नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ टोलीले सान्तवना जित निकालेको छ।
सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टोलीले ३ रनको रोमाञ्चक जित निकालेको हो। यससँगै आयरल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।
नेपाल ‘ए’ टोलीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन मात्रै बनायो।
आयरल्यान्ड एक समय ७.१ ओभरमा ४–५२ को नाजुक अवस्थामा थियो। तर पाचौँ विकेटका लागि मोर्गन टपिङ र ग्यारेथ डेलेनीले १ सय २९ रनको साझेदारी गरेपछि आयरल्याण्डले जितको आधार खडा गरेको थियो।
३७ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका मोर्गन टपिङ ६० रन बनाउँदा रासिद खानको बलमा पवन सर्राफको हातबाट क्याच आउट भए।
ग्यारेथ ६८ रन बनाउँदा कमल ऐरिको बलमा एलवबीडब्लु धरापमा परे। उनले ३७ बलमा ५ चौका र ५ छक्का हाने।
ओपनर रोस अडाएरले ३१ रन थपे। फियोन ह्यान्ड २२ रन बनाउँदा रनआउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालका लागि विपिन खत्रीले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २३ रन खर्चे। रासिद खानले दुई विकेट लिए। कमल ऐरि र नारायण जोशीले समान १ विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको थियो।
नेपाल ए का लागि आरिफ शेखले ९३ र कमल ऐरी १९ रनमा नटआउट रहे। ४८ बलको सामना गरेका आरिफले ७ चौका र ६ छक्का हाने।
रासिद खान २४ रनमा पेभेलियन फर्के। बसिर अहमदले १९ र पवन सर्राफले १३ रन थपे।
कप्तान विनोद भण्डारी ११ रनमा बोल्ड आउट भए।
नेपाल ‘ए’ र आयरल्यान्डले अब तीन खेलको ओडीआई सिरिज खेल्ने छन्। सिरिजको पहिलो खेल बुधबार हुनेछ। दोस्रो खेल शुक्रबार र सिरिजको अन्तिम खेल आइतबार हुनेछ।
सिरिजका लागि यसअघि नै विनोद भण्डारीको कप्तानीमा टोली घोषणा भइसकेको छ।
Shares
प्रतिक्रिया