ad ad

सुदूरपश्चिम


धनगढी उपमहानगरका मेयर र उपमेयरबीच भनाभन, नगर सभामा कुर्सी तोडफोड

धनगढी उपमहानगरका मेयर र उपमेयरबीच भनाभन, नगर सभामा कुर्सी तोडफोड

गोकुल जोशी
असार २०, २०७९ सोमबार १५:५२, कञ्चनपुर

कैलालीको धनगढी उपमहानगरपालिकाको सोमबार बसेको नगर सभा बैठकमा विवाद भएको छ। 

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र उपमेयर कन्दकला कुमारी रानाबीच बजेटका विषयमा बैठकमा भनाभन भएपछि विवाद सिर्जना भएको हो।

८ औँ नगर सभाको तेस्रो बैठक धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सुरु गरे। 

त्यसपछि बैठकमा मेयर हमालले एजेण्डा प्रस्तुत गर्दै उपमहानगरले तिर्नु पर्ने दायित्वले गर्दा यस पटक बजेट घटाउन परेको जानकारी सभालाई गराएका थिए। 

नगर सभामा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाले बजेट, योजना तर्जुमा र नीति निर्माणमा आफूलाई बेवास्ता गरिएको गुनासो गरिन्। संविधानले प्रदान गरेको बजेट निर्माणको अधिकार खोसिएको भन्दै उपमेयर रानालले प्रश्न पनि उठाइन्। 

‘कस्को अधिकार के हो स्पष्ट छ, तर काम गर्दा कुनै सरसल्लाह भएन, बजेट तर्जुमा समितको संयोजक उपमेयर हो, संविधानले दिएको अधिकार किन मिचियो?’ उनले प्रश्न गरिन्।

मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले छुट्टै बसेर योजना तर्जुमा गरेको उनको आरोप छ। त्यसपछि मेयर हमालले उपमेयरलाई बेवास्ता गर्न नखोजिएको भन्दै प्रष्टिकरण दिएका थिए।

‘मैले र हाकिम सावले खुस्स गएर बनाएको बजेट होइन, विज्ञहरु राखेर बनाएको बजेट हो, विधिसंगत बनाइएको छ’, मेयर हमालले भने, ‘उहाँ (उपमेयर) ले आरोप लगाउनु भन्दा अगाडि संविधान पढ्नु पर्यो।’

कुनै अनैतिक काम नगरेको स्पष्ट पार्दै मेयर हमालले द्वन्द्व बढाउने काम नगर्न आग्रह गरे। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पनि उपमेयरलाई अपमान नभएको र नहुने प्रष्टिकरण दिए।

सन्तोषजनक जवाफ नपाएको भन्दै त्यसपछि फेरि उपमेयर रानाले सम्बोधन गर्न थालिन्। ‘मेयर सावको धम्की दिने बानी अहिलेसम्म गएको छैन, अहिले पनि द्वन्द्व गर्नु हुन्छ भने तयारी छौँ भनेर धम्की दिनु भयो,’ उनले भनिन्।

उपमेयर बोल्दै गर्दा मेयर हमाल पनि त्यसको प्रतिकारमा गरे। मेयर र उपमेयरबीचको भनाभन पछि नगर सभा सदस्यहरु कुर्सी तोडफोडमा उत्रिए। त्यसपछि नगर सभा बैठक केही समय रोकिएको थियो। 

विवाद पछि केही समय रोकिएको नगर सभा बैठक अहिले पुनः सुरु भएको वडा नम्बर १० का अध्यक्ष शिव कुमार रानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .