नेपाली राष्ट्रिय महिला टोली तथा नेपाल एपीएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा घुँडाको उपचारको लागि शनिबार कतार प्रस्थान गरेकी छिन्।
चोट लागेको झण्डै पाँच महिनापछि उनी घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि आज कतार प्रस्थान गरेकी हुन्।
उनी आज राति १० बजे नेपाल वायुसेवा निगमको जहाजबाट कतार गएकी हुन्।
कतार पुगेपछि उनी १ हप्ताको क्वारेन्टिन बस्नेछिन्। त्यसपछि विश्व खेलकुदमै ख्यातिप्राप्त अस्पेटार अस्पतालमा उनको चोटग्रस्त घुँडाको शल्यक्रिया गरिनेछ।
सावित्राले गत फागुन ३ गते राष्ट्रिय महिला लिगका दौरान नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेकी थिइन्।
पुलिसविरुद्ध खेलको ७९औँ मिनेटमा ल्यान्डिङ गर्ने बेलामा सन्तुलन नमिल्दा घाइते भएकी थिइन्।
दायाँ घुँडामा चोट लागेपछि बीएन्डबीमा एमआरआई गराउँदा घुँडामा एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) मिनिस्कससहित अन्य चोट पनि लागेको देखिएको थियो।
त्यसयता उनी अहिले फिजियोथेरापिस्ट श्रेष्ठसँग नियमित फिजियोथेरापी गराइरहेकी थिइन्।
महिला लिगमा ४३ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
चोटपछिका बाँकी २ खेलमा उनी वैशाखीकै सहारामा खेल हेर्न मैदान पुगेकी थिइन्।
राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी सावित्राको झण्डै ७ वर्षे खेल जीवनमा पहिलो पटक यति गम्भीर चोट लागेको हो।
उस्तै प्रकृतिका चोट बोकेका विमल घर्ती मगर हाल उपचारको क्रममा कतारमा नै छन्।
उपचारमा व्यस्त हुनुपर्ने भएपछि सावित्राले घरेलु मैदानमा आयोजना आगामी भदौ २८ देखि असोज ९ गतेसम्म हुने भनिएको एएफसी महिला एसियन कप २०२२ को छनोट चरणको खेल गुमाउनेछिन्।
छनोट चरणमा नेपाल हङकङ र फिलिपिन्स रहेको समूह एफमा रहेको छ।
प्रतिक्रिया