युईएफए युरो कप अन्तर्गत समुह बी को दोस्रो राउण्डको खेलमा रसियाले पहिलो जित निकालेको छ। सेन्ट पिटर्सवर्गमा बुधबार भएको खेलमा रसियाले फिनल्याण्डलाई १–० ले पराजित गरेको हो।
पहिलो हाफमा इन्ज्युरी समयमा गरेको गोल नै रसियाका लागि निर्णायक बन्यो। पहिलो हाफमा १ गोल भएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन र खेल १–० ले नै रसियाले आफ्नो पक्षमा पार्यो। दोस्रो हाफमा रसियाले अग्रता दोब्बर पार्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
रसियाको जितमा पहिलो हाफको अतिरिक्त समयमा एलेक्सी मिरानचुकले गरेको गोल नै निर्णायक बन्यो। मिरानचुकले अर्टिम ज्युवाको पासमा गोल गरेका थिए।
रसिया समुह चरणको पहिलो राउण्डको खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो। फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो।
जितसँगै ३ अंक जोडेको रसिया अंक तालिकाको दोस्रो स्थानमा छ। पराजित फिनल्याण्ड तेस्रो स्थानमा छ। एक खेल कम खेलेको बेल्जियम ३ अंकमा तालिकाको शीर्ष स्थानमा यथावत छ। एक खेल खेलेको डेनमार्क अंकविहीन रुपमा समूह चरणको पुछारमा छ।
युरो कपमा आजै राति समुह ए का टर्की र वेल्स तथा इटाली र स्वीटरल्याण्ड भिड्नेछन्।
प्रतिक्रिया