ad ad

सुदूरपश्चिम


बाघ खोज्न ड्रोन उडाउँदै थियो निकुञ्जको टोली, हीरालाई घिसार्दै उखुबारीमा पस्यो

बाघ खोज्न ड्रोन उडाउँदै थियो निकुञ्जको टोली, हीरालाई घिसार्दै उखुबारीमा पस्यो

बाघ खोज्न ल्याइएको हात्ती र मृतक हिरा


गोकुल जोशी
साउन १७, २०८१ बिहिबार १६:१९, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा केही दिनयता बाघ देखापरेको थियो। बुधबार बेलुका घाँस काट्ने महिलाले उखुबारीमा बाघ देखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे।

त्यसलगत्तै बेलुका ६ बजे पुगेको निकुञ्जको टोलीले बाघको खोजी गर्‍यो तर भेटिएन। अर्को दिन बिहीबार बिहान निकुञ्जका पशु चिकित्सक आभाष श्रेष्ठसहितको टोली त्यही क्षेत्रमा पुगेको थियो।

उनीहरूले बाघ खोज्न ड्रोन पनि साथमै ल्याएका थिए। बाघलाई नियन्त्रणमा लिन ठाउँ पहिल्याउँदै थिए।

‘बाघ देखापरेको सूचनापछि हामी बिहान प्रत्यक्षदर्शीलाई लिएर एरिया हेर्दै थियौँ। बस्तीनजिकै भएकाले कसरी बाघलाई नियन्त्रणमा लिन सकिन्छ भनेर विश्लेषण गर्दैथियौँ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘बाघ हेर्न ड्रोन उठाउने तयारी गर्दै गर्दा अर्कोपट्टिबाट होहल्ला आयो। त्यहाँ गएर हेर्दा मान्छेलाई लगेको रहेछ।’

स्थानीयका अनुसार धान खेतनजिकै उखुबारी छ। बिहान केही महिला खेतको घाँस उखेलेर धान गोड्दै थिए। त्यसैबेला उखुबारीबाट आएको बाघले दोधारा चाँदनी नगरपालिका–२, कमलशा टोलकी २६ वर्षीया हीरा शाहलाई आक्रमण गर्‍यो। उनलाई घिसार्दै उखुबारीतर्फ लगेको थियो।

सीमावर्ती भारतीय क्षेत्रबाट बाघ आएको हुन सक्ने अनुमान छ। सुख्खा बन्दरगाह निर्माणस्थल पर भारततर्फ केही दिन पहिले बाघले गोरुको सिकार गरेको स्थानीयहरू बताउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाघको त्यस क्षेत्रमा ‘मुभमेन्ट’ कम रहेको संरक्षण अधिकृत ऐरको भनाइ छ।

‘महाकाली तरेर जानुपर्छ। मायापुरी सामुदायिक वनबाट जाँदा बस्ती खेती छिचोल्नुपर्छ,’ उनले भने, ‘यो बाघ उखुबारीमा बस्न बानी परेको देखिन्छ।’

उखुबारीमा बस्ने स्वभावको बाघ भारतको पिलिभित टाइगर रिजर्भमा पाइने गरेको उनको भनाइ छ। हीराको ज्यान लिने हिंस्रक बाघ खोज्न अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती घटनास्थलमा परिचालन गरिएको छ।

आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। नजिकै बस्ती रहेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने प्राविधिक टोली आउँदै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .