ad ad

खेल


जसको नेपाली जर्सीमै १०० विकेट लिन लेखिएको थियो

जसको नेपाली जर्सीमै १०० विकेट लिन लेखिएको थियो

यज्ञराज जोशी
फागुन १७, २०७६ शनिबार ११:१८,

अष्ट्रेलियाको बिग बास लिग(बीबीएल)मा मेलबर्न स्टार्सबाट सन्दीप लामिछानेको यो सिजन(२०१९–२०) सिजन निकै राम्रो बितिरहेको थियो। दुईवर्ष देखि विश्वका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव बटुलिरहेका सन्दीपले सबैभन्दा बढि खेल(१३) र सबैभन्दा बढि विकेट(१५)को सफलता यसै सिजनमा हात पारे।

सन्दीपका लागि अर्को ठूलो उपलब्धि भने जनवरी २५ मा ब्रिसबेन हिटविरुद्धको खेलमा १ विकेट लिदैँ उनले टि–२० करिअरमा आफ्नो विकेट संख्या ९९ पुर्याएका थिए। मेलबर्नले यसपछि तीन खेल खेल्यो। लगातार जसो खेलमा विकेट लिएका सन्दीपको ती बाँकी तीन खेल खेल्न पाएको भए सम्भवतः अष्ट्रेलियामा नै १०० विकेटको कोशेंढुंगा पूरा गर्थे।

तर, सम्भवत् १०० विकेटको कोशेढुंगा सन्दीपलाई नेपाली जर्सीमै पूरा गर्न लेखिएको थियो। त्यसैले होला, बिग–बासका अन्तिम तीन खेल छाडेर सन्दीप राष्ट्रिय टिमको ड्युटी निभाउन नेपाल फर्के।

यो पनि: छनोट भएर पनि एसिया कप खेल्न नपाएको त्यो बेला 

क्रिकेट विश्वकप छनोट लिग २ अन्तर्गत ओमान र अमेरिकासँग शृंखला खेलेका सन्दीपले ओमानविरुद्ध आशातित प्रदर्शन गर्न नसकेपछि अमेरिकाविरुद्धको अन्तिम खेलमा भने उनले एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ(६–१–१६–६) गरे।

उक्त शृंखला लगत्तै नेपालले सन्दीपसहित एसीसी इस्टर्न रिजन(पुर्वी क्षेत्रीय)का लागि नेपाली टोलीको घोषणा गर्यो। पाँच टोली सहभागी यही प्रतियोगिताको शीर्ष दुई टोली वेस्र्टन रिजन(पश्चिम क्षेत्रीय)बाट आएका दुई टोलीबीच अगष्टमा एसिया कप छनोट हुनेछ। उक्त छनोटको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्नेछ।

शनिबार शुरु भएको इस्टर्न रिजनको पहिलो खेलमा नै सन्दीपले मलेसियाविरुद्ध पहिलो ओभरमा नै विकेट लिएर आफ्नो १०० विकेटको कोशेढुंगा पूरा गरे।

चोट अनि कीर्तिमान

  सन्दीप लामिछाने। फाइल तस्बिर सौजन्य: पिटर डेला पेना/क्रिकइन्फो
कमजोर आँकिएको मलेसियाले पहिलो ओभरमा नेपालका मुख्य बलर करण केसीलाई चौका र दोस्रो ओभरमा अविनाश बोहरालाई छक्का प्रहार गर्दै दुई ओभरमा १५ रन बटुलिसकेको थियो।

तेस्रो ओभरमा कप्तान ज्ञानेन्द्र मल्लले सन्दीपलाई बल थमाए। उनको पहिलो बलमा वीरनदीप सिंहको कडा प्रहार गरे। आफूतिर आइरहेको बललाई रोक्ने प्रयासमा सन्दीपले खुट्टा अघि सारे। सन्दीपले रन त जोगाए तर पावरफुल सटले उनको खुट्टामा लागेको चोटको अनुभव उनी पीडामा लडबडिरहेको हेर्दा देखिन्थ्यो।

लगत्तै नेपाली टिमका फिजियो विक्रम न्यौपानेलाई मैदान बोलाइयो। फिजियोले केहीबेर उनको उपचार गरे। त्यसक्रममा केही मिनेट खेल समेत रोकियो। च्याम्पियन बन्ने लक्ष्यसहित प्रतियोगिता खेलिरहेको नपालका लागि सन्दीप खेल्न सक्ने हुन कि नाई? भन्ने आशंका थियो। त्यही आशंकाका बीच उनी लडखडाउँदै उठे।

त्यसपछि सन्दीपले जे उपलब्धि हासिल गरे, त्यो नेपाली क्रिकेटमा सदा सम्झिइनेछ।

उपचार गराएर फालेको अर्कोबलमा सन्दीपले अघिल्लो बलमा उनैलाई शारिरिक चोट दिएका वीरनदीपलाई मिडविकेटमा पवन सर्राफको हातबाट क्याच गराए। जुन टी–२० क्रिकेटमा सन्दीपले लिएको १००औं विकेट थियो। उनी नेपाली क्रिकेट इतिहासमा यो उपलब्धि हासिल गर्ने पहिलो बलर बने।

सन्दीप त्यतिमै रोकिएनन। भर्खरै क्रिजमा आएका खिजर हायात दुर्रानीलाई पनि उसैगरी खाता नै खोल्न नदिएर पवेलियन फर्काए। अर्को संयोग के भने, सन्दीपले आफ्नो दुई वर्षे टी–२० करिअरमा मेडन अर्थात कुनै रनपनि नखर्चेको ओभर समेत यही बन्यो।

मोहम्मद अनवरको समेत विकेट लिएपछि इतिहास रचेको यस खेलमा सन्दीपको प्रदर्शन ४–१–२२–३ को रह्यो।

Image may contain: 2 people, people playing sports, people standing and outdoor

सन्दीपले टि–२० करिअरको पहिलो विकेट सन् २०१८ को इण्डियन प्रिमियर लिग(आइपीएल)मा लिएका थिए। त्यसबेला विदेशी फ्रेन्चाइजी लिग खेल्ने पहिलो खेलाडी बनेका सन्दीपले दिल्ली डेयरडेभिल्सबाट रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लुको सिकार बनाउँदै टी–२० को पहिलो विकेट लिएका थिए।

त्यसयता आइपीएल, अष्ट्रेलियाको बिग बास, वेष्टइण्डिजको क्यारेबियन प्रिमियर लिगमा लगातार दुई सिजन खेल्नुका साथै अफगानिस्तान, बंगलादेश, पाकिस्तानमा समेत प्रिमियर लिगसहित राष्ट्रिय टोलीबाट गरि सन्दीपले शनिबारसम्म यस फम्र्याटमा १०२ विकेटको कोशेढुंगा पार गरिसकेका छन्।

सन्दीपले विभिन्न फ्रेन्चाइजी प्रतियोगिताहरुबाट ७१ र नेपालबाट अहिलेसम्म १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३१ विकेट लिएका छन्।

फ्रेन्चाइजी क्रिकेटमा सन्दीपले अघिल्लो महिना सम्पन्न बिग बास लिगमा सबैभन्दा बढि विकेट(१५) लिएका हुन्। त्यसबाहेक गत सिजनको बिग बास र पाकिस्तान सुपर लिगमा उनले ११–११ विकेट लिएका थिए।

फ्रेन्चाइजी क्रिकेटमा पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरमा १० रनमात्र खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो। देशका लागि भने गत अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्रसम्मिलित प्रतियोगितामा नेदरल्यान्ड्ससँग ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० अन्तर्राष्ट्रयमा उत्कृष्ट बलिङ प्रदर्शन हो।

टि-२० मा सन्दीपका १०२ विकेट
नेपाली राष्ट्रिय टोली – १८ खेल ३१ विकेट
आइपीएल २०१८ – ३ खेल ५ विकेट
आइपीएल २०१९ – ६ खेल ८ विकेट
बिग बास लिग २०१८ – ८ खेल ११ विकेट
बिग बास लिग २०१९ – १३ खेल १५ विकेट
क्यारेबियन प्रिमियर लिग २०१८– ५ खेल ७ विकेट
क्यारेबियन प्रिमियर लिग २०१९ – ६ खेल ८ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१९ – १ खेल २ विकेट
बंगलादेश प्रिमियर लिग २०१९ – ६ खेल ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ – ७ खेल ११ विकेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .