ad ad

खेल


काभाको उपाधि होडमा नेपाल, मुख्य चुनौती भारत


लक्ष्मी जि.सी
साउन १४ , काठमाडौँ

काभा नेसन्स भलिबल लिग आउन केही दिन मात्र बाँकी छँदा राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीहरू प्रशिक्षणमा व्यस्त छन्। 

नेपालले यही साउन १७ गते बिहीबार श्रीलंकाविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ।

एक साता चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १९ गते शनिबार भारतसँग, २० गते आइतबार इरान र साउन २१ गते सोमबार लिग चरणको अन्तिम खेल मालदिभ्ससँग खेल्ने तालिका छ। 

घरेलु मैदानमा हुने लिगअघि नेपाली टोलीले रसियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसले आफूहरूको कमजोरी सुधार गर्न सहयोग पुगेको टोलीकी कप्तान अरुणा शाही बताउँछिन्। 

नेपालखबरसँग कुरा गर्दै कप्तान शाहीले भनिन्, ‘प्रशिक्षणसँगै रसिया जस्तो राम्रो टोलीसँग मैत्रीपूर्ण खेलले गर्दा तयारी राम्रो भएको छ। काभामा सहभागी सबै टोली राम्रो हुने भएकाले हामी तयार छौँ।’

टोलीमा नयाँ खेलाडीको आगमनले टोलीको विकास हुने अरुणाले सुनाइन्। आरती र सुमित्रा आउँदा टोली बलियो भएको अनुभव उनको छ। 

टोलीमा यो पटक पनि ओपन स्पाइकर प्रतिभा माली दर्शकदीर्घामा रहनेछिन्। प्रतिभा नहुँदा उनको स्थानमा अन्य खेलाडी आएकाले नहुने खेलाडीको भन्दा भएका खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्श्वास अरुणाको छ। 

काभाको स्वर्ण पदक विजेतासमेत रहेको नेपाल घरेलु मैदानमा भएको अघिल्लो संस्करणमा तेस्रो भएको थियो। भारतसँग प्रतिस्पर्धात्मक खेल खेलेको नेपाली टोली यसपटक भारतीय टोलीविरुद्ध सशक्त प्रदर्शन गर्ने योजनामा छ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) र काभा च्याम्पियनसिपमा भारतसँग पराजित नेपाली टोली अहिले त्यसको बदला लिने रणनीतिमा छ।

काभाको तयारीका लागि नेपाली टोलीले ५० दिन बन्द प्रशिक्षणमा बिताएको छ। त्यहीबीच नेपालस्थित रसियन दूतावासको सहयोगमा रसियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

रसियासँगको मैत्रीपूर्ण खेलले नेपाली टोलीको आत्मबल बढेको छ। रसियासँग पहिलो मैत्रीपूर्ण खेलमा केही कमजोर देखिए पनि दोस्रो खेलमा भने नेपालले प्रतिस्पर्धात्मक खेल खेलेको थियो। 

लगातार दोस्रोपटक घरेलु मैदानमा हुन लागेको काभामा नेपाली टोली अघिल्लो पटकको कमजोरी सुधार गर्दै राम्रो प्रदर्शन गर्ने तयारीमा छ। काभामा आयोजक नेपालसँगै भारत, इरान, श्रीलंका र मालदिभ्स भिड्दै छन्।

टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले काभाको तयारी राम्रो भइरहेको बताइन्। रसियाविरुद्धको मैत्रीपूर्ण खेलमा देखिएका कमजोरी सुधार्ने गरी तयारी गरिरहेको उनको भनाइ छ। 

काभामा इरान, भारत र श्रीलंका बलियो भएकाले जित्ने प्रयासका साथ मिहिनेत गरिरहेको सरस्वतीले सुनाइन्।

अघिल्लो प्रतियोगितामा भारतसँग प्रतिस्पर्धात्मक खेल खेलिए पनि जित्न नसकेकाले यसपटक टोलीका सबैले उत्कृष्ट प्रदर्शन गरेर हराउने योजना रहेको सरस्वतीले बताइन्। 

‘भारतीय टोलीका मुख्य तीन खेलाडीसँग एनभीए लिगमा खेलेका कारण उनीहरूको खेल बुझ्ने अवसर पाएकाले त्यसले सहयोग गर्ने छ’, उनले भनिन्, ‘यो पटक आफ्नो इमोसनलाई कन्ट्रोल गरेर खेल्यौँ भने हराउन सक्नेछौँ।’

यस्तै टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट विगतको उपलब्धि जोगाउनुपर्ने र पहिलाको भन्दा बलियो टोलीसँग खेल्नुपर्ने चुनौती रहेकाले यसअघिका कमजोरी सच्याउन लागिपरेको बताउँछन्। 

श्रीलंका, इरान र इरान नेपालकै जस्तो स्तरमा रहेको उल्लेख गर्दै प्रशिक्षक भट्टले बन्द प्रशिक्षण र रसियासँगको खेलले नेपाली टोलीलाई खेल सुधार गर्न सहयोग पुगेको बताए। 

भारत र इरानविरुद्ध नेपाली टोली विशेष रणनीतिका साथ कोर्टमा उत्रनेछ। नेपालका लागि मुख्य चुनौती भारत हो। त्यसैले नेपाली महिला टोली उसलाई हराउने दाउमा छ। अहिले पनि भारतलाई हराउन सकिएन भने नेपाललाई आगामी दिनमा चुनौती अझ बढ्ने छ। 

एक समय राष्ट्रिय टोलीको जर्सी लगाउने मात्र सपना देख्ने नेपाली खेलाडीमा अब स्वर्ण पदक जित्नुपर्छ भन्ने सोच आएको प्रशिक्षक भट्टको भनाइ छ। 

नेपाल उपाधिको नजिक रहेको दाबी गर्दै उनले जितका लागि भारत र इरानसँग प्रतिस्पर्धात्मक खेल खेलिने उनको विश्वास छ।

प्रशिक्षक भट्टले अहिलेको टोली विगतको भन्दा बलियो रहेको सुनाउँदै नेपालको सेट र बेन्च राम्रो देखिएको बताए।

टोलीका हरेक खेलाडीमा फरक क्षमता रहेकाले त्यसलाई सदुपयोग गर्दै विपक्षीको रणनीतिलाई बुझेर खेल खेल्ने योजनामा छ- नेपाली टोली।

आफ्नै मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि जित्दै समर्थकलाई खुसी दिने तयारी महिला भलिबल टोलीले गरिरहेको छ।

यसअघि कमजोरी देखिएका सर्भिस, ब्लक र डिफेन्स सुधार्न विशेष तयारी भइरहेको छ।

कमजोर भौतिक पूर्वाधार भए पनि महिला भलिबल टोलीले आफ्नो मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

काभा नेसन्स भलिबल लिग पनि घरेलु मैदानमै हुने भएकाले समर्थकको हौसलाले नेपालले उपाधि नै जित्ने अपेक्षा गरिएको छ।

थप तस्बिर-

तस्बिर/भिडिओ : सरोज नेपाल

साउन १४, २०८१ सोमबार ७:२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .