नाडा प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालसंग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे विस्तृत छलफल गरेको छ।
नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा मंगलबार गएको १३ सदस्यीय प्रतिनिधिमण्डलले ट्राफिक प्रहरी प्रमुख ढकालसँग छलफल गरेको हो।
उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे। उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दे चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए।
सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्नु हुदै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताए। सोही क्रममा उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए। अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेख भूमिका निर्वाह गर्न आग्रह गर्र्दै सडकको अवस्था र राजधानीमाका पुल सक्दो चाँडो निर्माणगरी ट्राफिक व्यवस्था चुस्त बनाउन पनि अनुरोध गरे।
उक्त छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यज्यूहरुले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरु बारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गरे। छलफलको अन्तमा ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्थाका लागि आग्रह गरे। सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राखे।
उक्त छलफलपछि नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरे।
विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल प्रदान गर्दे आएको नाडाले जानकारी दिएको छ। नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५००० रुपैयाँ प्रदान गर्दै आएको छ ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया