दैलेखको ढुंगेश्वरबाट हामी अघि बढ्छौँ। बिहान ९ बजेदेखि जल यात्रा (¥याफ्टिङ) सुरु हुन्छ। जल यात्राका लागि हामीसँग ४ वटा डुंगा र ४ वटा कायक थिए। जंगलको बीच भागमा कर्णाली नदी र नदीसँगै हामी बगिरहेका छौँ। वरपर न घर, न बाटो। एकदमै निर्जन ठाउँ।
जोखिम मोलेरै हामी यो यात्रा गर्दैछौँ। केलाउँदै छौँ मानिसहरुले नदेखेका पाटाहरु। महसुस गर्दैर्छौँ कर्णालीको नलेखिएको कथा। फेरि पानी पनि त जाँच गर्नु छ हामीलाई।
घनघोर जंगलबीचमा कर्णाली ‘वाइल्ड एन्ड सिनिक’ छ। तर, नदी किनारमा देखिएका केही फोहरले मन खिन्न हुन्छ। फोहर बगाउँदै त्यहाँसम्म ल्याइपु¥याएको हुनुपर्छ सायद। हामी पनि ९ दिनको जल यात्राका क्रममा हरेक दिन नदी किनारमा क्याम्प बनाएर बस्छौँ। तर, हामीले उत्पादन गरेका फोहर आफैँसँग लिएर हिँड्छौँ। किनकि हामीलाई कर्णालीसँग प्रेम छ।
यात्रा जारी छ। मनमा डर पनि छ कतै डुंगा पल्टिने त होइन भन्ने।
तेस्रो दिन हामी बल्दे भन्ने ठाउँमा पुग्यौँ। माथिल्लो कर्णाली जलविद्युत परियोजनाको ३० मिटर टनेल खनिएको ठाउँ रहेछ त्यो। नदीभन्दा केही माथि गाउँ पनि रहेछ। हामी त्यता लाग्यौँ। परियोजना बनेपछि विस्थापित हुनेमध्येका एक रोशन बुढासँग कुरा पनि ग¥र्यौँ। उनको घरको अघिपट्टी जीएमआर (भारतीय निर्माण कम्पनी)को कार्यालय रहेछ। उनले आफूहरुलाई अव्यवस्थित पुर्नवास मान्ने नहुने बताए। उनले भने, ‘यहाँ हामी खेती गरेर बसेका छौँ। डाँडा, पानी नभएको ठाउँ वा अन्य अनपयुक्त ठाउँमा लगेर राखिदियो भने त हाम्रो बिजोग हुन्छ नि।’
त्यसदिन बल्देमा बसेपछि अर्कोदिन हाम्रो यात्रा पुनः अघि बढ्छ। अनकन्टार जंगलबीचको जल यात्रा रोमाञ्चक पनि उत्तिकै छ। यात्राका क्रममा भेटिने झरनाहरुले अझ मन आनन्दित तुल्याउँछन्। अनि भन्न मन लाग्छ– वा कर्णालीको सुन्दरता!
यात्राका क्रममा ‘भगवानको घर’ नामक एक ¥यापिड आयो। ¥यापिडमा पुग्नुअघि गाइडले कसरी जाने भनेर अध्ययन गरे। एक घण्टा छलफल गरेपछि अघि बढ्ने सहमति भयो। हाम्रो खाद्य सामान बोकेको एक सहयोगीसहितको डुंगा पल्टियो। सहयोगी भने हाम फाले। हामी के गर्ने, के नगर्ने भयौँ। गाइड कायक लगेर सहयोगका लागि गए। बल्लतल्ल उनको उद्धार गर्न सकियो। लाइफ ज्याकेट लगाएकाले उनी डुब्न पाएनन्। यो सब देख्दा मेरो मुटु काँपिरहेको थियो। यो दृश्य मैले क्यामेरामा कैद गरिरहेको थिएँ।
त्यसदिन हामी पश्चिम सेती र कर्णालीको मिलन बिन्दुमा बस्यौँ। सुर्खेत, अछाम र बाजुरा जिल्लाको सीमा रहेछ त्यो स्थान। सेतीबाट तातो पानी र कर्णालीबाट चिसो पानी बग्ने अचम्मको ठाउँ! यहाँ नेपालमा मात्र पाइने महाशेर माछा पाइँदो रहेछ। ठाउँ पनि निकै सुन्दर।
त्यो अष्टमीको दिन थियो। त्यहाँबाट नजिकैको गाउँमा पुगेर सानो खसी ल्यायौँ। कर्णाली र सेती दोभानमा अष्टमी मनायौँ।
अर्कोदिन त्यहाँबाट अघि बढ्दै हामी कैलालीमा बस्यौँ। अर्को दिन दशैँ थियो। नजिकैको गाउँबाट चामल र रंग मागेर ल्यायौँ। कर्णाली तिरमा रहेको फूलपाती टिप्यौँ। बिहानै मेघ आलेले सबैलाई टीका लगाइदिनु भयो। विदेशीले पनि दशैँ मनाए। कर्णाली नदीको तिरमा मनाइएको दशैँ मेरो जीवनकै अविष्मरणीय क्षण बनेर रह्यो। अलिअलि घरको याद, अलिअलि नयाँपन, मिठास अनि आनन्द। सबैको मिश्रणमा निधारमा टल्कियो रातो टीका। खिचियो फोटाहरु, स्मृतिका पानामा सधैभरी रहनेगरी।
टीका लगाएपछि हामी सुर्खेतको रेड रक क्यानोनमा पुग्यौँ। निकै सुन्दर थियो त्यो ठाउँ। विदेशमा यस्तो ठाउँमा फिल्मको सुटिङ हुनेगर्छ। यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने प्रसस्त सम्भावना मैले देखेँ। त्यहाँबाट हामी सुर्खेतको एक मगर गाउँ (जामुने) गयौँ। राति त्यहाँ एक बृद्धले हामीलाई दशैंको टीका लगाइदिए। राति त्यतै बस्यौँ।
अर्को दिन हाम्रो यात्रा घाटगाउँको राजी बस्तीतर्फ अघि बढ्यो। राजीहरु पहिले माछा मारेर आफ्नो जीविका चलाउँदा रहेछन्। अहिले भने उनीहरुको पेशा संकटमा रहेछ। जसले पनि माछा मार्न थालेपछि उनीहरु खेतीपाती, कुखरा पालन र वैदेशिक रोजगारीमा आकर्षित भएका रहेछन्।
त्यहाँबाट भोलिपल्ट भेरी नदी किनारमा पुग्यौँ। त्यहाँ (भेरी र कर्णालीको) दोभानमा माछा मार्नेहरुको भिड हुँदोरहेछ। भेरीबाट तातो पानी आउने भएकाले माछा धेरै पर्ने रहेछ। स्थानीयले बताएअनुसार त्यहाँ रातभरी रक्सी पिउँदै मानिसहरु माछा मार्दा रहेछन्।
अघि बढ्दै जाँदा चुरे पर्वतलाई कर्णालीले कटान गरेर कलात्मक संरचना बनाएको रहेछ। चुरे पर्वतमा बनेको संरचनाले निकै लोभ्यायो।
हामी चिसापानी पुग्यौँ। निकै हावा चल्दो रहेछ। त्यहाँ कर्णाली नदी किनारमा फोहरहरु देखिन थाले। कर्णाली वरिपरि खेतियोग्य जमिन देखिन थाल्यो। बस्तीहरु देखिन थाले।
त्यहाँबाट कर्णाली नदी दुई भंगालो हुन्छ। एउटा गेरुवा बनेर बर्दिया राष्ट्रिय निकुञ्जमा जान्छ। अर्को मुख्य कर्णाली भइहाल्यो। भंगालको बीचमा टापु रहेछ। जहाँ सोना समुदायको बस्ती छ। गेरुवा गाउँपालिकाको ४ वटा वडामा ९२ परिवार सोनाह बस्दा रहेछन्। उनीहरुको जिविका बालुवामा सुन खोजेर चल्दो रहेछ।
हामी उनीहरुको जीवनशैली नियाल्न एकछिन टापुतिर लाग्यौँ। हामीले उनीहरुको गतिविधि नियाल्यौँ। हेर्दाहेर्दै एक महिलाले सुन निकालिन्। तर, उनको मेहनत कम भने थिएन। त्यहाँ धेरैजसोले दैनिक हजार रुपैयाँ बराबरको सुन निकाल्दा रहेछन्।
क्रमशः
प्रतिक्रिया