वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको बार्बाडोस ट्रिडेन्ट विजयी भएको छ।
बुधबार राति भएको खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शनले बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराएको हो। प्याट्रियट्स सन्दीपको पूर्व क्लब समेत हो।
बार्बाडोसले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्याट्रियट्सले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो।
प्याट्रियट्सका लागि लौरी इभान्सले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। डोमिनिक डार्क्सले अविजित ३४ रन बनाए।
प्याट्रियट्सलाई रोक्न बार्बाडोसका सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यो खेलमा सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिएका छन्।
जितसँगै बार्बाडोसले २ खेलबाट २ अंक जोडेको छ। बार्बाडोसको यो पहिलो जित हो। प्याट्रियट्सको ४ खेलबाट २ अंक छ।
प्रतिक्रिया