ad ad

खेल


खेलाडीको कोरोना बीमाप्रति खेलकुद परिषद् उदासीन

खेलाडीको कोरोना बीमाप्रति खेलकुद परिषद् उदासीन

लक्ष्मी जि.सी
भदौ ३, २०७७ बुधबार १४:७,

कोरोना महामारीका कारण नेपालको खेल क्षेत्र केहि महिनादेखि ठप्प छ। 

महामारी फैलिँदै जाँदा क्रमशः खेलाडीलाइ पनि संक्रमण देखिन सुरु गरिसकेको छ। अहिले फुटबल, क्रिकेट, भलिबल, स्क्वास लगायतका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाइ एकपछि अर्को गर्दै कोरोना संक्रमण देखिइसकेको छ। बिस्तारै चलायमान हुन लागेको खेल क्षेत्र राष्ट्रिय टोलीकै केही खेलाडीलाई कोरोना सक्रमण देखिएपछि पुनः रोकिएको हो।

अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अति जरुरी कामबाहेक हाललाइ अर्को सुचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुदसम्बन्धी सबै गतिविधि बन्द गरेको छ।

कोरोनाको संक्रमण बढ्दै गएपछि अहिले विभिन्न खेल संघहरुले खेलाडीको कोरोना बीमा गरिसकेका छन्।

केही खेल संघले भने बीमाका लागि प्रक्रिया अघि बढाइसकेका छन्। नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीको भने एक ट्रष्टले बीमा गराइदिएको छ।

खेलाडीको स्वास्थ्यलाइ मध्यनजर राख्दै स्वर्र्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बिच भलिबल खेलाडीको कोरोना बीमा गरिदिएको प्रतिष्ठानकी अध्यक्ष अञ्जु श्रेष्ठले जानकारी दिइन्।

प्रतिष्ठानले राष्ट्रिय टोलीका महिला पुरुष खेलाडी गरी २८ र बीच भलीबलका ८ जनासहित कुल ३६ खेलाडीको एनएलजी इन्सुरेन्समा बीमा गरेको हो।

गतवर्ष नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका सबै खेलाडीको १–१ लाखको बीमा गरेको हो।

तर नेपाली खेल र खेलकुदको अभिभावक संस्था राखेपले भने खेलाडीको कोरोना बीमा गर्नेबारे कुनै योजना समेत बनाएको छैन। नेपालखबरसँगको कुराकानीमा राखेपका प्रवक्ता कुलबहादुर थापाले राखेपले खेलाडीको कोरोना बीमा गर्ने बारेमा आफूलाइ कुनै जानकारी नआएको बताए।

यता नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भने राखेपले खेलाडीको कोरोना बीमा नगरेमा आफूहरुले गर्ने जनाएको छ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले राखेपले समग्र खेलाडीको बीमा नगरे आफूहरुले छात्रवृत्ति प्रदान गरेका १२ जना खेलाडीको बीमा गर्ने बताएका छन्।

खेलाडीको अभिभावक संस्था राखेपले खेलाडीको सुरक्षाका लागि कोरोना बीमा गर्ने बारेमा योजना नल्याएपछि विभिन्न खेल संघहरुले आफैहरुले नै खेलाडीको बीमा गर्न सुरु गरेका छन्।

अहिले मुख्यतः समुह खेलसहित अन्य खेलका संघहरुले पनि आफ्ना खेलाडीको बीमा गरिसकेका छन् भने केहीले तयारी सुरु गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका महिला–पुरुष खेलाडी र अफिसियलको कोरोना बीमा गरिसकेको छ। एन्फाले राष्ट्रिय पुरुष टोलीका ३४ जना, महिला टोलीका २६ र अफिसियल गरि ६७ जनाको बीमा गरिसकेको एन्फा प्रवक्ता किरण राइले जानकारी दिए।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि खेलाडीहरुको कोरोना बीमा गर्न प्रक्रिया सुरु गरेको छ। खेलाडीहरुलाइ प्रशिक्षणका लागि बाहिर निकाल्नु पर्ने भएकाले अहिले पुरुष टोली, ग्राउण्ड म्यान र केही स्टाफको बीमा गर्ने तयारीमा रहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए।

नेपाल तेक्वान्दो संघ (एनटीए) ले तेक्वान्दो खेलाडीको बीमा गर्न प्रक्रिया सुरु गरिसकेको छ। संघले राष्ट्रिय टोलीका खेलाडी र पारा खेलाडीको बीमा गरिने प्रशिक्षक दिपक विष्टले बताए।

केन्द्रमा मात्र हैन प्रादेशिक क्रिकेट संघ प्रदेश २ ले खेलाडीको कोरोना बीमा गरिदिने भएको छ। प्रदेशका ८ जिल्लाका नियमित पुरुष तथा महिला गरी कुल ३६ खेलाडीको कोरोना बीमा गर्न लागेको हो।

यो विषम परिस्थितीमा खेलाडीका लागि सबैभन्दा बढी चिन्तित र जिम्मेवार हुनुपर्ने राखेप भने उदासिन देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .