईए पनि यो माहोल, माया र हौसला देखेर मेरा औंला हारमोनियम छाम्न सल्बलाए र मलाई फेरि गाउने ऊर्जा प्राप्त भयो।’
त्यसपछि स्टेजमा केही चर्चित गीत गाए र बीचबीचमा जीवनका संघर्ष, गीत रेकर्डिङ गर्दाका दुःखसुख पनि सुनाए।
वि.सं. ३०र३२ देखि सुनिरहेका सदाबहार गीत आज आफ्नै आँखाअगाडि उभिएर गायक प्रधानले गाइरहँदा म भने एभरेडी ब्याट्री हालेर रेडियो सुन्ने युगको स्मरणमा हराएछु, केही बेर।
***
अलिअलि जान्नेरबुझ्ने भएपछि जन्मस्थान धादिङको केवलपुरमा पिताजीका ६ ब्याट्री जाने रसियन स्पिडोला रेडियोवरिपरि झुम्मिइन्थ्यो, बिहान, दिउँसो र बेलुका। त्यतिबेला बाल मस्तिष्कमा त्यो रेडियोभित्र बोल्नेरगाउने ससाना मान्छे होलान् भन्ने परेको थियो। एकपटक रेडियो बिग्रिएपछि पिताजीसँगै म पनि आएको थिएँ, पहिलोपटक काठमाडौं। न्युरोड पिपलबोटनजिकै यौटा घरको दुई तलामाथि रेडियो मर्मत गर्ने नेवार मूलका साथी थिए, पिताजीका। उनले रेडियो खोलेर बनाएको देखेपछि पहिलोपटक थाहा पाएँ– रेडियोभित्र मानिस हुँदैनन्! बरु विषेश प्रविधि र यन्त्रबाट टाढाबाट बोलेको आवाज आउने रहेछ भन्ने कुरा पिताजीले बुझाए। ब्याट्री पनि धेरै लाग्ने र बिग्रिरहने भएकाले पछि छालाको खोल र २ ब्याट्रीवाला जापानिज नेसनल पानासोनिक रेडियोले त्यो रेडियोलाई विस्थापन गरिदियो।
उतिबेला रेडियो नेपालमा समाचार ‘सेन्सर’ गरिने भएकाले राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार सुन्न पिताजी बिहान भारतको दिल्लीबाट प्रसारण हुने आकाशवाणी र बेलुका बीबीसी नेपाली छुटाउनु हुन्थेन। बेइजिङ र मस्कोबाट पनि छोटो समय नेपाली भाषाका कार्यक्रम प्रसारण हुन्थे।
बिहान पुरूषोत्तम सापकोटाले चलाउने धार्मिक कार्यक्रमबाट रेडियो सुन्न सुरु हुन्थ्यो। दिउँसो साढे २ बजे समाचार भन्ने कृष्णा ताम्राकारको वाचन शैली विशेष लाग्थ्यो। अनि ‘फर्माइस’ गीतपछि सायद साढे ५ बजे वासुदेव मुनालले ‘लौ मेरा प्याराप्यारा भाइबैनी हो रेडियोनजिक आओ’ भनेर सञ्चालन गर्ने बाल कार्यक्रम गुन्द्रीमा बसेर सुन्दा पालैपालो रेडियोमै कान टाँसिन्थ्यो। हरेक बेलुकी साढे ७ बज्नै लाग्दा आज ध्रुव थापा वा कमल प्रधान कसले समाचार वाचन गर्छ भनेर ठूली दिदी र म बाजी थाप्थ्यौं। अहिलेका प्रमुख समाचारमा गणतान्त्रिक राजनेता छाएजस्तै उतिबेला ‘श्री ५ महाराजधिराज’ छाउँथे। श्री ५ सम्बन्धी केही नभए मात्र अरू समाचारले स्थान पाउँथे।
दाहाल यज्ञनिधिले सञ्चालन गर्ने साहित्य संसार, प्रहरी कार्यक्रम, शाही नेपाली सैनिक कार्यक्रममा प्रसारण हुने छोटा नाटक, हरेक शनिबार साढे १ बजे आउने रेडियो नाटक, अतीतका गीतहरू निकै चाख लाग्थे। मन नपर्ने कार्यक्रमचाहिँ शास्त्रीय संगीत थियो।
***
त्यसबेलादेखि अहिलेसम्म ‘यो नेपाली शीर उचाली’ जति सुने पनि सुनिरहुँजस्तो लाग्छ। ‘घुम्तीमा नआऊ है’ त्यो बेला अत्याधिक बज्थ्यो– फर्माइस गीत कार्यक्रममा। आफ्नो सांगीतिक जीवनमा ७ सयभन्दा बढी गीत गाएका बाल्यकालको कल्पनामा रेडियोभित्रका साना मानिस प्रेमध्वज प्रधान, प्रस्तुति सकेपछि दर्शकमाझ म नजिकै थिए। उनका चर्चित गीत नेपाल र हङकङका चर्चित गायक क्रमश: गणेश पराजुली, नागेन्द्र श्रेष्ठ, महेश शिल्पकार, चेतमान गुरुङ, पवित्रा राई, रोशा लिम्बू, राज तामाङ, सोनाम महर्जन, सरला तामाङ, हर्षित आले, कला चेम्जोङ आदिले उनकै अगाडि प्रस्तुत गरिरहँदा उनी ताली बजाउँदै भावुक बनेका थिए।
हङकङ बसाइभर गायक प्रधानको खानपान धेरैजसो कंगन रेस्टुरेन्टमा जुरेकाले उनीसँग अझ बढी सामीप्यता र विचार आदानप्रदान गर्ने मौका पाएँ। थोरै बोल्ने, सोधेको कुराको ठिक्क मात्र जवाफ दिने, प्रशंसाले धेरै नफुर्किने, सधैं हँसिलो, भलाद्मी अनुहारको झलझली सम्झना आयो, उनको अकस्मात् निधनको खबरले।
जस्तो नाम, उस्तै काम। गणेशध्वजलाई आफ्नो नाम दिएर प्रेमध्वज बनाइदिने उनका गुरु प्रेमबहादुर श्रेष्ठ वास्तवमै भविष्य द्रष्टा रहेछन्।
‘सरगम साँझ’ कार्यक्रममा संगीत संयोजन गरेका गायक गणेश पराजुली प्रेमध्वज प्रधानलाई गीत/संगीत क्षेत्रका निष्कलंक, इमान्दार र शालीन व्यक्तित्वका त्रिवेणी मान्छन्।
त्यो साँझ उनकैअगाडि ‘जीवन रेखा’ चलचित्रको ‘हाँसने रहरहरू आँसुमा डुबे’ गीत गाउन पाउनु सांगीतिक जीवनकै अविस्मरणीय क्षण मान्छन्– अर्का गायक नागेन्द्र श्रेष्ठ।
यस्तै रेडियो नेपालमा जागिरे छँदादेखि नै उनको गीतको सांगीतिक समूहमा सहकार्य गरेका कृष्णभक्त महर्जन सरगम साँझमा पनि यस्तो अवसर पाउनु आफ्नो अहोभाग्य ठान्छन्।
अझ त्यस कार्यक्रमअघि प्रेमध्वज प्रधानसँग आफ्नै घरमा रिहर्सल गर्न पाउनु आफ्नो सांगीतिक यात्रामा ठूलो पुरस्कार पाएभन्दा पनि महत्त्वपूर्ण लागेको महर्जनको भनाइ छ।
हङकङको घुम्तीमा प्रेमध्वज प्रधानसँग भेट्ने अवसर आयोजकले नजुराइदिएको भए आज उनको नाममा यो संस्मरण लेख्न सक्ने थिइनँ होला। यो संस्मरण बिट मार्दै गर्दा हङकङस्थित तुङचुङ सहरको क्षितिजमा कताकता उही पुरानै रेडियोभित्र ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन’ भन्दै उनको आवाज गुञ्जिएझैं लागिरहेछ।
अब त उनलाई यसैगरी स्मरण र रेडियोभित्र मात्र भेट्न सकिने भएको छ।
हार्दिक श्रद्धासुमन ! चीर शान्तिको कामना मखमली स्वरका साम्राट श्रद्धेय गायक प्रेमध्वज प्रधानालाई !!
प्रतिक्रिया