कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का चन्द्रबहादुर विष्ट आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किन्छन्। बेलुकासम्म उनी घर फर्किएनन्।
विष्टसँग परिवारको फोन सम्पर्क हुन सक्दैन। उनले बोक्ने मोबाइल ‘स्विच अफ’ हुँदा चिन्ता बढ्छ।
अर्को दिन सोमबार घरनजिकैको पसलमा चन्द्रबारे परिवारले सोधीखोजी गर्छन्। त्यहाँका पसलेले १२ बजेपछि चन्द्रसँग आफ्नो भेट नभएको बताएका थिए।
परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिए। चन्द्रको हुलिया सार्वजनिक गरियो। भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरियो। घरनजिकै भएर बग्ने महाकाली सिँचाइको नहर चहारियो।
तर चन्द्रको पत्तो लागेन। मंगलबार बिहानै उनै चन्द्र भीमदत्त नगरपालिका-४, स्थित महाकाली सिँचाइको मूल नहरस्थित काली पुलमा अड्किएको अवस्थामा भेटिए।
साताअघि मात्र भारतबाट आएका थिए
पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए। उनी आफन्तको बिहेका लागि घर आएका हुन्।
त्यसअघि चन्द्र मलेसियामा काम गर्थे। ‘बिहे सकेपछि कामका लागि फेरि भारत जान्छु भन्थ्यो’, चन्द्रका काका अमरबहादुर विष्टले नेपालखबरसँग भने, ‘आज यस्तो घटना भयो।’
नेपाल आर्मीमा कार्यरत मृतक चन्द्रकी श्रीमती मुना विष्ट हाल शान्ति सेनामा सुडानमा छिन्। उनीहरूकी २ वर्षीया छोरी छन्।
हत्या आशंका, सोधपुछमा तानिए दुई जना
पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
चन्द्रको शव भेटिएको स्थाननजिकै जोशीको किराना पसल र कस्मेटिक पसल छ। त्यसको पछाडि होटलजस्तै बस्न मिल्ने ससाना कोठा बनाइएका छन्।
स्थानीयका अनुसार ती कोठामा लागुऔषध तथा जाँडरक्सी खुवाइन्थ्यो। त्यहाँ बियर र रक्सीका बोतल पनि फेला परेका छन्।
एक आफन्तका अनुसार लागुऔषध खान प्रयोग गरिने पेपर पनि त्यहाँ भेटिएको छ। रक्सी सेवन गर्ने चन्द्र त्यहीँ पसलमा जाने गरेको ती आफन्तको भनाइ छ।
त्यहाँ कोठाको ढोकामाथि सिलिङमा रगतले औँलाको छाप बनेको छ। पर्खालका लागि गाडिएको खम्बामा पनि रगत छ।
‘पसलेले कहिले १२ बजेसम्म देखेको कहिले ३ बजे देखेको भनेका छन्। हामीले हिजो कोठा खोलेर देखाउनुभन्दा पनि देखाएनन्’, मृतकका काका अमरबहादुरले भने, ‘पसल पछाडि रगत पनि छ। घटना शंकास्पद देखिन्छ।’
चन्द्रले बेपत्ता भएको दिन आइतबार बैंकबाट पैसा पनि निकालेको आफन्तले बताएका छन्। आइतबार बिहान नहरमा भेटिएको शव सशस्त्र प्रहरीको गोदाखोर टिमले निकालेको छ।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
Shares
प्रतिक्रिया