ad ad

अटो


नयाँ प्रोडक्टसँगै दसैँ अफरले उकास्यो चारपांग्रे गाडीको व्यापार

नयाँ प्रोडक्टसँगै दसैँ अफरले उकास्यो चारपांग्रे गाडीको व्यापार

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:६,

अटो व्यवसायीले दशैंमा चारपांग्रे सवारीको व्यापार राम्रो भएको बताएका छन्। कोभिड १९ को कारण चैतदेखि ठप्प रहेको चारपांग्रे गाडीको दसैँमा राम्रो भएको हो।

अटो व्यवसायीले नयाँ प्रोडक्टमा मानिसको चासो बढी भएको बताएका छन्। लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा मानिसमा गत वर्षको दसैँमा जस्तो उत्साह भने छैन।

व्यवसायीले गत वर्षको दसैँको तुलनामा कम व्यापार भए पनि कोभिड १९ को ६ महिनाको व्यापारमा उत्कृष्ट भएको बताए। गाडीका उपभोक्ताले हरेक वर्षको दसैँअघि हुने नाडा अटो शो तथा दसैँमा गाडी खरिद गर्ने गरेका थिए। वर्षभरिको गाडी व्यापार र नाडा, दसैँ, तिहारको व्यापार बराबर हुने गरेको व्यवसायी बताउँछन्।

कोभिड १९ का कारण यो वर्ष दसैँअघि नाडा अटो शो हुनसकेन। नाडा अटो मोबाइल एसोसिएसनले सन् २०२१ को सुरुमा भर्चुअल अटो शो भए पनि गर्ने भनी छलफल चलाएको छ। तर हुने नहुने टुंगो लागिसकेको छैन।

कोभिड १९ को संक्रमण फैलिने डरले सरकारले चैतमा लकडाउन गरे पनि व्यवस्थित गर्न नसक्दा रोक्न सकेन। व्यवसायीको दबाबमा असारपछि आंशिक खुल्ला गरे पनि आम्दानीको अनिश्चितताको कारण चारपांग्रे सवारीको व्यापार हुनसकेको थिएन। लकडाउन खुकुलो भएसँगै अटो व्यवसायीले ल्याएको स्किमले चारपांग्रेको माग नबढे पनि दुई पांग्रेको भने राम्रो व्यापार भएको व्यवसायीले बताएका थिए।

व्यवसायीले असार/साउनमा ल्याएको अफरमा ग्राहकले खासै चासो नदेखाए पनि दसैँको स्किममा भने राम्रै चासो देखाएका छन्।

कम्पनीहरुको नयाँ प्रोडक्टसँगै स्किमले बजारमा रौनक
अटो व्यवसायीले हरेक वर्ष नाडामा नयाँ गाडी ल्याउने तथा बुकिङ गर्ने गरेका थिए। कोभिड १९ का कारण यो वर्ष दसैँमा नयाँ गाडी आउने कि नआउने भन्ने अनिश्चित थियो। तर व्यवसायीले ठप्प रहेको अटो व्यापारलाई चलायमान बनाउन नयाँ प्रोडक्ट आवश्यक परेको बताउँछन्।

त्यसैले व्यवसायीले दसैँलाई लक्षित गरेर २०२० का नयाँ मोडल तथा अधिकांश कम्पनीले बीएस ६ इन्जिन गाडी ल्याएका छन्। हुन्डाईले क्रेटा नयाँ जेनेरेसन, ग्राण्ड आई१० निओस र आउरा सेडानका नयाँ गाडी भित्र्याएर बजारमा रौनक ल्याउन सुरु गरेको थियो।

hyundai creta sarbajanik

‘नयाँ क्रेटा, निओस र औराको राम्रो माग रहेको छ’, लक्ष्मी हुन्डाईका जेनरल म्यानेजर रुपेश शर्मा भट्टले भने, ‘कोभिड १९ले ठप्प पारेको अटो बजारलाई रक्तसञ्चार दिने काम गरेको छ।’

हुन्डाईले नयाँ गाडीसँगै राम्रो स्किम ल्याउँदा दसैँमा राम्रो व्यापार गर्न सफल भएको उनले बताए।

‘गत वर्षको दसैँमा जस्तो व्यापार छ भन्न त मिल्दैन तर दसैँमा भएको व्यापारले हामी पूर्ण सन्तुष्ट छौँ’, भट्टले भने।

अधिकांश चारपांग्रे व्यवसायीले आकर्षक अफर ल्याएका छन्। शून्य प्रतिशत ब्याजदर, भारी नगद छुट, २० देखि ३० प्रतिशतसम्म डाउनपेमेन्ट, ३÷४ वर्षको लागि निःशुल्क सेवा, बम्पर उपहार, कुपन क्र्यासलगायतका अफर सार्वजनिक गरेका छन्। यस्ता अफरले दसैँमा अटो बजार चलायमान बनाउन अझ सहज भएको व्यवसायी बताउँछन्।

TATA Altroz Delivery

नेपालमा अटो बजारमा ठूलो हिस्सा भएको सिप्रदी ट्रेडिङले कमर्सियल भेहिकलको व्यापार ठप्प रहे पनि प्यासेन्जर भेहिकलको व्यापार राम्रो भएको बताएको छ।

‘हामी नयाँ प्रोडक्टको रुपमा विश्वमै सुरक्षित टाटा अल्ट्रोजको प्रोडक्ट ल्याएका थियौँ’, सिप्रदीका रुपम श्रेष्ठले भने, ‘दसैँमा राम्रो व्यापार हुँदा सबै गाडी बिक्री भएका छन्। अर्को लट ल्याउँदै छौँ।’

उनले टाटाको अल्ट्रोजसँगै नेक्सनको पनि राम्रो व्यापार भएको बताए।

पछिल्लो समय गाडीका ग्राहक गाडीको स्किमभन्दा पनि ब्राण्डमा बढी ध्यान दिने गरेको व्यवसायी बताउँछन्। एकपटक गाडी किनेपछि अधिकांश ८÷१० वर्ष चढ्ने हुँदा ब्राण्डमा ध्यान दिनथालेका हुन्।

kiya sonet toi

‘अहिले गाडीका ग्राहक एकदमै ब्राण्ड केन्द्रित भएको देखिन्छ’, किया मोटर्सका एसिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने, ‘त्यसमा कियाका ब्राण्ड रोज्नेको संख्या राम्रो छ।’

उनले ग्रहाकले नयाँ गाडीसँगै ब्रण्ड रोज्दा कियाले राम्रो व्यापार गर्न सफल भएको बताए।

कियाले नयाँ प्रोडक्टको रुपमा सोनेट गाडीको बुकिङ खुल्ला गरेको छ। कियाको सेल्टोसको पनि बजारमा राम्रो माग भएको छ।

लामिछानेले किया सोनेट गाडी दसैँपछि नेपाल भित्रिने जानकारी दिए। ‘हाम्रो नयाँ प्रोडक्ट पनि आउँदै छ र पहिलाको प्रोडक्टको पनि राम्रो डिमान्ड हुँदा दसैँमा निराशा हुनुपरेन। गत वर्षजस्तो नभए पनि अहिलेको अवस्थामा राम्रो व्यापार हो’, लामिछानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .