ad ad

खेल


एनएसएल : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै

एनएसएल : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै

नेपालखबर
पुस १४, २०८० शनिबार ६:१६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज शनिबार साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। 

दोस्रो संस्करणको एनएसएलले आज नयाँ च्याम्पियन पाउनेछ। 

लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने योजनामा छ। 

धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। 

निर्धारित ९० मिनेट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

लामो समय विश्रामका कारण धनगढीले आजको खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्ने आशा गरिएको छ। 

ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। ललितपुरले निर्धारित ९० मिनेटमा १–१ को बराबरी गरेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९९ औं मिनेटमा कुशल देउवाको निर्णायक गोलमा ललितपुरले फाइनलमा स्थान बनाएको थियो। 

अंक तालिकाको चौथो स्थानमा रहँदै एलिमिनेटरमा स्थान बनाएको ललितपुरले साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। 

पहिलो पटक फाइनलमा पुगेको ललितपुर उपाधि होडमा छ। लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन। 

एक दिनको विश्रामका कारण ललितपुरलाई केह समस्या पर्न सक्छ। यस्तै फाइनलमा ललितपुरले मिडफिल्डर निखिल सुरेशराओ कदम लाई गुमाउने भएको छ। निखिलले पोखराविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। 

एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ। 

सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .