ad ad

सुदूरपश्चिम


तीन सातादेखि विद्यालयमा आश्रित बाढीपीडितले भने: सुरक्षित बासको व्यवस्था गरिदिनुपर्‍यो

खेत बन्यो बगर, घर फर्कन सकेनन् २७ परिवार
तीन सातादेखि विद्यालयमा आश्रित बाढीपीडितले भने: सुरक्षित बासको व्यवस्था गरिदिनुपर्‍यो

बाढीले क्षति पुर्‍याएका स्थान निरीक्षण गर्दै सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको टोली।


गोकुल जोशी
साउन ११, २०८१ शुक्रबार ८:४०, कञ्चनपुर

असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनारको वास उठ्यो।घर भताभुङ्ग भयो। भित्रका अन्नपात, लत्ताकपडा सबै बगायो।

त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभूत विद्यालय बनेको छ। तीन साता बित्नै लाग्दा पनि उनी बस्तीमा फर्किन सकेकी छैनन्।

‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौँ। घर बस्नै नमिल्ने बनेको छ। होचो भूभाग हुँदा अझै पानी जमेकै छ। बल्ल बल्ल ज्यान जोगाए पनि घरभित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलसमक्ष गुनासो गर्दै भनिन्।

नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका रावल बिहीबार टोलीसहित बाढीले क्षति पुर्‍याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाउँको स्थलगत निरीक्षणमा पुगेका हुन्। 

टोलीमा सुदूरपश्चिमका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुसहित जनप्रतिनिधि सहभागी थिए।

बाढी र डुबानले विस्थापित केही नागरिक घर फर्के पनि पटराखल्लाका २७ परिवारको बास अहिले पनि विद्यालयमै छ।

उनीहरू जमुना आधारभूत विद्यालयको कोठामा रात बिताइरहेका छन्।

विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकासहित एक सय ५ जना बाढीपीडितले आश्रय लिइरहेको दोधारा चाँदनी–३ अध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए। 

विद्यालयमा पढाइ सुरु भइसकेकाले त्यहाँ बस्न पनि समस्या भएको स्थानीय मंगल सुनारले गुनासो गरे। 

‘सुरक्षित आवासको व्यवस्था गरिदिनुपर्‍यो। अहिले विद्यालयमा बसिरहेका छौँ। हल्का वर्षा हुँदा पनि बस्ती डुबानमा पर्छ,’ उनले भने, ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ।’

दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटराखल्लाका बाढीपीडितको अस्थायी बसोबासको व्यवस्थापन गरिँदै छ। वर्षात् नसकिञ्जेल बस्तीनजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए।

पटराखल्ला बस्तीवासीले झेलिरहेको बाढी/डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध बनाउन पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए।

बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीईओ अनिल पोखरेललाई टेलिफोन गरेर पक्की तटबन्ध बनाइदिन निर्देशन दिएका छन्।

‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकरात्मक हुनुहुन्छ। बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घच्घच्याउँछौँ,’ रावलले भने, ‘पीडामा तपाईंहरूको साथमा छौँ। राहतका लागि पहल गर्छौं।’

दोधारा चाँदनी-१० को १८ पिल्लर बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ। तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार जोखिममा छन्।

बिना बर्दिका सैनिकझैँ सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो। जोगबूढा नदीले गरिरहेको कटान रोक्न नगरपालिकाले अस्थायी तटबन्ध बनाइरहेको छ। 

जोगबूढामा पक्की तटबन्ध नहुँदा दोधारा चाँदनी नगरपालिका-८ को सुन्दरनगर बस्तीमा नदी पसेको हो। खेत बगरमा परिणत भएको छ।

बाढीले कतिपय घरमा समेत क्षति पुर्‍याएका कारण स्थानीय विस्थापित भएको वडाध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .