ad ad

सुदूरपश्चिम


बाघको आक्रमणमा मारिएकी आमा खोजिरहेका दुई वर्षे बालक

बुवाको बरखी सकेर मजदुरी गर्न हिमाचलमा छन् श्रीमान्
बाघको आक्रमणमा मारिएकी आमा खोजिरहेका दुई वर्षे बालक

गोकुल जोशी
साउन १७, २०८१ बिहिबार २२:९, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काट्न गइन्। छिमेकी महिला पनि आ–आफ्नै धान खेती गरेको गह्रामा घाँस उखेलेर गोडमेल गर्दै थिए।

हीराकी जेठानी मीना करिब सय मिटर दूरीमा थिइन्। नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। खेतमा घाँस काटिरहेकी हीरालाई उखुबारीबाट आएको बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। बाघले करिब ५० मिटर घिसारेको छ।

हिराको कपाल लुछिएको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो।

स्थानीय राधिका पुजाराले बिहीबार बिहान खेतमा काम गर्ने बेला उखुबारी नजिक बाघ देखेकी थिइन्। त्यसपछि उनी भागेर भर फर्किइन्।

‘हिजो बाघ देखिएको भनेर थाहा थियो। बिहान सबैलाई खेततिर देखेँ। बेलुका टोली आए पनि बाघको बारेमा के भयो भनेर कसैलाई खबर भएन,’ मृतक हिराकी जेठानी मिनाले नेपालखबरसँग भनिन्, ‘सबै खेतमा देखेका हामी पनि गएका थियौँ। यस्तो घटना भयो।’

हीरा र मीना देउरानी जेठानी सँगै बस्छन्। कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई वर्षे दुधे बालक आमा खोजेर रोइरहेका छन्।परिवार उनलाई आमाको दुःखान्त बताउने अवस्थामा छैन।

जेठानी मीनाले अबोध बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास गरिरहेकी छन्। मृतक हीराका माइती बर्दियाबाट बिहीबार बेलुका पुगेका छन्।

हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन्। पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन्।

गोविन्द वैशाखमा बुवाको बरखी गरेर मजदुरी गर्न भारत गएका थिए। मृतक हीराकी जेठानी मीनाका श्रीमान् रोजगारीको सिलसिलामा मलेसियामा छन्।

गोविन्दकी आमा ७ वर्षअघि बितेकी थिइन्। बुवाको बरखी सकेर मजदुरी गर्न भारत गएका गोविन्दले पत्नीवियोगको वज्रपात व्यवहोर्नु परेको छ।

उनको परिवार २०५० सालमा दार्चुलाको गोकुलेश्वरबाट दोधारा चाँदनी झरेको थियो।

बाघको आक्रमणबाट मान्छे मृत्युको घटनाले दोधारा चाँदनी शोकमा मात्रै डुबेको छैन, त्रासमा पनि छ।

हीरालाई आक्रमणपछि उखुबारीमा लुकेको बाघलाई नियन्त्रणमा लिन सकिएको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन हुँदा पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो।

घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता कहिले उता मुभमेन्ट गरिरहेकोले नियन्त्रणमा लिन गाह्रो भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीरबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए। बाघलाई नियन्त्रणमा लिन ४ घण्टा प्रयास गर्दा पनि सफल हुन सकेको छैन।

डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने गरिन्छ। अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका छन्। उखुबारीलाई सुरक्षाकर्मीले सेतो कपडाले घेरेका छन्।

नियन्त्रणमा नआएको बाघलाई हात्ती सहितको सुरक्षाकर्मीको टोलीले पहरा दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .