यूईएफएले स्पेनको रेफ्री समितिका पूर्वउपाध्यक्ष योसे मारिया एनरिक्ज निग्रिएरालाई बार्सिलोनाले गरेको भुक्तानीको विषयमा छानबिन गर्ने भएको छ।
बीबीसीका अनुसार यूईएफले अनुकूल निर्णयका लागि भुक्तानी गरेको आशंकामा नैतिकता र अनुशासनात्मक निरीक्षकहरु नियुक्त गरेको हो।
अदालतले बार्सिलोनालाई भ्रष्टाचार, विश्वासको उल्लंघनलगायतबारेका उजुरीको सुनुवाइ गरेको हो।
बार्साले योसे र उनको ड्यास्निल ९५ कम्पनीलाई ८४ लाख युरो तिरेको अभियोजनकर्ताले आरोप लगाएका छन्।
बार्सिलोनाले भने कुनै पनि गल्ती अस्वीकार गर्दै ड्यासनिल ९५ कम्पनीलाई सन् २००१ र २०१८ को बीचमा उक्त भुक्तानी गरेको स्वीकारेको छ।
बार्सिलोनाले सन् २००१ देखि २०१८ सम्म जोसे मारिया एनरिकेज नेग्रेरासँग गोप्य मौखिक सम्झौता गर्दै उपाध्यक्षको रूपमा पैसाको बदलामा एफसी बार्सिलोनालाई फाइदा हुने कार्यहरू गरेको सरकारी वकिलको कार्यालयले बताएको छ।
क्याटालान क्लबले कम्पनीलाई बाह्य प्राविधिक सल्लाहकारको रूपमा व्याख्या गरेको छ। जसले कोचिङ स्टाफलाई आवश्यक जानकारी दिने उद्देश्यका साथ पेशेवर रेफ्रीहरूसँग सम्बन्धित भिडियो रिपोर्टहरू संकलन गर्न भुक्तान गरिएको थियो।
बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्टामेउ र सान्ड्रो रोसेल र नेग्रेरालाई पनि क्लबसँगै अभियोग लगाइएको छ। मुद्दा बार्सिलोनाको सरकारी वकिलको कार्यालयले ल्याएको हो।
ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले बार्सिलोनाका वर्तमान अध्यक्ष जोन लापोर्ताले भुक्तानीबारे स्पष्टीकरण दिन नसके राजीनामा दिनुपर्ने बताएका छन्।
Shares
प्रतिक्रिया