बजाज अटोले भारतमा यसै महिना अर्थात् चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा आफ्नो विद्युतीय स्कुटर ‘चेतक’ बजारमा ल्याउने बताएको छ ।
कम्पनीको सन् २०२१/२०२२ को वार्षिक रिपोर्टमा सेप्टेम्बर महिनामा चेतक बजारमा आउनसक्ने बताइएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बजार अटोले यो वर्ष अप्रिलमा चेतकको बुकिङ बन्द गरेको थियो । चेतक बजाजको पुरानो लोकप्रिय ब्रान्ड हो । यसैलाई कम्पनीले पुनः बजारमा ल्याउनलागेको हो । यो स्कुटर दुई मोडल चेतक प्रिमियम र चेतक अर्बानमा उपलब्ध छ ।
सन् २०२० को सुरुवातमै चेतकको बुकिङ खुल्ला गरिएको थियो । तर कोरोना महामारीका कारण बीचैमा बन्द गर्नुपरेको थियो । पछि सन् २०२१ को अप्रिल १३ मा दोस्रोपटक बुकिङ खुल्ला गरियो । कम्पनीले सेप्टेम्बरदेखि बजारमा बिक्रीवितरण गर्ने काम सुरु हुने रिपोर्टमा उल्लेख गरेको छ ।
चेतकमा आईपी६७ रेट भएको हाइटेक लिथियम आयन ब्याट्री छ । यसमा पाँच एमपीको विद्युतीय आउटलेटमा सजिलै चार्ज गर्न सकिन्छ । एकपटक पूरा चार्ज गरेपछि यसले इको मोडमा ९५ किमिसम्म यात्रा गर्न सक्छ । भारतको पुणेस्थित प्रतिष्ठानमा चेतकको उत्पादन भइरहेको बताइएको छ ।
प्रतिक्रिया