इन्टरनेशनल स्पोर्टस प्रेस एसोसियसन (एआइपीएस) विश्वभरका खेलकुद पत्रकारको सर्वोच्च संस्था हो। एआइपीएसमा १६१ देशका खेलकुद पत्रकार संघहरुमा आवद्ध हजारौं पत्रकार जोडिएका छन्। नेपाली खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पनि सो एसोसियनमा आवद्ध छ।
अघिल्लो वर्षदेखि एआइपीएसले आफ्ना सदस्य राष्ट्रका साथै आफूसँग आवद्ध नभएका खेलकुद पत्रकारहरुको समेत समाचार, लेख, रचनाहरु आह्वान गर्दै उत्कृष्टहरुलाई ‘एआइपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ।
व्यवसायिक रुपमा खेलकुद पत्रकारिता गरिरहेका विश्वका हजारौं खेलकुद पत्रकारले यस अवार्डका लागि आ–आफ्नो रचना पठाउँछन्। त्यसबाट उत्कृष्ट छान्दै निर्णायक मण्डलले अन्तिममा एक समारोहबीच एउटा लेखलाई सर्वोत्कृष्ट घोषित गर्छन।
२०२० को फेब्रुअरी ३ मा दोस्रो एआइपीएस स्पोर्टस मिडिया अवार्डको समारोह हंगेरीको बुडापेस्टमा आयोजना हुदैँछ। जहाँ विश्वभरका खेलकुद पत्रकार र सरोकारवालाहरु उपस्थित हुनेछन्। त्यही अवार्डमा सर्वोत्कृष्ट बन्ने लक्ष्यसहित नेपाली पत्रकार प्रज्वल ओली यसैहप्ता त्यसतर्फ प्रस्थान गर्दैछन्।
ओलीको गत असार १९ गते काठमाडौं पोस्टमा प्रकाशित ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेलसंघहरु पालिएका छन्’ शीर्षकको त्यही समाचार हो, जो अहिले १८० देशका सयौं पत्रकारले पठाएकामध्ये ‘उत्कृष्ट स्तम्भ लेखन’को शीर्ष तीनमा छानिएको छ।
विश्वकै उत्कृष्ट ३ मा आफ्नो समाचार पुगेकोमा ओली उत्साहित छन्। ‘यसले हाम्रो पत्रकारिता कमजोर छैन। हामी अन्तर्राष्ट्रिय स्तरमै छौं भन्ने सन्देश दिएको छ। यो आफैमा ठूलो उपलब्धी हो,’ उनी भन्छन्।
उत्कृष्ट स्तम्भमा ओलीको प्रतिस्पर्धामा रहेको अर्को लेख स्पेनका कार्लोसको हो। उनले टेनिस खेलाडी राफेल नाडाललाई लेखेको भावुक पत्र अवार्डको होडमा छ। मस्तिष्क सम्बन्धी रोगले ग्रसित कार्लोसले नाडाललाई ‘चिठ्ठी तिम्रोमा पुग्दैन होला तर तिमीले जसरी चोटबाट पुनरागमन गर्दै यतिधेरै ग्राण्ड्स्लाम जित्यौ, त्यसले मलाई पनि उत्प्रेरित गरेको र गम्भीर रोगले ग्रस्त बनाए पनि बाच्न हिम्मत दिएको’ भावनात्मक कुरा व्यक्त गरेका छन्।
अर्को अर्जेन्टिनाका सबास्टिनको अर्जेन्टिनी टेनिसमा हुने फिक्सिङ बारे छ। ‘मैले बाँकी दुईवटा स्टोरी पनि पढेको छु। पढ्दा विजेता हुन्छु कि भन्ने लागेको छ,’ ओलीले विश्वास व्यक्त गरे।
समाचारको अवधारणा
एकवर्ष अघिदेखि नै ओलीलाई नेपालमा च्याउसरी उम्रिएका खेल संघहरुका बेथितिबारे लेख्न मन लागेको थियो। ६ महिना अघिदेखि उनले बंगलादेश र भारतका पत्रकार साथीहरुलाई उनीहरुका देशमा कतिवटा संघ छन? भनेर जानकारी भने जम्मा गर्दै गए। भारत र बंगलादेशमा ५२–५३ वटामात्रै संघ रहेको जानकारी पाए।
ती दुई देशका तुलनामा सानो देश नेपालमा खेलकुदमा अनावश्यक खेल संघ रहेको बुझ्न त्यो तथ्य एउटा बलियो आधार थियो। त्यसपछि उनी सामाग्री संकलनमा लागे। सम्भावित स्रोतहरुको सूचि तयार पारे। प्रावधानअनुसार संघहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता हुन्छन्। ओली दर्ता भएका संघको सूचि लिन राखेप पुगे।
त्याे सूचि पनि उनले सहजै पाउन सकेनन्। राखेपमा छुट्टै संघ–संस्था समन्वयन शाखा छ। तर त्यहाँका कर्मचारीले शुरुमा उनलाई सूचि दिन नै आनाकानी गरेका कारण लामाे प्रयासपछि मात्र उनले साे सूचि हात पारेका थिए।
सरकारी अड्डामा सूचना पाउन कति असहज छ भन्ने त्यो एक दृष्टान्त मात्र भएको उनी बताउँछन्। ‘चिनजानको मान्छे जाँदा अलि छिटो हुनसक्छ। पत्रकार जाँदा पनि कुनैपनि सूचना लिन दुई तीन दिनसम्म लाग्छ। एउटाले अर्कोलाई देखाउने अर्कोले फेरि अर्कोलाई देखाउने गरि घुमाइदिन्छन्,’ एनएसजेएफका महासचिव समेत रहेका ओलीले अनुभव सुनाए।
उनले पाएको जानकारीअनुसार एकसमय २०७ वटा खेलसंघहरु राखेपमा दर्ता थिए। उनले सो समाचार लेख्दा भने केही संघहरु खारेजीमा परेर १९३ मा झरेका थिए। त्यसमा पनि थप ५० वटा दर्ताको प्रक्रियामा थिए।
सूची सरसर्ती हेरेपछि डेढ दशकदेखि नियमित खेलकुद पत्रकारितामा आवद्ध ओलीलाई त्यसमा बढीमा ३०–३५ संघमात्रै सक्रिय छन् भन्ने खुट्याउन गाह्रो भएन। कुन संघ कति सक्रिय छ र उनीहरुले गरेका कार्यक्रम के छन् भनेर उनी खोजीमा लागे।
काम नगर्ने संघहरुसँग कुरा गर्दा शुरुमा उनीहरु पनि कामै गरेको दाबी गर्थे। तर, उनीहरुले गरेका कामको फेहरिस्त सुनाएपछि भने विभिन्न कारण आफूहरु निष्कृय भएको स्वीकार्थे। त्यही खुराकहरु समेटि १५ दिन लगाएर तयार पारिएको समाचार असार १९ गतेको काठमाडौं पोस्टको अग्रपृष्ठमा प्रकाशित भएको थियो। जुन उनले एआइपीएस अवार्डका लागि समेत पठाए।
पढ्नैपर्नेले नपढेको समाचार
नेपालमा दर्ता भएका १९३ संघहरुको अध्ययन गर्दा उनले मुस्किलले ३०–३५ मात्रै व्यवस्थित रुपमा सञ्चालित भएको पाए। बाँकी प्रायः केही व्यक्तिको झोलामैं वा घरको दराज बाटै सञ्चालित थिए। उनले कतिसम्म विकृती भेटाए भने त्रिपुरेश्वरको एउटै कोठाबाट मात्रै ५ वटा संघहरु सञ्चालित थिए।
कराँतेका नाममा मात्रै भिन्नभिन्न ६० वटा संघहरु दर्ता छन्। तर, कराँते ओलम्पिकमा जादा एउटा मात्रै जान्छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न एउटा मात्र जान्छ भने कराँतेका ६० वटा संघ किन चाहिए? डान्स स्पोर्टस संघ पनि छ। डान्सलाई स्पोर्टस मान्ने कि नमान्ने? ओली प्रश्न गर्छन।
राष्ट्रिय संघको मान्यता पाउन कम्तीमा १५ वटा जिल्लामा त्यो खेल खेलिनुपर्ने, २ सय खेलाडी हुनुपर्ने, अन्तर्राष्ट्रिय आवद्धता हुनुपर्ने, साधारणसभा गर्नुपर्ने, लेखा परिक्षण प्रतिवेदन बुझाउनुपर्ने, निश्चित प्रशिक्षकहरु हुनुपर्ने लगायत मापदण्डहरु छन्।
‘कागजमा भने सबै संघले प्रक्रिया पूरा गर्ने गरेका रहेछन्। तर सरसर्ती हेर्दा हामी खेलकुद पत्रकारिता गर्नेले पनि कति संघका नामै सुनेका छैनौं। तिनीहरुले केही कार्यक्रम गरेको पनि हामीलाई जानकारी छैन,’ ओलीले अनुभव सुनाए।
समाचार प्रकाशित भएपछि नेपाली खेलकुदमा संघहरुको औचित्यबारे केही बहस होला भन्ने अपेक्षा ओलीको थियो। तर, अपेक्षा विपरित त्यस्तो कुनै प्रतिक्रिया उनले पाएनन्।
‘यो समाचारको कतैपनि प्रभाव परेन,’ समाचार प्रकाशित भएको आठ महिनापछि मंगलबार नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘यो अंग्रेजीमा भएर पनि होला। नेपालमा अंग्रेजी समाचारहरु निकै कम पढिन्छन्। नेपालीमा यही कुरा भएको भए पक्कैपनि यसले एउटा बहस तताउँथ्यो कि।’
यो समाचारमा खेल क्षेत्रमा व्याप्त विकृतीबारे खोतलिएको छ। जस्तै– कानुनी छिद्रहरुबाट नेपाली खेल संघहरुले कसरी फाइदा उठाइरहेका छन्? संघ दर्ता गरेर कसरी व्यक्तिगत लाभका लागि प्रयोग गरिरहेका छन्? र, यसले अन्तर्राष्ट्रिय रुपमा नेपालको बदनामी भइरहेको विषय उठाएको छ।
अन्तर्राष्ट्रिय अवार्डका लागि शीर्ष ३ मा परेपछि यस समाचारको चर्चा चुलियो। तर, त्यो पनि आफूले चिनेजानेका पत्रकारबीच मात्रै सीमित भएको उनी बताउँछन्।
‘राखेप, खेलकुद मन्त्रालय, ओलम्पिक कमिटी जस्ता निकायहरु जहाँ यसबारे गम्भीर रुपमा बहस हुनुपथ्र्यो, त्यहाँ उनीहरुले यो समाचार नै नपढेको जस्तो मलाई लाग्यो,’ ओली भन्छन्, ‘पछिल्लो पटक फेसबुकमा पनि धेरै सेयर भयो। पदाधिकारीले पनि कमेन्टमा बधाई लेखेका छन्। पढेको भए उनीहरुले भेट्दा केही न केही प्रतिक्रिया दिन्थे होला। उनीहरुले नपढेको र यसको गम्भिरता नै नबुझेको महशुस भयो।’
यो पनि:
रियल मड्रिडको प्रसिद्ध रंगशालामा सजिँदैछ लकिताको कला
बन्द हुँदै दरबारमा तेल ओसार्ने आयल निगमभन्दा पुरानो पेट्रोल पम्प
प्रतिक्रिया