बाजुराको बुढीगंगा नगरपालिका–८ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचनको विषयमा दुई पक्षबीच झडप भएको हो।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले पदको दुरुपयोग गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरु झडपमा उत्रिएका एक नेताले जानकारी दिए। कांग्रेसका ती नेताले नगर प्रमुख बानियाँ घाइते भएका पनि बताए।
‘स्थानीय तह निर्वाचनमा हामीले जितेको वडा हो। मेयरले पदको दुरुपयोग गरेपछि कुटपिट नै भएको खबर पाएका छौं,’ उनले नेपालखबरसँग भने।
दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।
बाजुराका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले हवाई फायर भएको पुष्टि गरेका छन्। उनले दुई पक्षबीच झडप भएपछि मतदान कार्य स्थगित भएको पनि बताए।
Shares
प्रतिक्रिया