ad ad

खेल


क्यानडामा नेपाली बलर अन्तिममा चुटिए, ब्याटर टिक्नै सकेनन्

क्यानडामा नेपाली बलर अन्तिममा चुटिए, ब्याटर टिक्नै सकेनन्

नेपालखबर
असोज १, २०८१ मंगलबार १४:१५, काठमाडौँ

लामो अभ्यासपछि प्रतिस्पर्धामा उत्रिएका नेपाली ब्याटरले सोमबार राति खराब प्रदर्शन गरे। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा ब्याटरकै कारण नेपालले क्यानडामा १०३ रनको फराकिलो हार व्यहोर्नुपर्‍यो।

पाँचौँ खेल खेल्दा नेपालको खातामा मात्रै २ अंक छ। ८ टोली रहेको लिग २ मा नेपाल २ खेल कम खेलेको यूएईभन्दा मात्रै एक स्थानमाथि सातौँ स्थानमा छ। ३ खेल खेलेको यूएई अंकविहीन छ। 

यसअघि घरेलु मैदानमा नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गर्दै नेपालले २ अंक जोडेको थियो। त्यसबाहेक सबै खेलमा पराजित भएको हो। कीर्तिपुर मैदानमै नेपाल नामिबियासँग दुवै खेलमा पराजित हुँदा नेदरल्यान्ड्ससँग एकमा जित र एकमा हार व्यहोरेको थियो। 

क्यानडाले दिएको २५४ रनको चुनौतीपूर्ण लक्ष्यको नजिक पुग्न नेपाल असफल भयो। नेपालले लिग २ का जारी खेलमा सर्वाधिक एक सय ७२ रन मात्रै बनाउनसकेको छ। 

कीर्तिपुरमा पहिलो खेलमा नामिबियाविरुद्ध १३२ रन जोड्दा पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १३७ रनमा रोक्दा जित निकालेको थियो। १३८ रनको लक्ष्य नेपालले १६औँ ओभरको दोस्रो बलमा मात्रै एक विकेट गुमाएर पूरा गरेको थियो। 

यो खेलमा लक्ष्य सहजै भेट्टाएको नेपालले यही लयलाई कायम राख्न सकेन। नामिबियाविरुद्धको दोस्रो खेलमा १६८ रनमा समेटिन पुग्यो। जुन खेल नामिबियाले ६० बल बाँकी छँदै जितेको थियो। नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा पनि नेपालले दुई सय रन नघाउन सकेन। नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले सहजै पूरा गरेर नेपाललाई घरेलु मैदानमा २ अंकमा सीमित गरिदियो।

गत फेब्रुअरीमा भएको यो सिरिजपछि नेपालले टी२० विश्वकप खेल्यो। अन्य अन्तर्राष्ट्रिय अभ्यासमा पनि व्यस्त रह्यो। यही सिरिजलाई मध्यनजर गर्दै नेपालले भारत र श्रीलंकामा अभ्यास गरेपछि क्यानडा पुगेको थियो। क्यानडामा पनि केही दिन अभ्यास खेल्यो।

तर नेपाली खेलाडी पछिल्लो समय जुन व्यस्त तालिकामा रह्य त्योअनुसारको प्रदर्शन भने क्यानडामा देख्न पाइएन। 

सोमबार राति कप्तान रोहित पौडेलले बलिङ र ब्याटिङ दुवैमा राम्रो गर्न सकेनन्। ५ ओभर बलिङ गरेका रोहितले ४३ रन खर्चिँदा मात्रै एक विकेट हात पारे। उनले अरु बलरभन्दा निकै बढी रन खर्चिए। 

अलराउन्डर प्रदर्शनमा विश्व वरीयतामै गनिएका दीपेन्द्र सिंह ऐरीको पनि प्रदर्शन खराब देखियो। ५ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर विकेटविहीन भएका दीपेन्द्र ब्याटिङमा पनि चल्न सकेनन्। १० बल खेलेका उनी ८ रन बनाउँदै क्याचआउट भए।

बनेन रन, गइरह्यो विकेट 
ओपनिङबाटै नेपाली ब्याटरको पतन सुरु भयो। कुशल भुर्तेल १० बलको सामना गर्दा एक रनमै एलबीडब्ल्यु धरापमा परे। चौथो ओभरको अन्तिम बलअघि नै भुर्तेललाई गुमाएको नेपालको खातामा मात्रै ९ रन थियो।

त्यसपछि आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल मैदान पुगे। असिफ पनि आठौं ओभरको अन्तिम बलअघि नै टोलीको खातामा मात्रै ३० रन हुँदा बाटो लागे।

आसिफ पेबेलियन फर्किएपछि गए भीम सार्की। आसिफ र भीमले समान ३० बलको सामना गरे। आसिफले २० रन जोड्दा ३ चौका र भीमले १८ रन जोड्दा दुई चौका प्रहार गरे पनि नेपाललाई आवश्यक विकेट जोगाउन सकेनन्।

मात्रै दुई ओभर क्रिजमा टिकेका कप्तान रोहित टोलीलाई सम्हाल्ने जिम्मेवारी पूरा गर्न चुके। ५ बलमा एक चौका प्रहार गरेका उनले अर्को एक रन जोडेर क्याचआउट भए।

रोहित टोलीको खातामा ४३ रन छाडेर फर्किएका थिए। ५१ बनाउँदा चौथो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाउन पुग्यो। 

त्यसपछि नेपालले लगातार विकेट गुमाउँदै गयो। कुशल मल्लले टिक्ने धुनमा ४१ बलको सामना गरे। तर उनलाई दीपेन्द्रले साथ दिन सकेनन्। मात्रै १० रन थप्दा दीपेन्द्र पेबेलियन फर्किए। 

४१ बल खेल्दा मात्रै १२ रन जोडेर कुशल क्याच हुनुअघि नै दीपेन्द्र १० बल खेलेर आउट भए। सोमपाल कामीको पनि लय उही पाराको देखियो। २५ बल खेलेका सोमपालले मात्रै ६ रन जोडेर एलबीडब्ल्यु धरापमा परे। सोमपाल सातौँ विकेटको रुपमा २६औँ ओभरको पहिलो बलमा आउट भएका थिए।

जतिबेला नेपालको खातामा मात्रै ८० रन थियो। त्यसपछि सन्दीप आउट हुनुअघि नेपालले ४० रन थप्यो। नेपालका लागि सन्दीपले दोस्रो बढी रन बनाउने क्रममा २२ रनको योगदान गरे। उनले १६ बलको मात्रै सामना गर्दा दुई छक्का र एक चौका प्रहार गरे। 

त्यसपछि गुल्सन झा पनि टिक्न सकेनन्। उनी ३४औँ ओभरको पहिलो बलमै आउट भए। १२४ रन बनाउँदा ९ विकेट गुमाएको नेपालले अन्तिम विकेटअघि २६ रन थप्यो। करण केसीले सर्वाधिक २७ रन जोड्दा दुई चौका र दुई छक्का प्रहार गरे। ललित राजवंशीले उनलाई टिकेर साथ दिए। तर ललितले २३ बलको सामना गर्दा रनको खाता नै खोल्न सकेनन्। 

घरेलु टोलीविरुद्ध नेपाल ९ ओभर खेल्नुअघि नै अलआउट भयो। नेपाली ब्याटरका लागि क्यानडाका डिलोन हेलिगर घातक साबित भए। 
पूरै १० ओभर बलिङ गरेका हेलिगरले ३१ रनमात्रै खर्चिएर ५ विकेट हात पारे। दुवै ओपनर कुशल र आसिफलाई आउट गरेका उनले कप्तान रोहितलाई पनि टिक्न दिएनन्। 

धरापमा परिसकेको इनिङ्स उकास्ने प्रयास गरिरहेका सन्दीप र गुल्सन पनि उनकै बलमा आउट भए। 

क्यानडाको ऐतिहासिक जितमा अखिल कुमार र अंश पटेलको समान २/२ विकेट योगदान रह्यो। साद विन जफरले एक विकेट लिए।

सुरुमा सम्हालियो क्यानडा, पछि चुटिए बलर

नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले सम्हालिएर सुरुवात गर्यो। क्यानडाका ब्याटर सुरुमा रन जोड्नभन्दा पनि विकेट जोगाउने ध्यानमा देखिन्थे। 

६ ओभरमा १३ रन मात्रै जोडेको क्यानडाले सातौँ ओभरको पहिलो बलमै विकेट गुमायो। ललितले ओपनर आरोन जोनसनलाई क्याचआउट गरे। 

त्यसपछि पनि क्यानडाका ब्याटर विचलित भएनन्। मौकामा रन जोड्दै टिकेर खेलिरहे। १५ ओभरको खेल सकिँदा क्यानडाले मात्रै ४९ रन जोडेको थियो।

१७औँ ओभरको अन्तिम बलअघि सन्दीप लामिछानेले परगट सिंहलाई एलबीडब्ल्युमा पार्दा क्यानडाले ५५ रन जोडेको थियो। २५औँ ओभरको खेल सकिँदा ८२ रन मात्रै जोडेको क्यानडासँग ८ विकेट बाँकी थियो। 

तर उसले यही लयलाई जोगाइरह्यो। ३३औँ ओभरमा नवनीत धालिवाललाई गुल्सन झाले अर्धशतक पूरा गर्न दिएनन्। ९० बल खेलेका नवनीत २ रनले चुके। ३६ र ३७औँ ओभरमा लगातार विकेट गुमाए पनि क्यानडाको लय बदलिएन। नेपालले बनाएकै बराबर रन थियो। तर यतिबेला नेपालले ९ विकेट गुमाइसकेको थियो। क्यानडासँग भने ५ विकेट बचेको थियो। 

३९औँ ओभरबाट क्यानडाको ब्याटिङ लय बदलियो र नेपाली बलर चुटिन थाले। सुरुका ३३ ओभरमा बनाएको भन्दा बढी रन क्यानडाले अन्तिमका ११ ओभरमा जोड्यो। ३३ ओभरसम्म उसले ३ विकेट गुमाएर ११३ रन मात्रै बनाएको थियो। 

तर अन्तिमको ११ ओभरमा क्यानडाले ११७ रन बनायो। ३९औँ ओभरमा रोहितले ८ रन दिँदा ४०औँ ओभरमा दीपेन्द्रले ५ रनमा रोके। तर ४१औँ ओभरमा सन्दीपकै बलमा हेलिगरले एक चौका र एक छक्कासहित ११ रन जोडे। ४२औँ ओभरमा ललितले ४ रनमा रोके पनि सन्दीपले ४३औँ ओभरमा ८ रन खर्चिए। ४४औँ ओभरमा हेलिगरलाई ललितले पेबेलियनको बाटो देखाए। 

४६औँ ओभरमा रोहितको बलमा क्यानडाले १९ रन जोड्दै २०३ रन पुर्‍यायो। ४७ मा १७ रन जोडेको क्यानडाले ४८औँ ओभरमा १३ र ४९औँ ओभरमा ११५ रन जोड्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको थियो। 

क्यानडाले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २५३ रन जोडेर नेपालसँग ऐतिहासिक जित दर्ता गर्‍यो। क्यानडा ९ खेलमा १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लिग २ को शीर्षस्थानमा नेदरल्यान्ड्स छ। नेदरल्याण्ड्सले ८ खेलमा १२ अंक जोडेको छ। 

नेपालले अब बुधबार ओमानको सामना गर्नेछ। क्यानडा र ओमानसँग २/२ खेल खेलेपछि नेपाल अर्को सिरिजका लागि अमेरिका जानेछ। अमेरिकामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .