महिनौंयता जारी सरकारविरुद्धको प्रदर्शनका क्रममा हङकङको क्याथे प्यासिफिकले अरबौं घाटा व्यहोरेपछि केही समय अगाडि मात्र यस एयरलाइन्सले सयौं कर्मचारीलाई तलबविहिन बिदा दिएको थियो।
तलबविहिन बिदामा बस्दा कर्मचारी निकै असन्तुष्ट बनेका थिए। यतिबेला भने प्राकृतिक विपत्ति कोरोनाको संक्रमणले क्याथे प्यासिफिकका कर्मचारी झनै मारमा परेका छन्।
बुधबार क्याथे प्यासिफिकले आफ्ना २७ सय कर्मचारीलाई ३ हप्ता तलवबिहिन बिदा बस्र्नुपर्ने घोषणा गरेको छ।
कोरोना भाइरसका कारण व्यवसाय नै ठप्प भएपछि आफूहरुले ठूलो आर्थिक क्षति व्यहोरेकाले सबै कर्मचारीले बिदा अनिवार्य बस्नुपर्ने क्याथे प्यासिफिकका कार्यकारी अधिकृत अगस्टस ताङ किन–विङले बताएको एससीएमपीले जनाएको छ।
उनले भने,‘म सबैलाई कम्पनीलाई सहयोग गर्न अपिल गर्न चाहन्छु। अवस्था निकै नाजुक छ त्यसैले तलबविहिन बिदामा बस्नुहोला।’
मंगलबार क्याथे प्यासिफिकले २ महिनासम्म ३० प्रतिशत उडान स्थगित गरेको घोषणा गरेको थियो। चीनमा हुने उडान ९० प्रतिशतले स्थगित गरिएको छ।
बुधबारसम्म नोबल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। चीनमा मात्रै ४९० जनाको मृत्यु भएको हो।
यस्तै फिलिपिन्समा एक र हङकङमा एक व्यक्तिको मृत्यु भएको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट २४ हजारभन्दा बढी संक्रमति बनेका छन्।
२४ हजार ५ सयमा कोरोना देखिँदा चीनमा मात्र २४ हजार ३ सयभन्दा बढीमा यसको संक्रमण देखिएको सीएनएनले जनाएको छ।
चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।
हङकङमा बुधबारसम्म कोरोनबाट १५ जना संक्रमित बनिसकेका छन्। हङकङ सरकारले कोरोना नियन्त्रण गर्न चीनसँगका सबै रेल तथा सबै डुंगासेवा ठप्प पारेको छ।
प्रतिक्रिया