२९ वर्षपछि नेपाल र चीन फुटबल खेल्नका लागि आमनेसामने भएका छन्। शनिबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चीन र नेपालको यू–२३ टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ।
चीनसँग खेल खेल्नका लागि नेपालले यो पटक ५ जना सिनियर टोलीबाट खेलिरहेका खेलाडीसहितको टिम मैदानमा उतारेको छ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित यो खेल रोमाञ्चित हुने भएको छ। प्रतियोगिता सुरु हुनुअघि रंगशालामा दुई देशका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुत प्रस्तुत गरेका छन्।
नेपालले हालसम्म खेलेका खेलमध्ये चीनसँग सबै खेलमा हारेको इतिहास छ। २९ वर्षअघि पनि चीनसँग नेपालको खेल दशरथ रंगशालामा नै भएको थियो। सो खेलमा नेपाल ३–०ले पराजित भएको थियो।
नेपालले आजको खेलमा जित निकालेर चीनसँग इतिहास रच्ने दाउमा छ।
यसअघि खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पनि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए।
मैत्रीपूर्ण खेलका लागि युवा टोलीले पोखरामा एक साता अभ्यास गरेको थियो। नेपाली टोलीको कप्तानी मनिष डाँगीले गरेका छन्।
चिनियाँ टोली भने एक महिनाको अभ्यास गरेर नेपाल आएको हो। चिनियाँ टोलीका कप्तानी बाडेङ चेन्जिङले गरेका छन्।
Shares
प्रतिक्रिया