ad ad

सुदूरपश्चिम


मुख्यमन्त्री बन्न देउवाको ‘ग्रिन सिग्नल’ कुर्दै यी कांग्रेस नेता

दोहोरिने दाउमा कमल शाह, प्रकाश देउवा पनि सशक्त दाबेदार
मुख्यमन्त्री बन्न देउवाको ‘ग्रिन सिग्नल’ कुर्दै यी कांग्रेस नेता

बायाँबाट क्रमश: बहादुरसिंह थापा, दिवान विष्ट, कमल बहादुर शाह र प्रकाश देउवा


गोकुल जोशी
साउन १७, २०८१ बिहिबार ११:१, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले आगामी शुक्रबारपछि पाँचौँ मुख्यमन्त्री पाउँदै छ।  प्रदेश सभाको दोस्रो कार्यकालको दुई वर्ष पूरा नहुँदै चौथोपटक प्रदेश सरकार परिवर्तन हुन लागेको हो। 

असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ।

संवैधानिक व्यवस्थाअनुसार सोडारी नेतृत्वको प्रदेश सरकारको आयु यही साउन १८ सम्म हो। बहुमत जुटाउने स्पष्ट आधार नहुँदा पनि प्रदेश सरकारलाई बजेट ‘होली डे’मा राखेर सोडारीले सत्ता लम्ब्याएका छन्।

शुक्रबार बस्ने प्रदेश सभा बैठकमा सोडारीले विश्वासको मत लिँदै छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएपछि सोडारीको सत्ता बर्हिगमन निश्चित छ।

योसँगै सुदूरपश्चिममा नयाँ मुख्यमन्त्री विषयमा चर्चा सुरु भएको छ। कांग्रेस र एमालेबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भइसकेको छ।

नेपाली कांग्रेसभित्र मुख्यमन्त्री बन्न आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्। मुख्यमन्त्री र मन्त्रीका आकांक्षी शक्ति केन्द्र रिझाउन राजधानी काठमाडौँ केन्द्रित भएका छन्।

हाल संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, कांग्रेसका पाका नेताद्वय बहादुरसिंह थापा र दिवानसिंह विष्ट केन्द्रमा मुख्यमन्त्रीका लागि तीव्र लबिङमा छन्। उनीहरू केही दिनयता काठमाडौँमै छन्।

संसदीय दलका नेता रहेका शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने दाउमा छन्। कांग्रेस सभापति देउवाले शाहलाई दल नेता हुँदै मुख्यमन्त्री बनाए। शाह कांग्रेसभित्र प्रकाशमान सिंह समूहनजिक मानिन्थे।

कांग्रेस महाधिवेशनमा उनी शेखर समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए। कैलाली जिल्ला अधिवेशनमा आरजु राणा देउवा निकटका उम्मेदवार नारायणदत्त भट्ट शाहकै समर्थनमा दोस्रो चरणमा सभापति भए।

हाल भट्ट राष्ट्रिय सभा सदस्य छन्। भट्टलाई समर्थन गरेयता शाह देउवानिकट भएका हुन्। देउवाले प्रदेश सभामा चुनाव जिते दल नेता बनाउने आश्वासन दिएका थिए।

कैलाली क्षेत्र नम्बर २(१) बाट प्रदेश सांसद निर्वाचित शाह दल नेता हुँदै मुख्यमन्त्री बने। फेरि उनै शाह दोहोरिने दाउमा लागेका हुन्। 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका अर्का सशक्त दाबेदार हुन्- प्रकाश देउवा। प्रकाश कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन्। त्यसैले उनलाई सम्भावित मुख्यमन्त्रीका रूपमा हेरिएको छ।

कैलाली क्षेत्र नम्बर ५(२) बाट विजयी प्रकाश प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री पनि बनेका थिए। त्यस बखत राम्रो काम गरेको दाबीसहित उनी एकपटक प्रदेशको नेतृत्व गर्न कस्सिएका हुन्। 

यसअघि आम निर्वाचनपछि उनले कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा दाबी गरेका थिए।

संविधानसभा सदस्य बहादुरसिंह थापा पनि मुख्यमन्त्रीको दौडमा छन्। उनी कञ्चनपुर क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सांसद हुन्। थापा कांग्रेसको संस्थापन पक्षकै केन्द्रीय सदस्य एनपी साउदनिकट मानिन्छन्।

साउदले सन्तुलन मिलाउन भन्दै थापालाई मुख्यमन्त्री बनाउनुपर्ने लबिङ तीव्र पारेका छन्। 

कञ्चनपुर क्षेत्र नम्बर १(२) बाट निर्वाचित दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीका अर्का दाबेदार हुन्। 

संविधान सभा सदस्यसमेत रहेका उनी शेखर कोइराला समूहका हुन्। तर सुदूरपश्चिममा कोइराला समूहको उपस्थिति कम मानिन्छ।

कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र १ उनले तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार माओवादीकी बिना मगरका लागि छाडेका थिए।

देउवाले मुख्यमन्त्रीको आश्वासन दिएकाले आफू प्रदेशमा झरेको विष्टले बताउने गरेका छन्।

यसबाहेक बैतडीबाट निर्वाचित पूर्वमन्त्री शिवराज भट्ट, अछामका मेघराज खड्का र दार्चुलाबाट निर्वाचित संसदीय दलका प्रमुख सचेतक विक्रम धामी पनि मुख्यमन्त्रीको लबिङ गर्न काठमाडौँ पुगेका छन्।

मुख्यमन्त्रीका आकांक्षीले शक्ति केन्द्रमा दौडधूप बढाए पनि कांग्रेस सभापति देउवाले अहिलेसम्म कसैलाई ‘ग्रिन सिग्नल’ दिएका छैनन्।

‘शेरबहादुर दाइले अहिलेसम्म मुख खोल्नुभएको छैन। उहाँले जसलाई चाह्यो, त्यही मुख्यमन्त्री बन्छ,’ मुख्यमन्त्रीको दौडमा रहेका एक सांसदले नेपालखबरसँग भने, ‘छलफल चलिरहेकै छ। एक/दुई दिनमा टुंगो लाग्छ।’

नेपाली कांग्रेसले शुक्रबार बिहान ११ बजे संसदीय दलको बैठक राख्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .