इजरायलमा हमास समूहको आतंकवादी हमलामा १० नेपाली विद्यार्थी मारिएको एक साता बितेको छ। दसैँको मुखमा नेपालीलाई यो घटनाले शोकमग्न बनायो।
इजरायलमा फसेकामध्ये २ सय ५४ जनाको उद्धार गरेर सरकारले घर फिर्ती गराएको छ। साथी मारिएको पीडा र त्रासदीबाट ज्यान जोगाएर स्वदेशमा पाइला टेक्नुलाई उनीहरुले अर्को जीवन पाएको मानेका छन्।
साथी गुमाएको पीडाले गुम्सिएका उनीहरूले परिवारसँग भेट गर्न पाएका छन् भने द्वन्द्वको त्रासदीबाट मुक्त भएका छन्।
इजरायलको रणभूमिमा बैरीको बन्दुकले ढलेका नौजवान नेपाली सन्तानका परिवारमा पीडा छ। घटना भएको एक साता बितिसक्दा शव नपाउँदा झनै पीडा थपिएको छ।
यत्रतत्र दसैँको हर्षोल्लास छाइरहेका बेला उनीहरुको घरमा शोक छ। उनीहरु अन्तिम संस्कारका लागि शवको पर्खाइमा छन्।
‘बच्चालाई जीवित त पाउन सकेनौँ, अब अन्तिम संस्कार गर्न पाए हुन्थ्यो,’ ७४ वर्षीय घनश्याम विष्टले भने, ‘शव ल्याउन ढिलाइ हुँदा झनै समस्या भएको छ, अन्तिम संस्कार नगरी काजक्रिया गर्नुहुँदैन, केही गर्न पाएका छैनौँ।’
उनी इजरायलयमा मारिएका दीपेशराज विष्टका हजुरबुवा हुन्। दार्चुलाको लेकम गाउँपालिका– ५ रिठाचौपाताका उनी अहिले भीमदत्त नगरपालिका–१५ निम्बुखेडा आएका छन्।
निम्बुखेडामा दीपेशका काका पुष्पराजको घर छ। घटनापछि दीपेशकी आमा पार्वती, हजुरआमा ईश्वरीलगायत पहाडबाट निम्बुखेडा आएका थिए।
धरानमा एमबीबीएस अध्ययन गर्ने भाइ वसन्त पनि घर फर्किएका छन्। दीपेशको दुःखद खबरपछि हजुरआमा ईश्वरी र आमा पार्वती सम्हालिन सकेका छैनन्।
दीपेशको दुखान्तले उनीहरुका आँखा ओभाएका छैनन्। उनीहरू बोल्न सक्दैनन्। अचेत जस्तै छन्। शवको पर्खाइमा पीडा गुम्साएर बसेका छन्, उनीहरू।
बझाङको जयपृथ्वी नगरपालिका–११ डाँडागाउँका गणेश कुमार नेपालीले पनि इजरायलमा ज्यान गुमाए। भदौ २५ मा इजरायल उडेका छोरा विदेशमा मारिएको खबरले नेपालीको परिवार शोकमा छ।
‘छोराको लाशै भएपनि छिटो हेर्न पाए हुन्थ्यो, हामीले भोग्नुपर्ने दुःख त भोगिसक्यौं,’ ६० वर्षीय बुवा धनलाल भन्छन्, ‘पीडा भुल्दै जाने समयसम्म शव नपाउँदा पीडामाथि पीडा थपिएको छ।’
सास हेर्न नपाएपनि अन्तिम पटक लाश हेरेर स्वदेशमै अन्तिम संस्कार गर्न लाश कुरेर बसेका छन्, पीडित परिवार।
भूकम्पले घर चर्काएको पीडामा रहेका धनलालको परिवारमा छोराको निधनले अर्को ब्रजपात थपेको छ।
गणेशको परिवारमा दाइ, बुवा, आमा, भाउजू र भाइ छन्। बुवा धनलाल सिलाइको काम गर्छन्। ऋणदान गरेर पढाएको बुढेसकालको सहारा छोरा विदेशमा मारिएपछि धनलाल सम्हालिन सकेका छैनन्।
गणेशको परिवारले शव घर ल्याइदिन सरकारसँग आग्रह गरेका छन्।
‘सास त पाएनौँ, सरकारले लास घरसम्म ल्याइदिए हुन्थ्यो, गाउँमै सम्मान साथ दाहसंस्कार गर्थ्यौँ,’ गणेशका दाइ विकासले भने, ‘लासै भएपनि अन्तिमपटक अनुहार हेर्न पाए हुन्थ्यो।’
गत भदौ अन्तिम साता सिक्दै कमाउन इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका १० जना विद्यार्थी आतंकवादी आक्रमणमा मारिएका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशी अझै बेपत्ता छन्।
भूकम्पले घर चर्कायो, इजरायलमा छोरा मारिए
Shares
प्रतिक्रिया