कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दै छन्। गत मंसिर २७ गतेबाट सुरु भएको लिगको अन्तिम खेलमा शनिबार दुई टोली भिड्न लागेका हुन्।
खेल काठमाडौको दशरथ रगंशालामा दिउँसो साढे १ बजे हुने सुरु हुनेछ। खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीमा मुख्य प्रशिक्षक र कप्तानले उपाधि आफूहरुले उचाल्ने दाबी गरे।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरु इतिहास रच्ने संघारमा रहेकाले पावर र स्पिड गेममा आफुहरुको फोकस रहेको बताए। ‘खेलाडीहरुको मिहिनेतका कारण यहाँसम्म आएका छौँ। शनिबार बराबरीका लागि नभई जितकै लागि मैदान उत्रिन्छौँ’, उनले भने। आफूहरुले गत वर्षभन्दा जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै न्यौपानेले यो सिजनमा जित्नैपर्ने केही खेलको नतिजा बराबरीमा टुंगिएको बताए।
यता मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले आफूहरु भोलिका लागि तयार रहेको बताए। आर्मी बलियो टोली रहेकाले आफुहरुलाई केही समस्या हुने भए पनि नतिजा निकाल्नेमा विश्वस्त छन्। उनले भने, ‘आर्मीलाई बराबरीको नतिजाले मात्र पुग्नेछ, हामी त्यसैको फाइदा उठाउनेछौँ’, उनले भने। आर्मी राम्रो टिमवर्क भएको तथा शारीरिक र मानसिक रुपमा फिट भएको कारण आफूहरुले थोरै मौका पाउने बताए।
शनिबारको खेलमा आर्मीले बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्ने दबाब छ। १२ खेलको समाप्तिमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ।
१२ खेलमा समान ९ जित, २ बराबर र १ हार भए पनि मछिन्द्र १ अंकले पछाडि छ। गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो।
लिग विजेताले पुरस्कारस्वरूप ५० लाख हात पार्नेछ।
Shares
प्रतिक्रिया