ad ad

खेल


सन्दीप र सावित्रालाई उछिन्दै रेश्माले जितिन् पिपुल्स च्वाइस अवार्ड

सन्दीप र सावित्रालाई उछिन्दै रेश्माले जितिन् पिपुल्स च्वाइस अवार्ड

नेपालखबर
असार १७, २०७६ मंगलबार ११:७,

विश्वव्यापी रुपमा चर्चित खेलाडी क्रिकेटर सन्दीप लामिछाने र फुटबलकी सावित्रा भण्डारीलाई उछिन्दै भलिबलकी रेश्मा भण्डारीले यसपटकको पिपुल्स च्वाइस अवार्ड हात पारेकी छिन्।

पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधामा उनले बाजी मारेकी हुन्।

यस अवार्ड प्राप्त गर्नका लागि रेश्माले विश्व बडिबिल्डिङ च्याम्पियन महेश्वर महर्जन तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पनि पछाडि पारिन्l

यस अवार्डका लागि रेश्माले ८७ हजार ८४५ भोट प्राप्त गरिन्। सावित्रा भण्डारीले ६९ हजार २४१ भोट प्राप्त गरिन्l

उनलाई एक पल्सर बाइक समेत पुरस्कार स्वरुप दिइएको छ।

यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड कर्यक्रममा एसियाली खेलकुद पत्रकारिता अवार्ड पाकिस्तानका अमजाद अजिज मलिकलाई प्रदान गरिएको छ।

रोकायाले जिते लाइफ टाइम अचिभमेन्ट अवार्ड

हरी बहादुर रोकायाले लाइफ टाइम अचिभमेन्ट अवार्ड जितेका छन्। एथ्लेटिक्सका भेटरान खेलाडी रोकायाले पल्सर स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड जितेपछि आफूलाई धेरै खुशी लागेको बताए।

उनले आफ्नो दराजमा धेरै अवार्ड भएपनि यस अवार्ड सबैभन्दा ठूलो भएको प्रतिक्रिया दिए। उनले भने,‘मेरो दराजमा धेरै अवार्ड छन् तर सबैभन्दा ठूलो यसलाई मान्नेछु। देशलाई हामी दिन्छौं। देशले पनि हामीलाई हेर्नुपर्छ।’

राेकाया

रोहित चन्दले जिते पल्सर स्पेसल अवार्ड

नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्दले पल्सर स्पोर्ट्स अवार्डमा स्पेसल अवार्ड पाएका छन्।

स्पेसल अवार्डको विधामा उनी उत्कृष्ट खेलाडी घोषित भएका हुन्। गतवर्ष इन्डोनेसियन लिग खेलेका उनले पेर्सिजा जाकार्तालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै उनी लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

उनलाई ५० हजार रुपौयाँ पुरस्कार समेत दिइएको छ। पुरस्कार ग्रहण गर्न भने उनका दाई रोविन चन्द स्टेजमा आएका थिए। रोहित भने हाल इन्डोनेसियामै छन्।

नेपाली प्याराग्लाइडिङ टोली

पल्सर स्पोर्ट्स अवार्डः प्याराग्लाइडिङ टोली बन्यो वर्ष उत्कृष्ट टोली

एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्न सफल प्याराग्लाइडिङको पुरुष टोली वर्ष उत्कृष्ट टोली घोषित भएको छ।

मंगलबार पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट टोली विधामा प्याराग्लाइडिङ टोलीले सफलता हात पारेको हो।

सन् २०१८ मा सम्पन्न एसियाड खेलकुद प्रतियोगितामा क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जितेको थियो।

त्यसबेला नेपाललाई एकमात्र पदक दिलाउने खेल पनि प्याराग्लाइडिङ थियो।

प्याराग्लाइडिङका योगेश उत्कृष्ट प्रशिक्षक बन्दा मनकेशी पारा एथ्लेटिक्सकी उत्कृष्ट खेलाडी

प्याराग्लाइडिङ राष्ट्रिय टोलीका प्रशिक्षक योगेश भट्टराई वर्ष उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका छन्।

पल्सर स्पोर्ट्स अवार्डमा उनलाई उत्कृष्ट प्रशिक्षकको उपाधि दिइएको हो। 
भट्टराईका सफलता
–नेपाललाई एसियाडमा २० बर्षपछि रजत पदक दिलाउँदाका मुख्य प्रशिक्षक
–नेपालमा भएको प्यााराग्लाइडिङ एक्युरिसी वर्ड कपमा नेपाली टोलीलाई कांस्य पदक जिताउन सफल 
–कोरियामा भएको प्रि वर्ड कप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक
–राखेपमा भर्खर प्याराग्लाइडिङको प्रमुख प्रशिक्षकमा नियुक्त, आगामी सागको जिम्मेवारी 
–नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङलाइडिङका सल्लाहकार

मनकेशी चौधरी

यसैगरी पल्सर स्पोर्ट्स अवार्डमा पारा एथ्लेटिक्सतर्फको उत्कृष्ट खेलाडीमा मनकेशी चौधरीले बाजी मारेकी छिन्।

उनी दृष्टिविहिन महिला क्रिकेटकी अलराउन्डर खेलाडी हुन्। अघिल्लो वर्ष पाकिस्तानविरुद्धको सेरिज जित्दा उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्।

अजितले जिते उत्कृष्ट युवा खेलाडीको अवार्ड

एथ्लेटिक्सका अजित कुमार यादवले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीमा अजितले अवार्ड मनोनयनमा परेका अन्य ४ जनालाई पराजित गर्दै यस अवार्ड पाएका हुन्। अजितले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जली कुमारी योन्जन, क्रिकेटका ललित नारायण राजवंशी र कराँतेका विजय श्रेष्ठलाई पछि पारेका हुन्।

अजित कुमार यादव (एथलेटिक्स)का सफलताहरु –राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण –तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण –२३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रि«य किर्तिमानमा सुधार –काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण –बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण

अजित

सावित्राले जितिन् सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड

राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले पल्सर स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्।

यस अवार्डका लागि भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता राणा मगर, तेक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई सावित्राले पछाडि पारेकी हुन्।

सावित्रा भण्डारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .