अष्ट्रेलिया र अर्जेन्टिनाले आफूहरुको अन्तिम १६ को खेल तालिकाको विषयमा असन्तुष्टि जनाउँदै फिफाको विरोध गरेका छन्।
उनीहरुले आफूहरुको समूह चरणको अन्तिम खेल र अन्तिम १६ को खेलबीच केवल ३ दिनको अन्तर राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्।
उनीहरुले फिफाको समय तालिकाले खेलाडीलाई ‘रोबोट’जस्तै सम्झेको उल्लेख गरेका छन्। बुधबार अष्ट्रेलियाले डेनमार्कलाई हराउँदै अन्तिम १६ मा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो। यससँगै अब अष्ट्रेलियाले लियोनेल मेस्सीको अर्जेन्टिनासँग शनिबार मध्यराति प्रतिस्पर्धा गर्नेछ।
अर्जेन्टिनाको लागि समूहको अन्तिम खेल र अन्तिम १६ को खेलबीचको समय अष्ट्रेलियाले पाएको भन्दा पनि कम छ। अष्ट्रेलिया र डेनमार्कको खेलभन्दा चार घण्टापछि सुरु भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई हराएको थियो। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले फिफाको समय तालिकाको आलोचना गरेका छन्।
यसअघि रुसमा भएको विश्वकपमा समूह चरणको अन्तिम खेल र अन्तिम १६ को खेलको समय कम्तीमा ४ दिन रहने गरी व्यवस्था मिलाइएको थियो।
कतारमा अर्जेन्टिना र अष्ट्रेलियाले चार दिनको फरकमा समूह चरणका तीन खेल खेलेका थिए। यद्यपि उनीहरुको अन्तिम १६ को खेल भने अझै छाटो समयको आराममा हुन लागेको हो।
यसपटकको विश्वकप प्रतियोगिता समग्रमा २९ दिनको हुनेछ। यसअघिको र ब्राजिलमा भएको विश्वकपको तुलनामा यो विश्वकप तीन दिन छोटो हुन लागेको हो।
यसपटकको विश्वकप प्रमुख लिगहरुको बीचमा हुन लागेको कारण विश्वकपको समयमा छोट्याउनुपर्ने बाध्यता बनेको हो।
त्यसैले फिफाले विश्वकपको समय ३२ दिनबाट घटाएर २९ दिनमा झारेको हो। यसअघि सधैं गर्मीयाममा हुने गरेको विश्वकप कतारको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै जाडोयाममम आयोजना भइरहेको हो।
त्यसैले यसपटकको विश्वकपको समयावधि पनि घटाइएको हो।
Shares
प्रतिक्रिया