चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट आजसम्म मुख्यभूमी चीनमा बीस हजार ४३६ जना संक्रमित भएका छन् भने ४२५ जनाको मृत्यु भैसकेको छ। हङकङमा १५ जना संक्रमित र एकजनाको मृत्यु भएको छ। चीनबाहिर फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको कारण हङकङमा मृत्यु हुने ३९ वर्षीय व्यक्ति पहिलो हुन्, जो भाइरसको कारण अचानक हृदयघात भएर ढलेका थिए। प्रीन्सेस मार्गारेट हस्पिटल क्वाई चुङले कोरोना भाइरसको कारण ती व्यक्तिको मृत्यु भएको पुष्टी गरेको हो।
यो भाइरसले पहिलेदेखि केही न केही रोग लागेका, बालबालिका वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बृद्धबृद्धालाई चाँडो आक्रमण गर्ने चिकित्सकहरूले बताएका छन्।
हङकङमा ८ महिनासम्म सरकारविरोधी आन्दोलन भएको थियो। गतबर्ष नोभेम्बर २४ को जिल्ला स्तरीय चुनावमा डेमोक्रेटिक पक्षधरले बहुमत ल्याएपछि सरकारविरोधी आन्दोलनकारीमा हौसला बढेको थियो।
सरकारविरोधी त्यो आन्दोलनभन्दा कयौं गुणा शक्तिशाली भएर आएको छ अहिले कोरोना भाइरस, जसले हरेक मानिसमा आतंक फैलाइरहेको छ। आन्दोलनका कारण हङकङमा केही व्यवसाय चौपट भएका छन् र यो भाइरसले यहाँको अर्थतन्त्रलाई थप धक्का दिने देखिएको छ। अझै कति व्यवसाय बन्द हुने हो यकिन छैन।
उसै त सानो ठाउँ, धेरै मान्छे। प्रशस्त जमिन छैन, उब्जनी केही हुँदैन।
कंक्रिटको यो शहरमा कोरोना भाइरसले आक्रमण गर्दा मानिसहरू चिन्तित हुने नै भए। त्यो भन्दा बढी समस्या यहाँ अनावश्यक फैलिने हल्ला र डरले निम्त्याउँदै छ। आज सबैको हातहातमा स्मार्टफोन छ। फोनबाटै विश्वमा कहाँ के भैरहेको छ भनेर जान्न सजिलो छ। यस्तो अवस्थामा कोरोना भाइरसबारे हरेक खबर र हल्लाहरु क्षणभरमै आगोको लप्काजस्तो फैलिन्छन्।
छिटो खबरले मानिसलाई सुसूचित त गर्छ तर सँगसँगै डर पनि बढाउँछ। कतिपय मानिस कमजोर मनस्थितिका हुन्छन्। उनीहरुलाई यस्ता खबरले झन् कमजोर बनाउन सक्छ। यसलाई रोक्न त सकिन्न तर हामीले नजिकका चिनेजानेका मानिसलाई आत्मबल बलियो पार्न सहयोग गर्न सक्छौं।
रोग त अनेक छन्। कति निको हुने कति निको नहुने। तर मानिसमा आत्मविश्वास बलियो भए जुनसुकै रोगले झट्ट मृत्युको मुखमा धकेल्न सक्दैन। सन् २००३ को सार्सले हङकङमा हामी नेपालीलाई छुन सकेन। छोए पनि स्थानीय चिनियाँलाई झैं सजिलै लान सक्दैन। तर हामी सजग त हुनैपर्छ। सार्सको समयमा झैं अहिले पनि एकअर्कामा सहयोग र हातेमालो गर्दै हामी नेपाली र सबैको सुरक्षाका लागि सजग हुन जरुरी छ।
अहिले फेसबुकमा ‘कोरोनाले यति मानिस मरे, उति मरे’ भनेर पोस्ट गर्नुबाहेक यो भाइरसको संक्रमणबाट कसरी आफू र आफ्नालाई बचाउन सकिन्छ भन्ने छलफल गरौं। खानेकुराहरु छैन भन्ने बहसमा हामीभन्दा सरकार बढी चनाखो हुनुपर्छ। आफू र आफ्नालाई भाइरस संक्रमणबाट कसरी जोगाउने? हाम्रो मुख्य चासो यो हुनुपर्छ।
सामाजिक सञ्जालमा ‘अब खत्तमै भयो, सकियो’ भन्ने अर्थ लाग्ने गरि मानसिक आतंक फैलाउन बन्द गरौं। बरु सार्सलाई जस्तो कोरोना भाइरसलाई कसरी भगाउने भन्ने बारे छलफल गरौं। यहाँ एक नेपालीलाई दुखे सबै नेपालीलाई जो दुख्छ। हामी आफु–आफु लडाइँ गर्छौं तर दुर्घटनाकै कारण एउटा नेपाली गुमाउनु परे पनि आफ्नै गुमेको जस्तो महशुस जो गर्छौं।
यो पनि
कोरोना भाइरसबाट हङकङमा पनि एक जनाको मृत्यु
प्रतिक्रिया