शनिबार लेबनानले देशमै निर्मित पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ।
बारम्बारको विद्युत कटौतीले आर्थिक संकटकै बीच संघर्षरत मेडिटेरानियन देशले पहिलोपटक अटोमोबाइल उत्पादन गरेको हो।
एएफपीका अनुसार रातो रंगको बटरफ्लाई डोरयुक्त उक्त कारको नाम ‘कुद्स राइज’ राखिएको छ। यो जेरुसालेमको अरेबिक नाम हो।
कार उत्पादन परियोजना भने लेबनानमा जन्मिएका प्यालेस्टिनी व्यवसायी जिहाद मोहम्मदको हो।
मोहम्मदले देशमै निर्माण भएको पहिलो अटोमोबाइल भएको बताए। दक्षिण बेरुतको पार्किङ लटमा कार अनावरण गरिएको थियो।
यसको निर्माण सुरुदेखि अन्त्यसम्म नै लेबनानमै भएको बताइएको छ।
यसको मूल्य ३० हजार अमेरिकी डलर छ भने उत्पादन १० हजार युनिटमाथि छ। यही वर्षको अन्त्यतिर लेबनानमै उत्पादन सुरु हुनेछ।
मोहम्मदको कम्पनीको नाम ईभी इलेक्ट्रा हो।
उनले चार वर्षअघि कम्पनीको स्थापना गरेका थिए। उनको कम्पनीमा लेबनानीलाई रोजगारी समेत मिलेको छ भने ३०० कर्मचारीमध्ये कतिपय प्यालेस्टिनी इन्जिनियर पनि छन्।
हाइब्रिड र विद्युतीय कारको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए।
लेबनानमा पनि बिक्री गर्ने लक्ष्य राखिएको कारको चार्जिङका लागि देशैभर १ सय चार्जिङ स्टेसन राखिनेछ।
Shares
प्रतिक्रिया