ad ad

सुदूरपश्चिम


मुख्यमन्त्रीका दाबेदार थापा बने अर्थमन्त्री, सुरुमै ‘बजेट होलिडे’को चुनौती

संविधान सभा सदस्यदेखि प्रदेश मन्त्रीसम्म
मुख्यमन्त्रीका दाबेदार थापा बने अर्थमन्त्री, सुरुमै ‘बजेट होलिडे’को चुनौती

गोकुल जोशी
साउन २२, २०८१ मंगलबार १२:१६, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मुख्यमन्त्री पदका लागि सो पार्टीभित्र निकै हानथाप चल्यो।

प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहसहित कांग्रेसबाट ४ जना मुख्यमन्त्री पद हत्याउन तीव्र ‘लबिङ’मा थिए।

तीमध्येकै एक हुन्- कञ्चनपुरबाट निर्वाचित प्रदेश सांसद बहादुरसिंह थापा।

अन्तिममा दल नेता शाहलाई नै देउवाले मुख्यमन्त्री बनाउन निर्देश दिए। 

जसबाट देउवाका भतिजा प्रकाश देउवा, सांसदद्वय दिवानसिंह विष्ट र थापाको मुख्यमन्त्री बन्ने सपनामा तुषारापात भयो।

तर मुख्यमन्त्रीकै एक आकांक्षी थापा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्।

उनले सोमबार पद तथा गोपनीयताको शपथ खाएका छन्।

नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त शाहले सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिइसकेका छन्।

सुदूरपश्चिम प्रदेशको अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका थापालाई बजेट ‘होली डे’ (सरकारले खर्च गर्न नपाउने अवस्था) समाधान गर्नुपर्ने चुनौती छ। राजनीतिक दाउपेचले सुदूरपश्चिम प्रदेश बजेट ‘होली डे’मा फसेको छ। 

असार १ मा प्रस्तुत बजेट पास नहुँदा यसअघिका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेशबाट बजेट ल्याउन एक महिना अल्पमतकै सरकार चलाए। बजेट शून्यताले प्रदेशमा दैनिक लाखौँ राजस्व संकलन हुन सकेको छैन भने आर्थिक कारोबार ठप्प छ। 

के भन्छन् मुख्यमन्त्री ?
दोस्रोपटक सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्न पुगेका शाहको पनि प्रमुख चुनौतीका रूपमा बजेट शून्यता अन्त्य गर्नु हो।

मुख्यमन्त्री शाहले बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने दाबी गरेका छन्।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले बजेट शून्यताको अवस्था छिट्टै अन्त्य गरेर एक/दुई दिनमै राजस्व संकलन र दैनिक खर्चको निकासा दिने बताएका हुन्।

‘गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ। विगतमा मन्त्री को हुन्छ भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो,’ शाहले भने, ‘तर योपटक सबै मन्त्रीज्यूलाई एकैपटक शपथग्रहण गराएका छौँ। हामी सचिवज्यूहरूसँग बसेर राजस्व र दैनिक खर्चको निकास एक/दुई दिनमै दिन्छौँ।’

शाहले राजस्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माण प्रक्रिया अघि बढाइने बताएका छन्।

संविधानसभा सदस्यदेखि मन्त्रीसम्म
सुदूरपश्चिममा नेपाली कांग्रेसको पाका नेतामा गनिन्छन्- बहादुरसिंह थापा। उनी २०१६ चैत १ गते बैतडीको दशरथ चन्द नगरपालिका-८ मा जन्मिएका हुन्।

वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनका क्रममा २०३० सालदेखि नै उनी राजनीतिमा लागे। 

भारतको पिथौरागढमा उच्च शिक्षा अध्ययन गर्दा उनी अखिल नेपाल विद्यार्थी संघ प्रवासको अध्यक्ष बने। उच्च शिक्षा अध्ययनपश्चात् २०४० सालमा थापा कञ्चनपुर झरेका थिए। 

त्यसपछि उनले यहीँबाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाए। उनीभन्दा सिनियर नेताहरू जेल परेकाले उनले ०४६ को आन्दोलनको नेतृत्व गरे।

आन्दोलन सफल भएपछि बहुदल स्थापनापछि गाउँ गाउँमा संगठन विस्तार हुन थाले। जतिबेला वडामा गठित नागरिक सुरक्षा समितिका संयोजक बने। 

०४७ सालतिर पार्टीको संरचना विस्तार भएपछि उनी तत्कालीन कञ्चनपुर क्षेत्र नं. २ को कांग्रेसको क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित भए। ०५७ सम्म दुई कार्यकाल कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारी पनि सम्हाले।

त्यसपछि ०५७ मा उनी पहिलोपटक नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा निर्विरोध चयन भए। यसपछि उनले ०७२ सालसम्म तीन कार्यकाल कांग्रेस कञ्चनपुर हाँके। 

०६४ को पहिलो संविधान सभा चुनावमा साविक क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गरेका उनी माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टसँग हारे। ०७० को दोस्रो संविधानसभामा भने थापा विजयी भए।

त्यसपछि ०७४ सालमा कञ्चनपुरमा तीनवटा निर्वाचन क्षेत्र मात्रै कायम रहँदा उनले प्रदेशमा प्रतिस्पर्धा गरे। कञ्चनपुर क्षेत्र नं. २ (२) मा उनी एमालेका लालबहादुर खड्कासँग हारे। 

आमनिर्वाचन २०७९ मा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका थापा प्रदेश सांसदमा निर्वाचित भए। सरल र मिजासिलो स्वभावका ६५ वर्षीय थापा अविवाहित हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .