ad ad

अटो


नेपालमा दुईपांग्रे विद्युतीय सवारीको माग र आयात उच्च, बजार तात्दा व्यवसायी खुसी

नेपालमा दुईपांग्रे विद्युतीय सवारीको माग र आयात उच्च, बजार तात्दा व्यवसायी खुसी

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ८:४७,

नेपालमा दुईपांग्रे विद्युतीय सवारीको माग वर्षेनी बढ्दै गएको छ। सहरी क्षेत्रको लागि उपयुक्त दुईपांग्रे विद्युतीय सवारीमा मानिसको रुचि बढ्दै गएको हो।

नेपालमा पछिल्लो समय विद्युतीय मोटरसाइकलको बिक्री हुनथाले पनि अधिकांश विद्युतीय स्कुटरको व्यापार हुँदै आएको छ। घरको सामान्य प्लगमा चार्ज गर्न सकिने र मर्मत खर्च पनि कम भएको विद्युतीय दुईपांग्रे साधन सहरी क्षेत्रको वातावरण स्वस्थ राख्न मद्दत गर्छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३१ विद्युतीय दुईपांग्रे आयात भएकोमा २०७४÷०७५मा बढेर ३ सय ४७ आयात भएको थियो।

विद्युतीय दुईपांग्रेको माग बढ्दै गएको भन्दै व्यवसायीले नयाँ ब्राण्ड थप्दै गए। २०७५/०७६ मा साढे ३ सयबाट बढेर २ हजार बढी आयात भए। गत वर्ष कोभिड १९ को कारण समग्र अटो आयात घटेकाले विद्युतीय दुईपांग्रेको आयात पनि घटेको छ। गत वर्ष जम्मा १३ सय ४९ दुईपांग्रे सवारी आयात भएका छन्।

नेपालमा विद्युतीय स्कुटर बिक्री गर्दै आएको टेरा मोटर्स नेपालले अहिले पनि विद्युतीय दुईपांग्रेको बजार राम्रो भएको बताएको छ।

टेरा मोटर्स नेपालका बिजनेस हेड श्याम सापकोटाले कोभिडको समयमा पनि दुईपांग्रे विद्युतीय सवारीको माग उच्च रहेको बताए।

‘लकडाउन खुकुलो भएपछि दुईपांग्रेको माग राम्रो छ’, सापकोटाले भने, ‘बिहीबारबाट फेरि लकडाउनले व्यापार ठप्प भएको छ।’

फेयर अटो लिमिटेडले टेरा मोटर्सका सवारी बिक्री गर्दै आएको छ। उक्त कम्पनीले नेपालमा विद्युतीय ३ पांग्रे रिक्सा समेत बेच्दै आएको छ।

‘दुईपांग्रे विद्युतीय सवारीको अवस्था राम्रो भए पनि लकडाउनको कारण ३ पांग्रे सवारीको बिक्री ह्वात्तै घटेको छ’, उनले भने।

उनले पछिल्लो समय दुईपांग्रे विद्युतीय सवारीको माग बढ्दै गएको भन्दै अहिले स्कुटर बिक्री गर्दै आएको कम्पनीले मोटरसाइकल समेत आयात गर्ने योजना बनाएको छ।

टेरा मोटर्सको इको मोडल नेपालमा राम्रो बिक्री भइरहेको बताएको छ।

त्यस्तै एक हप्ताअघि मात्रै योमा मा इ मोटर्सले नेपाली बजारमा जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी बिक्री सुरु गरेको छ।

कम्पनीले जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाई ४६ स्पोट्र्स मोटरसाइकल सार्वजनिक पनि गरेको छ भने टेल्जी ब्राण्डका लायन र टाइगर नामक दुई स्कुटर सार्वजनिक गरेको छ।

योमा मोटर्सले पनि दुईपांग्रे स्कुटरको माग अत्यधिक रहेको बताएको छ।

विद्युतीय दुईपांग्रेमा एनआईयूका विद्युतीय स्कुटर पनि पछिल्लो समय लोकप्रिय बन्दै गएका छन्। व्यवसायीले विद्युतीय दुईपांग्रे खरिद गर्दा पेट्रोल खर्च बच्ने, सर्भिस गरिरहनु नपर्ने, इन्जिन बिग्रिने डर समेत नहुँदा सहरी क्षेत्रको लागि दुई विद्युतीय दुईपांग्रे उपयुक्त भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .